काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप प्रज्वलन गरी आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको समुद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा 'मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी-पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरे । सो अवसरमा उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने बताउँदै संविधानले पनि जातजाति र भाषाभाषीलाई समावेशी अधिकार प्रदान गरेको बताइन् । उनले यसलाई उपयोग गर्दै प्रज्ञा प्रतिष्ठानले थालनी गरेको मातृभाषा साहित्यको बहस अन्तर्गत मगरभाषा साहित्यका आदिकविको योगदानबारे चर्चा हुनु राज्यका प्राज्ञिक अङ्गको उपस्थिति हुनु हो भन्दै यसबाट आफू आशावादी रहेको बताइन् ।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान भएको बताए । उनले कुनै पनि भाषा सानो र ठूलो नहुने बताउँदै मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको बारेमा थप खोजअनुसन्धान हुनुपर्ने बताए ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले नेपालका प्रत्येक मातृभाषामा आदिकवि रहेको बताए । तिनीहरूको योगदानलाई राष्ट्र र समाजसामू ल्याउनुपर्ने उनको भनाइ थियो ।
विचार-गोष्ठीका सभाध्यक्ष, प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको ऐतिहासिक योगदानबारे थप खोजी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तुत गोष्ठी-पत्रमाथि मनबहादुर थापा मगरले टिप्पणी गरे । विचार-गोष्ठीको औचित्यमाथि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले प्रकाश पार्दै स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको उद्घोषण श्याम राना मगरले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies