–बाबुराम न्यौपाने ‘उत्स’
कलेजको दैनिकी पूरा गरेर साँझ घर आउनासाथ सधैँ भान्साकोठामा पसेर आफ्नै हातले चिया बनाएर पिउने समाजशास्त्र विभागकी प्रमुख प्रो.डा. जानुकालाई त्यसदिन फिटिक्कै चिया बनाउने जाँगर चलेन । बिहानैदेखि मनभित्र एक किसिमको उराठीलो हुरी चलिरहेको थियो । उनी आफ्नो सयनकक्षमा गइन् । पलङ्गमा बिछ्याइएको रातो गुलाफको फूलबुट्टे सुकिलो तन्नामाथि अर्धनग्न अवस्थामा डङरङ्ग ढलिन् ।
उनलाई घरको काममा सघाउने रमिलाको पनि एक महिना अगाडी विवाह भएकाले त्यस समयदेखि घरको माथिल्लो तेस्रो तल्लामा एक्लै बस्थिन् । तल भाडामा बस्नेहरु पनि आ–आफ्नै दैनिकीमा व्यस्त थिए । सम्पन्न, सुशील, शिक्षित भएर पनि केही दिनदेखि अनौठो निराशा र छट्पटीले जानुकालाई नराम्ररी तर्साउन थालेको थियो । जब उनी कलेजको हाताभित्र प्रवेश गर्थिन्, उनको सुन्दरता र सौम्यतामा रमाउँदै वरीपरीको वातावरण गमक्क भएर फुल्थ्यो ।
तर जानुकाको मन भने बेचैन भएर बिथोलिएको थियो । उनी विवाह भएको दशौं वर्षगाँठमा पहिलोपटक यति शून्य शून्य, उराठीलो र एकाङ्की जीवन महसुस गर्न पुगेकी थिइन् । सारा भौतिक सुखसुविधाहरु व्यर्थ र निरर्थक लाग्न थालेका थिए ।
केहीबेर विस्मिर्तिको भावमा टोलाइरहिन् । अनि शून्य कोठामा लामो उच्छवास छाड्दै ल्याप्टपको स्वीच अन गरिन् र स्क्रिनमा सुरक्षीत गरेर राखेको शिशुको फोटो चुमिन् । केही क्षण भावुक बनिन् र तपक्क आँसु खसालिन् । आज बिहान विदुरलाई नेपाल आउन गरेको अनुरोध त्यतिकै औपचारिक गफमै सिमित बनेकोमा निकै मन दुःखाइन् ।
तीन महिना अगाडी आफ्नो पैँतिसौँ जन्म दिनमा नेपाल आउन गरेको अनुरोधलाई पनि विदुरले सामान्य गफमै टारिदिएका थिए । काखको सुन्यता, जीवन साथीको दूरता र बढ्दो उमेरको अनुभूतिले जानुकाको मनलाई नराम्ररी डसिरहेको थियो ।
यस घटनापछि उनमा एक किसिमको बिरसिलो भाव उत्पन्न भएर हुनसम्मको खिन्नता जाग्न थालेको थियो । उनका पति विदुर संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली कुटनीतिक नियोगमा प्रशासकीय प्रमुखमा कार्यरत कर्मचारी थिए । उनको जागिरे जीवन बढी विदेश तिरै बित्थ्यो । वर्षको एक पटक छोटो समयको लागि मात्र नेपाल आउँथे । धेरै करगरेमा बरु जानुकालाई नै कहिलेकाहीँ उतै बोलाउँने गर्थे ।
जानुकाले पढाउने कलेजमा केही महिना पहिले राजीव नामका एक आकर्षक र व्यक्तित्वशाली अविवाहित लेक्चरर आएका थिए । केही दिनदेखि जानुकाप्रति उनको गहन झुकाव र आकर्षण बढ्दैथियो । यसको भनक जानुकालाई पनि थियो । तर, उनले नजानिदो मौनतामै बस्न मन गरेकी थिइन् ।
नचाँहदा नचाँहदै जानुकाको मन राजीवप्रति लहसिँदै थियो । जैविक आवश्यकता र सामाजिक मर्यादाको घेराबन्दीमा परेर प्रेमका अनेकौं निर्दोष पात्रहरूको कारुणीक दुर्दशा भएको यथार्थप्रति उनी अनभिज्ञ थिइनन् ।
उता विदुरप्रति उनको अगाध प्रेम र स्नेह थियो । विदुर पनि कम व्यक्तित्वशाली पुरुष थिएनन् । उनमा पनि जादुयी आकर्षण थियो । त्यही भएर उनका केटी साथीहरू धेरै थिए । एकान्तमा कहिलेकाहीँ अन्तर मनको शंका मौन बनेर जानुकाको धैर्यलाई बिस्तारै चिमटी रहन्थ्यो ।
जब उनीहरूको भेट पातलिन्थ्यो अनि जानुकाको हृदयमा अनेक आशंकाहरु पीडा भएर जन्मिन्थे । विश्वास मनको किर्किरी बन्न पुग्थ्यो । विदुरलाई हिजोआज नाइट क्लब र डान्स बार चाहार्दैमा फुर्सद थिएन, बजारमा हल्ला थियो । उनी नेपाल नआएको करिब एक वर्ष बितिसकेको थियो ।
विदुरले जानुकालाई भएभरको आधुनिक सुखसुविधा र पैसा त उपलब्ध गराएका थिए तर, जब जानुका भेटघाटको अनुकुलता खोज्थिन् कुनै बहना बनाएर टार्थे । जानुका आफैँ पनि हर क्षेत्रमा सक्षम थिइन् । यही बिन्दुबाट जानुकाको असन्तुष्टि सुरु हुन्थ्यो । उनको सचेत बौद्धिक मस्तिष्क यहाँनेर कुहिराको काग बन्थ्यो ।
विदुरमाथिको शंका उपशंका घनीभूत भएर आउँथ्यो । कहिलेकाहीँ हल्ला सुन्थिन् जागिर छाडेर विदुर अमेरिकामै बस्ने सोचाइमा छन् रे ! तर जानुकासँगको संचार सम्पर्कमा उनी भद्र र मायालु पतिकोरुपमा प्रस्तुत हुन्थे र चाँडै नेपाल आएर सधैँका लागि बस्ने भन्दै राष्ट्र प्रेमका कुरा सुनाउँथे ।
यसपटक निकै आग्रह गर्दा पनि अनेक बहना गरेर विदुर नेपाल आएनन् । जानुकाको एकांकी जीवनलाई एक्लोपन र निराशाले छोप्तै गयो । राजीवलाई परराख्न खोज्दाखोज्दै पनि सुटुक्क आँखा छलेर उनको मनमा पसिसकेको थियो ।
एकरात जानुकाले सहकर्मी राजीव अन्तरंग साथीबनेर आफ्नो नग्नशरीरसँग जथाभावी उन्मत्त खेलिरहेको सपना देखिन् । उनको स्वप्निल अश्लिलतामा कति पनि प्रतिरोध थिएन ।
कुनै परपुरुषले सपनामा पहिलो पटक मधुरचुम्बन गरेको उनको सर्वाङ्ग शरीर पसिनाले छपक्क भिजेको थियो । प्रसव वेदनामा छट्पटीँदै गरेको अधुरो सपना पछि..., जब उनी ब्यूँझिइन् । लाजले पानीपानी मात्र भइनन्; उदात्त खुशीले मनमनै झुमिन् पनि ।
रातको सन्नाटामा नयाँ अनुभूतिले अनायास उनलाई हृदयको गर्भसम्मै रोमाञ्चित स्पर्श गरेर गएको थियो । राजीव उनको मनमा यति सजिलै यति गहिराइसम्म कसरी बस्न पुग्यो उनलाई पत्तै भएन । पाप पुण्य केही नसोची अन्तर मनमा अमूर्त आनन्दको लहर निर्बाध रुपमा छचल्किन दिइन् । मनमा ग्लानीका भावहरु ढिम्किनसम्म दिइनन् ।
जीवनमा पहिलोपटक आफूभित्र विदुरको उपस्थितिलाई पलभरका लागि पूरैबिर्सन मनगरिन् ।
यतिसम्म सोच्न भ्याइन्...!
“अहो ! यो पल विपना नै भएर स्थिर भइदिएको भए.... ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies