एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेको आज एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको शुरुवात गरेको थियो ।
आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने बताएका छन् । राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताएका छन् ।
एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने हजारौं सैनिक घाइते भएका छन् । युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर विभिन्न देशमा पुगेका छन् ।
युद्धका कारण अहिलेसम्म ८ हजार गैरसैनिक व्यक्तिहरू मारिएको तथ्यांक छ । १३ हजार बढी घाइते भएको तथ्यांक राष्ट्रसंघीय मानवअधिकार आयोगको छ ।
युद्धका शुरूवाती दिनहरूमा युक्रेनको राजधानी किएभसम्मै पुगेको रुसी सैनिक अहिले दक्षिणपूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित छ । डोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट पछि नहट्ने पक्षमा छ ।
युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको छ । तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने देखिएको छैन ।
राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ । बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको हो ।
प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका थिए भने ३२ वटा देशले मतदानमा भाग लिएनन् । रुससहित सात वटा देशले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies