लक्ष्ण्मण पोखरेल/मध्यान्ह
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा रत्न श्रेष्ठ एउटा चिरपरिचित नाम हो । चलचित्र वितरकदेखि निर्माताको नामले चिनिएका रत्न नेपालकै चलेको चलचित्र वितरक कम्पनी आरआर फिल्मस्का सञ्चालक समेत हुन् । २०५७ सालमा निर्माण भएको चलचित्र ‘फेरि तिम्रो याद आयो’बाट यस क्षेत्रमा प्रवेश गरेका रत्न सानैदेखि चलचित्रमा रुची राख्थे । विद्यालयमा हुने कार्यक्रमहरुमा नाटकहरु प्रस्तुत गर्ने गर्थे ।
सानैदेखिको चलचित्रप्रतिको रुचीले उनलाई अहिले निर्मातासँगै नेपालकै जल्दोबल्दो चलचित्र वितरकको रुपमा स्थापित गराएको छ । रोहित कुमार कट्टेल र रत्नको सहकार्यमा स्थापित आरआर फिल्मस् नेपालको एक मात्र यस्तो चलचित्रल वितरक कम्पनी हो जसले नेपाल अधिराज्यभर चलचित्र वितरण तथा प्रदर्शन गर्ने गर्छ । आरआर फिल्मस्ले अहिलेसम्म १५ सय भन्दा बढी नेपाली तथा हिन्दी चलचित्रको बिक्री वितरण गरिसकेको छ ।
तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रत्न वितरकसँगै चलचित्र निर्मात समेत हुन् । उनले चलचित्र ‘नारी’, ‘ज्वाला’, ‘बदला’लगायतका चलचित्र निर्माण गरिसकेका छन् भने आरआर फिल्मस्बाट निर्माण गरिएको चलचित्र ‘बिहे पास’ वैशाख १ गते प्रर्दशनमा आउने तयारीमा रहेको छ ।
नेपाली समाजमा भएका समसामायिक विषयवस्तु र कमेडी ड्रामालाई समेटेर तयार पारिएको चलचित्र ‘बिहे पास’मा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, शिशिर वाङ्दे, श्याम राई र हिउवाला गौतमको मुख्य भूमिका रहेको छ ।
लामो समयदेखि चलचित्र क्षेत्र सक्रिय रत्नलाई यो क्षेत्रमा ल्याउने व्यक्ति ईश्वर घिमिरे हुन् । स्व. अभिनेता श्रीकृण्ण श्रेष्ठबाट प्रभावित भएको बताउने रत्नका मनपर्ने चलचित्रकर्मीहरु दयाराम दाहाल, नरेश पौडेल र केशव भटट्राई हुन् । चलचित्र वितरणमा उनलाई साथ दिने व्यक्तिहरुमा त्रिरत्न मानन्धर, बलराम पराजुली र संजीव पराजुली रहेका छन् ।
चलचित्र ‘बिहे पास’बाट ठूलो आशा राखेका रत्नलाई चलचित्र सफल हुन सर्वप्रथम चलचित्रको कन्टेन्ट बलियो हुनुपर्ने लाग्छ । त्यसपछि गीत संगीत दर्शकहरुको रुची अनुसारको बनाउन सके चलचित्र हिट हुने उनको धारणा छ । उनी भन्छन्, ‘चलचित्र कहिले पनि नयाँ हुँदै हुँदैन । विषयवस्तु उही हो, कलाकार र मेकरहरु मात्र नयाँ हुन् । हामी त्यही कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा ठूलो हो ।’
नयाँ धार भन्नेहरुले नेपाली चलचित्र क्षेत्रलाई ध्वस्त पारेको उनी बताउँछन् । उनी भन्छन्, ‘यति लामो समयदेखि यो क्षेत्रमा संलग्न छु, अहिलेसम्म मैले नेपाली चलचित्रमा त्यो नयाँ धार भेट्न सकेको छैन । जस्तै उदाहरणका लागि चलचित्र ‘छड्के २’लाई लिन सकिन्छ । दर्शकहरुको आँखामा छारो हाल्ने काम तिनै नयाँ धार भन्नेहरुले गरिरहेका छन् ।’
वैशाख १ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘बिहे पास’को प्रचारप्रसारमा व्यस्त उनी एउटा चलचित्र वितरक कम्पनीले निर्माण गरेको चलचित्रमाथि तीन–तीन वटा चलचित्र जुधाएर चलचित्र क्षेत्रलाई ध्वस्त पार्न केही व्यक्ति र संस्था लागेको उनी बताउँछन् । चलचित्र वितरकले निर्माण गरेको चलचित्रमाथि अन्याय हुँदा पनि नेपाल चलचित्र विकास बोर्ड र चलचित्र संघले एक शब्द नबोल्दा कतै सबैको मिलोमतो त छैन भन्ने शंका उब्जिएको उनी बताउँछन् । चलचित्र ‘बिहे पास’लाई चारैतिरबाट असफल पार्ने खेल भइरहेको पनि उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies