सङ्खुवासभाः सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ ।
हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस शुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए । कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको स्रेस्तेदार केसीले बताए । झन्डै १२ कानुन व्यवसायीले बहस गर्ने उनले जानकारी दिए । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ ।
कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षागार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षागार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
त्यस्तै उक्त घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर शुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरामा देखिएको जनाइएको छ । बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो । गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी तथा केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies