–शुक्रराज कुँवर
“उ मेरो नाताले सोल्टी पर्छ र बाल्यकालदेखिकै साथी पनि हो है मलाई खाली उसैको नाम लिएर घरीघरी घोचि नराख्नुस्, मलाई मन पर्दैन र चित्त पनि दुख्छ ।” आफ्नो घरदेखि हजारौं कोष टाढा खाडी मुलुकमा पसिना चुहाई रहेको सुरजको कानमा आफ्नी श्रीमतीले भनेका यिनै कुरा ठोक्किन आई पुगे । “कति सजिलै भन्छे, मेरो बाल्यकालको साथी हो नाताले सोल्टी पर्छ भनेर” बुढीलाई सम्झिदै मनमनै फुसफुसायो उ । माया त मलाई गर्छे निकै ख्याल पनि राख्छे तर, अलि बढी त्योसँगको हिमचिम चाहिँ मन पर्दैन । सिधै भन्छे त्यसको पनि माया लाग्छ भनेर । जाबो घरमा पालेको एउटा कुकुरको त माया हुन्छ त्यो त मान्छे पो हो त माया हुँदैन ? भनेर भन्छे । यस्तै यस्तै भए नभएका नानाभांती कुराहरु उस्को मनमा खेलिरहे ।
खासमा राज भन्ने राजबहादुर उसको बुढीको बाल्यकालदेखिकै साथी हो भन्ने कुरा उसलाई पहिलेदेखि नै थाहा थियो । उसँग चिनजान नभएको पनि होइन, एक/दुई पटक राज उसको घरमा आएर बसेर, सँगै खाना नखाएको पनि होइन । राज उसलाई राम्रै लाग्थ्यो तर, राजसँग उसको बुढीको हेलमेल ख्यालठट्टा कहिलेकाहीँ फोनमा उनीहरु बिच हुने लामो कुराकानी उसलाई निको लाग्दैन । कति चोटी त राजको विषयलाई लिएर उनीहरुबिच ठाकठुक नभएको पनि होइन । “राज सँग तँ धेरै नजिक छेस्, राजलाई तँ मन पराउछस्, के चल्दैछ तिमीहरुबिच, राम्रो हुँदैन है” भनेर उसले पटक पटक बुढीलाई भन्ने गथ्र्यो । “ए बाबा कति शंकोची भको हो यो मान्छे ! राज र म सानोदेखिकै मिल्ने साथी हो, राजसँग त्यस्तो केही छैन, साथी मात्र हो । त्यस्तो केही भए त राजसँगै बिहे गर्थे होलानी म”, उसको बुढीले स्पष्टीकरण दिने गर्थी ।
उ अर्थात् सुरज गाउँमा अलि हुने खाने वर्गकै छोरो थियो । उसको बुवाले उसलाई गाउँको राम्रो स्कूलमा पढाएको पनि हो तर, उसले पढ्न सकेन । धेरै लाडप्यारमा हुर्केर नै होला अलि साथी सँगती राम्रो थिएन र जिद्धी स्वभावको पनि थियो । उमेर पुगेपछि उसको बुवाले नै सुशील राम्री स्वभावकी केटी खोजेर उसको विवाह गराइदिएका थिए । विवाह भको पनि सात वर्ष बितिसकेको थियो र उसको एउटा चार वर्षको छोरा पनि थियो । “तँ आफै त पढ्न सकिनस्, अब नातीलाई शहरमा राम्रो स्कूलमा पढाउनुपर्छ” भनेर उसको बुवाले नै उसलाई शहरमा कोठा भाडा व्यवस्था गरी राखिदिएका थिए । शहरमा बस्दा उसको सबै खर्च बुवाबाट नै आउने गथ्र्याे । यसरी आफ्नोलगायत आफ्नो जहान बच्चाको सम्पूर्ण खर्चको लागि समेत बुवामाथि निर्भर रहनु पर्दा पछि–पछि उसलाई अलि अप्ठ्यारो लाग्न थालेको थियो । यस विषयमा उसको बुढीले पनि बेला–बेला कुरा उप्काउने गर्थी । उसको स्वाभीमानी मनले पनि यो कुरालाई मनन गरेको थियो । यसैले उ आज खाडी मुलुकमा पसिना बगाइरहेको थियो ।
विदेशको बसाई उसको लागि उ आफैले रोजेको बाटो थियो । उसको बुढी र उसको बुवाले उसलाई व्यापार व्यवसाय गरेर बस्नु, विदेश नजानु भनेर रोक्न खोजेका त हुन तर, उसको जिद्धीको अगाडि उनीहरुको केही लागेन । विदेशमा एउटै कोठामा दुई/चार साथीहरुसँग कोठा शेयरिङ्ग गरेर बस्ने गथ्र्याे उ । छुट्टी भएपछि कोठामा साथीहरु भेला हुने अनि आफ्ना गर्लफ्रेण्ड, बुढी, अरु केटी साथीहरुसँग उत्ताउला गफ गर्नु, छिल्लिनु ईत्यादी एउटा सामान्य प्रक्रिया जस्तै थियो । उ पनि बेलाबखत बुढीसँग रमाईला गफ गथ्र्यो । कहिलेकाहीँ बुढीलाई फोन गर्दा बुढीको फोन निकै लामो समयसम्म व्यस्त रहन्थ्यो र उसको मनमा चस्स चिसो पस्थ्यो । यत्ति भए उसको मनको अन्तर कुन्तर हाल्लिन काफि हुन्थ्यो र मनको कुण्ठा बुढीलाई ओकली हाल्थ्यो । पछि फोन लाग्दा “व्यस्त थियो त अघि, कोसँग गफिदै थिइस् ?” भनेर शंका व्यक्त गथ्र्याे । “हैन क्या गाउँबाट राजको फोन आएको थियो, अनि उसैसँग बोलेको” बुढीले सहज उत्तर दिन्थी र भन्थी “कति सहयोगी छ राज ।”
“अनि त्यति लामो एक/डेढ घण्टासम्म हुन्छ त गफ ? के कुराकानी गर्छस् ओई ? मसँग बोल्दा त फोन राख्न हतार परिहाल्छ तँलाई !” बुढीलाई टोकस्न शुरु गरिहाल्थ्यो उ । “हेर है मलाई त्यो राजसाज मन पर्दैन, पर्दैन भने पछि दिनरात त्यहीसँग फोनमा लठारिएर बस्छस् ?” एकै सासमा भनिपठाउथ्यो उ । विचरा उसको बुढी मनमा कुनै पाप अधर्म थिएन, बुढालाई कुनै कुरा ढाँट्न छल्न आउँदैन थियो । भन्ने गर्थी “के भन्न खोजेको हजुर, अनि मान्छे सँग बोल्न हाँस्न हुँदैन त ? फेरि बोल्दैमा, हाँस्दैमा उसैको भैहाल्छ ? यसरी त कसरी व्यवहार चल्छ । हेर्नुस् सबै .भन्दा ठूलो कुरा विश्वास हो । सम्बन्धहरु विश्वासमै अडिएका हुन्छन् । रुखो बोलेर, कसैको दिल भाँचेर विश्वासको जग हल्लाउने काम नगर्नुहोला । विश्वासको जग हल्लियो भने आफ्नाहरु पनि बिरानो बन्न कत्ति बेर लाग्दैन । जहिले गिदी खाने कुरा झिकेर अनावश्यक विवाद गर्नुहुन्छ, मनमा कुण्ठा बोकेर पनि हुन्छ ?”
बुढीको कुराले उसलाई कतिको असर गर्छ, भगवान जानोस् तर उ पनि बुढीलाई माया त गथ्र्याे । बुढीको हरेक आवश्यकता पूरा गथ्र्यो । सन्चो बिसन्चो ख्याल गथ्र्याे, आफ्नो छोरा, बुवा आमा, घर परिवार सबैको ख्याल गथ्र्याे, यहाँसम्मकी बुढीको माइतीतिरका नातागोता सासू ससुरा सबैको पनि ख्याल राख्थ्यो । सबै राम्रो थियो तर, यत्ति हो कि आफ्नो बुढी कुनै पुरुषसँग बोलेको, हाँसेको मन पर्दैन थियो । झन राजसँग बोलेको हाँसेको त फिटिक्कै मन पर्दैन थियो ।
मरुभूमीको तातो उष्ण हावापानी, बाहिरको तापक्रम ४५/४६ डिग्री सेल्सियस भएता पनि उ बस्ने कोठा वाताणुकुलित थियो । तर उभित्रको कुण्ठाले वाताणुकुलित कोठालाई पनि तताएर उसको मथिंगल गरम बनाई दिन्थ्यो । बुढीसँग उसलाई किन रीस उठ्छ अक्सर मोबाइल स्विचअफ गरेर बस्थ्यो । उसलाई थाहा थियो घर फोन नगरेको पनि धेरै लामो समय भएको थयो । एक/डेढ हप्ता अगाडि घर फोन गर्दा बुढीसँग कुरै हुन पाएन । अरु केही कुरै नगरी एक्कासी उस्ले “तेरो राजको खबर के छ त ?” भनेर सोधेको थियो । “ए राज त दुई/चार दिनदेखि यतै छ त” भनेर अरु केही जरुरी कुरा भन्न हतास पूर्वक बुढी बोल्न खोज्दै थिइ तर, अरु कुरा बोल्नै नपाई “तँलाई खुँडी !” भन्दै रिसले फोन काटेर फेरि स्विचअफ गरेर बसेको थियो उ र अनाप सनाप बकेको पनि थियो ।
“ए राज त दुई/चार दिनदेखि एतै छ त” बस ! बुढीको यहि कुराले नै उस्को मनमा भूँइचालो गइरहेको थियो । “लु ! अब त सक्किगो नि, दुई चार दिनदेखि राज घरमै छ” उसको मनमा भुसको आगो सल्किन थाल्यो, पापी मन उर्लेर आयो र उभित्रको कुण्ठा ज्वाला बनी दन्किन थाल्यो । बिगत सम्झदै भए/नभएका कुराहरु गुडुल्कि बन्दै आउन थाले । भो अब त घर गए भने त्यही राजसँग जा भन्दिन्छु सिधै । यिनै यस्तै यस्तै कुराहरु मन मथिङ्गलमा खेलेर उ एक किसिमले ‘साईको’ जस्तै भएको थियो । सायद मनोचिकित्सकको जरुरत थियो कि ?
मनमा बुढीप्रति कुण्ठा पालेर बसेको उ, यो कुण्ठा हो हैट मैले यस्तो सोच गर्नु हुन्न भन्ने चेत पनि थियो उसलाई । विचरा बुढी भनेर हुलुक्क माया जागेर पनि आउन्थ्यो घरिघरि । सायद गल्तीको एहसास हुन्थ्यो उसलाई । यही परिवेशमा एकदिन उसले मोबाइलको स्विच अन गर्या र बुढीलाई फोन लगायो । निकै बेरसम्म रिङ्ग गइरह्यो तर, फोन उठेन । पटक–पटक गर्यो तर, उठेन । उसको मनमा फेरि चिसो पस्यो । रीसले फेरि स्विचअफ गर्यो र पुनः केही बेर पछि स्विचअन गर्यो र कल लगायो । धेरै बेरको रिङ्गपछि बल्ल फोन उठ्यो “हेलो !”
बुढीको मोवाइलमा पुरुष आवाज सुनेपछि खंग्रङ भयो एकछिन । मुटुको गति बढे जस्तै पनि भयो तर सम्हालिँदै केही रुखो स्वरमा भन्यो
“अँ को हो, को बोलेको ?”
“म तेरो बुवा बोलेको चिनिनस् ? बुहारी अहिले सागसब्जी किन्न बाहिर गाकी छिन, यहाँ मोबाइलमा तेरो फोटो देखे र उठाको । के छ तेरो खबर ठीक त छस् ? मोबाइल पनि स्विचअफ राख्छस् ।”
“ए ! ए ! बुवा ? कहिले आउनु भयो बुवा ? ढोग गरे ।”
“ल भाग्यमानी भएस ।”
“अनि बुवा किन आउनु भयो ?”
“म आएको त्यस्तै दुई हप्ता भयो होला । एपेन्डिक्स फुटेर झन्दै मरेको । त्यो राज बाबु नभएको भए त सायद अहिले ‘बाउ’ भन्न पनि पाउने थिइनस् होला । अपरेशन नै गर्नु पर्यो । लकडाउनको बेला अस्पताल जान पनि धेरै गाह्रो थियो, त्यो बावुले धेरै तिर सम्पर्क गरेर बेलैमा एम्बुलेन्स बोलाएर मलाई अस्पतालसम्म ल्याइपुर्याए । साह्रै सहयोगी मनकारी रहेछन् ति बावु । तीन दिन, तीन रात त अस्पतालमै बसेर छोराले झैँ स्याहार गरे, एकछिन छोडेनन् राज बावुले । बाहिर होटल सबै बन्द थिए, बिस्कुट चिउराको भरमा अस्पतालमै गुजारे राजले । डिस्चार्ज भएपछि गाउँ फर्किने कुनै साधन थिएन, बिचरा म हिँडेरै घर पुग्छु बुवा भनेर गए बरा । कति मुश्किल भयो होला । चार दिन जति अस्पताल बसेर डिस्चार्ज भयो, अब दुई हप्तापछि टाँका काट्न बोलाएको छ । तँ अब छिटो घर आइज, भो पर्दैन परदेशमा पसिना बगाउन ।”
बुवाको कुरा सुन्दै गर्दा उ मैन बत्ती पग्ले झैँ पग्लिदै थियो तप्प तप्प, अब प्रकाश निभ्न मात्र बाँकी थियो । आफू उभेको जमिन पनि भाँसिदै गए जस्तो भान भइरहेको थियो सायद उसलाई । आफ्नो धरातल थाहा भयो होला कति निच सोचाई रहेछ उसको राज र आफ्नै बुढीप्रति । अब कुन मुख लिएर बुढीको अगाडी देखा पर्ने ? आफैप्रति लाज र ग्लानी भएर भक्कानिन खोज्दै थियो त्यहीबेला उसको मोवाइलको रिङ्ग बज्यो । बुढीको रहेछ ‘रिसिभ’ गर्यो दबेको स्वरमा बोल्यो “हेलो ।”
“तपाईं घर आउनुहोस् प्लिज !” बुढीको स्नेहमयी आवाज ।
“मलाई माफ गर बुढी ! मलाई माफ गर !” सास अड्काई अड्काई बस यत्ति बोल्न सक्यो । केही गर्न सक्ने अवस्थामा थिएन, मनभरी कुण्ठा पालेर बसेको उ आत्मग्लानी र पश्चातापको भुँग्रोमा जलेर उसको कुण्ठा खरानी भै सकेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies