–यसराज भट्टराई
म गाडी पर्खेर घर बाहिर बेञ्चमा बसिरहेको थिएँ । मेरै गाउँको एकजना आमै दोकानबाट धागो किनेर आउँदै थिइन् । “थकाई लाग्यो साह्रो !”, भनेर म बसेकै बेञ्चमा बस्न आइपुगीन । बसौँ न आमा भनेर म अली पर सरेँ ।
“बुहारीलाई जान भनेको टेरिन”, आमैले खुईई गरेर लामो श्वास फेरिन ।
“बिचरा आमाले दुःख पाउनु भएछ”, मैले थपेँ ।
उहिले नी नानी, हामीले जती दुःख आजकलका बुहारीले गर्दैनन् । बिहान तिन बजे उठाएर भकारा सोहोर्न लगाउँथे । मकै पिध्नु जाँतोमा, घाँस लिन जानु पथ्र्यो गोठमा, थला भरी गाई, भैँसी हुन्थे, काम नगरे लपटा खाइन्थ्यो ।”
“अनि आमै त्यत्रो दुःख गरेर दुध चाहिँ के गर्थे त ?” मैले सोधेँ ।
“मोही पार्थे ठूला दारका ठेकामा ।”
“अनी मोही ?” फेरी सोधेँ ।
“आँगनमा खाडल बनाएको हुन्थ्यो, त्यहि मोही हालेर नुन छरीदियो, अनि गाई भैँसी खोलीदिए पछि त्यो मोही चाटी चुटी खान्थे, अनि चरणमा छोड्नु पर्ने ।”
“ढिकी, जाँतो खाजा भुटेका मकै, कोदाका रोटी, मकैको भात खाइन्थ्यो । लुगा राम्रा लाइएन । खुट्टा पटपटी फुट्थे । जुका लाग्थे फारसमा । ए नानी आजकलका बुहारीले कहाँ गर्छन्, एक क्षण खन्न लगायो भने ढाड दुख्छ । घाममा काम गरे ज्वरो आउँछ । एक भारी घाँस ल्याए भने खाना अर्कैले पकाइदिए हुन्थ्यो भनेझै गर्छन् । चुल्हो पोत्नु छैन, लोटाउनु छैन, ग्यास छ, सुखले मातिएका छन् नी नानी आजभोलि ।”
आमैले नबिसाई भनिरहेकै थिइन् । मँ गाडी हेर्दै सुनिरहेको थिएँ ।
“बिहान भरसक नऊठुँ भनेझै गर्छन्, ईश्वर !”
लामो श्वास फेरिन आमैले । धेरै बेर सुनेपछि मैले सोधेँ, “आमै नातिनी कती बजे उठ्छीन ?”
“ए त्यो अल्छी त सुत्छेनी सात बजेसम्म ।”
“घाँस काटछिन् ?” फेरि सोधेँ ।
“हसिँया समाएको छैन अहिलेसम्म, उठेर भात खायो, स्कुल गयो, डाले छ राम्रै डाले ।”
मैले भनेँ, “आमै त्यो नातिनी पनि पछि कसैकी बुहारी हुन्छे, उसकी सासुले पनि त बुहारी अल्छिनी रैछे । काम नै नगर्ने भन्दा तपाईंलाई खुशी लाग्छ ?”
“अब अहिलेकाले कहाँ गर्छन् त हौ”, ऊहिले जस्तÞो आमैले मुख फोरिन् ।
“मैले खोजेकै त्यही थियो, आमै । तपाईंकी नातिनी पनि त पछि कसैकी बुहारी हुन्छिन् नी ! जस्तै आज कसैकी छोरी, नातिनी तपाईंकी बुहारी छन् । त्यसैले त आमै अर्काको छोरीलाई भन्नु अघि आफ्नै छोरी, नातीनी पनि त हेर्नु पर्यो नी !”
आमै छक्क परेर मलाई हेरिन् । त्यही क्षण गाडी आयो ।
“आमै मँ गए है”, भनेर गाडीमा चढेर हिँडे । कुन्नी आमै कतिबेला घर पुगीन् ? अहिले साँझमा खाना खाँदै गर्दा घाँटी खसखसायो । सायद, अहिले बुहारीलाई हेर्दै आमैले मनमनै मलाई सम्झँदै होलीन भन्ठान्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies