–रसुवाली कवि
जंगबहादुरको बेलायत यात्रा, ताना शर्माको बेलायततिर बरालिँदा, लैङसिङ वाङ्देलको रोमको एउटा फूल र प्यारिसको एउटा काँडा पढ्दै जीवा लामिछानेको देश देशावरसम्म आइपुग्दा नेपाली नियात्राले लामो समय पार गरिसकेको छ । यात्रा साहित्य, यात्रा निबन्ध, नियात्रा, यात्रा स्मरण जे भनेपनि नियात्रा विश्व साहित्यमा एउटा छुट्टै विधाको रूपमा स्थापित भइसकेको छ । जीवा लामिछाने नेपाली साहित्यमा अनिवार्य पढिनुपर्ने नियात्राकार हुन् । जसले जीवा लामिछानेलाई पढेका छन्, उनीहरूको लागि लामिछानेका नियात्राले अमिट छाप छोड्छ ।
जीवाको नियात्रामा आजको विश्व परिवेश मात्र हैन, हिजोको विश्व परिवेश पनि छ । विजय मल्लको चर्चित कविता ‘छोरीलाई मानचित्र पढाउँदा’ कवितामा व्यक्त भाव जस्तै जीवा लामिछानेले सम्बन्धि देशको बिगत र आगतलाई कलात्मकरूपमा वर्णन गरेका छन् ।
चितवनका ओशिला बिहानहरूमा भूँइ कुहिरोको लहर हेर्दै हुर्केका जीवा चितवनभन्दा हजारौं किलोमिटर परको आइसल्याण्ड पनि पुगेर आफ्नो सानो गाउँ पदमपुरलाई सम्झिरहन्छन् । युरोपको कुनै देशमा पुगेर उनी पौडी खेलिरहेका हजारौं मानिसहरू देख्छन् । जीवा पदमपुरनेरको सानो खोलोलाई सम्झन्छन्, बाल्यकालको मीठो यादमा रमण गर्छन् । चर्नलाई जहाँ–जहाँ पुगेपनि आफ्नो सानो गुडलाई सम्झिरहनु चराहरूको विशेषता हो । मलाई चराहरूको स्वतन्त्रताको प्रतीक लाग्छ । मानिसमा स्वतन्त्रताको शेष बाँकी छ । मानिसहरूले गुँड बिर्सीसकेका छैनन् । जीवा लामिछाने पनि आफ्नो थातथलो र गुँडलाई भुल्न नसक्ने नेपाली हुन् । उनमा आफ्नो माटोप्रेमको भावना प्रवल छ ।
जीवा लामिछानेलाई म माटोप्रेमी र देशभक्त भन्न रुचाउँछु । राष्ट्रवादी सोच सधैं महान् हुँदैन भनेर मैले जीवा लामिछानेबाट नियात्राहरूबाट सप्रसङ्ग थाहा पाएको हुँ । जर्मनका हिटलर त्यसैका उदाहरण हुन् । युगाण्डाका दादा इदी अमिन अर्का उदाहरण हुन् । एउटा सन्की शासक समाजका लागि कति घातक हुन्छ देश देशावरमा संग्रहित यात्रा निबन्ध ‘युगान्डा : बिर्सन खोजेको इतिहास’ पढ्दा स्पष्ट हुन्छ ।
रुवाण्डाको दारुण कथा छ । ‘कङ्काल सम्याएर उभिएको विकास’ शीर्षकको निबन्धमा । रुवाण्डाको ती बिर्सन नसकिने सय दिन र दस लाख मान्छेको सहादतको कथा पढ्दा आङ्ग सिरिङ्ग हुन्छ । अविकसित समाजमा कसरी शासकहरूले जति जातीय घृणाको वीष वृक्ष रोप्छन्, त्यति नै त्यो मानवताको लागि घातक हुन्छ । देशा देशावरको पहिलो यात्रा निबन्धमा त्यसको वर्णन छ ।
अफ्रिकी देशहरू विकासका हिसाबले पछाडि परेका छन् । त्यहाँको प्राकृतिक स्रोत साधनमाथि हैकमवाला राष्ट्रको नजर पर्नु स्वाभाविक पनि हो । हामी सोपानतन्त्रको अनुभुति गरेकै छौं । डरलाग्दो कुरा, अफ्रिकी समाजमा राष्ट्रवाद र फरक जातीप्रतिको घृणाले युद्ध जन्माएको छ । धेरै मानिसहरूको ज्यान गएको छ । जीवाले एकदम सरल ढंगले त्यो समय करुण व्याख्या गरेका छन् । अफ्रिकी देशहरूको हाल पढ्दा हाम्रो समाजको याद आउँछ । यहाँको अविकासको झल्को आउँछ ।
वैज्ञानिक निकोला टेस्लालाई गर्व मान्ने क्रोएसियाले कप्तान लुका मोडरिचलाई आदर्श मान्छ । क्रोएसियाको नाम नसुनेका धेरै फुटबलप्रेमीहरूले लुका मोडरिचलाई चिन्न पाएका छन् । विश्वकपमा गोल हानिरहेका उनै लुकाको नाम सुनेर त्यहाँ जान उत्साहित जीवा छोरा अनुरागको व्यवस्थापनमा क्रोएसिया पुग्छन् । त्यहाँको इतिहास, संस्कृति र जीवनपद्धतिको मिठो व्याख्यासहित यात्रा निबन्ध लेख्छन् ‘क्रोएसिया ः सौन्दर्यको जादु ।’ उनलाई क्रोएसियाको निकुञ्ज घुम्दै गर्दा फेवातालको याद आएको छ ।
जीवा लामिछानेको नियात्रामा निजत्व र शैलीमा उत्कृष्टता पाइन्छ । ‘मुन्तिर आगो र मास्तिर हिउँ’ शीर्षकमा आइसल्याण्डको व्याख्या छन् । यही नियात्रा उनले गरेको व्याख्या बडो मिठो छ । उनी लेख्छन्, “कुरा जाडोको मात्रै थिएन । किनभने हिउँदमा मस्कोको चिसो माइनस ३५ डिग्रीसम्म भोगेको मलाई अनुभव छ । डिसेम्बरदेखि मार्चसम्म रुसका अधिकांश इलाकातिर यस्तो ठण्डी चलिरहन्छ । एक समय माइनस २०/३०डिग्री जाडोको पर्वाह नगरी हामी भुमिगत रेलबाट बाहिरिए लगत्तै पसल खोल्न हिउँ टेक्दै हतारहतार कुदिँरहेका थियौं ।”(देश देशावर पेज ६८ )
आइसल्यान्डको आगतबारे यस नियात्रामा रोचक व्याख्या छ । एउटा विकसित देश जहाँ विधिको शासनको अनुभुति छ । अपराधीक गतिविधि नै शून्यप्रायः रहेको देशको चित्रण पढ्दा अफ्रिकी देशहरूलाई लागेको गहिरा घाउहरू नसम्झूँ जस्तो लाग्छ । पर्यटनले एउटा देशलाई उचाई दिएको थियो । मान, प्रतिष्ठा दिएको थियोे । तीन लाख पचास हजार जनसंख्या रहेको यस देशमा दशौं लाख पर्यटक घुम्न आउँदा रहेछन् । यो नियात्रा पढदा नेपालमा पनि किन ठूलो मात्रामा पर्यटन आएनन् होला भनेर सोचमग्न होइन्छ ।
उच्च कोटीको मनोरञ्जन स्थल मानिन्छ लस भेगास । जीवा लामिछाने १४ वर्षपछि जापान निवासी व्यवसायी महेश श्रेष्ठ, बेलायतका हेमराज शर्मा, र जर्मनीका कुमार पन्तसँगै लस भेगास पुगेका छन् । कुमार पन्तसँग नियात्राकारलेधेरै भ्रमण गरेको देखिन्छ । लेस भेगास पुगेका जीवालाई भद्दा मनोरञ्जन मन पर्दैन । उनकै भाषा ‘जुवाको खाल, बारमा होस गुमुन्जेल पिउने बानी नृत्यको उताउलो भाव भावभङगिमा, कर्कश संगीत र अस्तव्यस्त जीवन’ (पेज ९१) मन परेको छैन । उनले ती सबैको कुरा मिसावट वा संयोजन लस भेगासमा भेटछन् ।
जीवा लामिछाने स्कुल पढ्दाताकाको यादमा पनि फर्केका छन् ठाउँ–ठाउँमा । रेडियो नेपालको विश्व समाचारमा सुनेका देशहरू पुग्दा प्रफुल्ल भएका छन् । रेडियो नेपाललाई याद गरेका छन् । म रेडियो धेरै सुनिने अन्तिम वर्षहरू हुर्के । एफएमहरूको विकास हुँदै गर्दा नवराज लम्सालको मधुवन सुन्ने एउटा ठूलो जमात थियोे रसुवामा । छन्द कविताले समाजलाई कति ठूलो प्रभाव पारेको जमाना थियो । पछि आरआर कलेजमा मधुवन : सुन्ने सुनाउने कार्यक्रमको सिलसिलामा नै चल्यो । नवराज लम्साल त्यही भेटिए । आजको गजलमा स्थापित पुस्तालाई एउटा उत्कृष्ट मञ्च थियोे मधुवन । मदन पुरस्कार विजेता मेरो मित्र विवेक ओझालाई मैले मधुवनमा नै भेटेको हूँ । त्यो समय उनको नाम विवेक विषालु थियोे । चोटिलो गजल वाचन गर्थे । केही पछिमात्र उनी आख्यान जगतमा आएका हुन् ।
साइप्रस पुग्दै गर्दा विभाजनको कथाले जीवालाई उद्वेलित बनाउँछ । उनी पन्छीहरूको स्वतन्त्रताको कुरा गर्छन् । श्रीङका पुग्दा त्यहाँको हात्ती अनाथालय देखेपछि उनमा प्राणी प्रेमको भावमा व्यक्त हुन्छ । उनी सौराहामा पनि हात्तीको बिष्टाबाट कागज बनाएर पर्यटन बिक्री गर्दै त्यो पैसामा अनाथ हात्तीहरू व्यवस्थापन गर्न सकिन्छ भनेर सोचिरहन्छन् ।
एक ठाउँमा जीवा लामिछाने देख्छन्, “स्वार्थी राजनीतिले सिर्जना गरिरहने हिंसा रोक्न सक्ने हैसियत मेरो छैन । तर एउटा मानवको रूपमा त्यो घाइते गजराजलाइ भन्न चाहन्छु – म सबै किसिमको हिंसालाई निरपेक्ष रूपले घृणा गर्छु ।” ( पेज ११५)
उच्च मध्यम नेपालीहरूको सपनाको गन्तव्य मानिन्छ क्यानडा । यसबारे लामिछानेले ‘क्यानडा : अनेकतामा एकता’ शिर्षकमा यात्रा निबन्ध लेखेका छन् । क्यानडा एक उच्चतम व्यापारी हेनरी मिलको जीवनको उत्कर्ष र ओरालो यात्राको प्रसङ्ग छ । बेलायती महारानीबाट सर उपाधी पाएका हेनरी व्यवसायको एउटा उचाइमा पुग्छन् त्यो तासको घर झैँ ढल्छ पुग्छ र अन्तिममा आफ्नो शहर केशा लोमा नै छोडने अवस्थामा पुग्छन् । जीवन एकनास हुँदैन भनेर बुझाउन नियात्राकारले यो प्रसङ्ग लेखेको हुन कि जस्तो लाग्छ । क्यानडाका क्यान्सर बिरोधी अभियन्ता टेरी फक्सको मुर्तिमा उभिएर जीवाले मानवताको पुजारीलाई उच्च सम्मान गरेका छन् । टोरन्टो शहरबाट २८ किमि दुरीमा पर्ने नियागरा फल्स पुग्दा जीवाको मन रमाएको छ ।
कम्युनिस्ट देशमा पढेर त्यहाँको राज्य व्यवस्थालाई समेत जाने बुझेका जीवा लामिछानेको आर्थिक उदारीकरणलाई हेर्ने दृस्टिकोण सकारात्मक छ । चीन पुगेपछि उनले यात्रा निबन्ध लेखेका छन्, “चीन : जादुयी विकासको झिलिमिली ।” साङघाई भ्रमणमा बेङ्जिङको अन्तर्राष्ट्रिय बिमानस्थलको व्यवस्थापन देख्दा पश्चिमा संचारमाध्यममा आएको खबरमा जस्तो खराब वातावरण त्यहाँ थिएन । त्यहाँ प्रदुषणभन्दा हराभरा जंगल देख्दा उनी खुशी हुन्छन् । उनले देङ सियाओ पिङको आर्थिक नीतिलाई सम्झेका छन् । माओलाई ठूला नेता भनेका छन् । माओको जनताको सित्तैमा सियो पनि लिन्नु हुन्न भन्ने भनाइलाई स्मरण गरेका छन् । ग्रेटवाल हुँदै ग्वान्जाओ पनि पुगेका छन् । चीनमा उनले साङघाई, बेङ्जिङ र ग्वान्जाओको विकासलाई अनुभुत गरेको देखिन्छ ।
अर्को भ्रमणमा उनी हङकङमा रहेका नेपालीहरूलाई भेट्छन् । उनीहरूका सुख दुःखलाई बुझ्ने प्रयास गर्छन् । स्याङ्जाका मिठो भाषा उनी हङकङमै सुन्न पाउछन् । स्याङ्जाका ती वेटरबाट तीस हजार नेपाली हङकङ रहेको जानकारी नियात्राकारलाई प्राप्त हुन्छ । केही नेपाली त्यहाँबाट बेलायत सर्ने तयारीमा रहेको कुरा पनि पत्तो लाग्छ । यो भ्रमणमा जीवा लामिछानेकी जीवन संगिनी बिन्दिता पनि सँगै रहनु भएको हुन्छ ।
एउटा नियात्रा छ ‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल ।’ यस नियात्रामा बर्लिनको पर्खाल छेउमा उभिएर त्यहाँको राजनीति, संस्कृति र जीवन पद्धतिको व्याख्या गरिएको छ । गोर्बाचोभको कथा कम्युनिस्ट र गैरकम्युनिस्ट दुबैको आँखाबाट रुचिका साथ पढिएको छ । जीवाले रोनाल्ड रेगन र गोर्बाचोभको भेटको प्रसङ्ग व्याख्या गरेका छन् । रोनाल्डले ब्रान्डेन वर्गको गेटमा उभिएर भनेका थिए – मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस बाल । त्यसपछि के भयो ? हामी आफ्ना आफ्ना चस्माले हेर्न सक्छौं ।
रुसका महान् साहित्यकार लियो टोल्स्टोयको सम्म्मान लेखिएको यात्रा निबन्ध हो, ‘साहित्यको तिर्थ : यास्नाया योल्याना ।’ विशालकाय विश्व साहित्य युद्ध र शान्तिका सर्जक लियो टोल्स्टोयको अन्ना करिना पनि विश्व साहित्यको उत्कृष्ट नमुना हो । मलाई इमान इलिचको मृत्यु उतिकै बेजोड लाग्छ । मेरो र जीवाको रोजाइ मिलेको देखिन्छ । लियो टोल्स्टोयको जन्मस्थल यास्नाया योल्याना रुसको पर्यटकीय स्थलमा पर्दोरहेछ । जहाँ जीवा पटक पटक घुमेका रहेछन् । नेपाली साहित्यकारहरू कृष्ण धरावासी, अमर न्यौपाने, ध्रुवचन्द्र गौतम, गोविन्दराज भट्टराई, धनराज गिरी, आश्विनी कोइरालाहरु घुमेर फर्केका रहेछन् । जीवा लामिछानेकै कारण उहाँहरू त्यहाँ पुग्नु भएको देखिन्छ । जीवनको अन्तिम चरण घरबास छोडेर हिडेका लियो टोल्स्टोय ठूलो मौजाका मालिक हुँदा हुँदै पनि उनको जीवन उतिकै मोजमस्तिमा बितेन । उनले सामान्य मान्छेको कथा लेखे । बेश्यालयहरु पनि धाए । सोफिया आन्द्रेएभ्नासँगको प्रेमको सुखद र बिरही पाटाहरू छन् ।
एउटा रोचक नियात्रा छ बिरेन्द्र बियरसँग संवाद । मौसमअनुसार बियर उत्पादन गर्ने टुर्बिनेन ब्रयु कम्पनीले उत्पादन गरेको बियरको कारण नियात्राकार त्यस कम्पनीका मालिक आद्रीयान बेबर जुरिचलाई भेट्न पुग्छन्र रहस्य बुझ्छन् । बियर उपहार पनि पाउछन् । टिम्बुरको स्वादसहित बियर हुन्छ, बिरेन्द्र बियर । त्यो बियरको नाम बजारमा विवादमा पर्छ । मौसमअनुसार बियर उत्पादन गर्ने कम्पनीले राजा बिरेन्द्र नाममा बियर उत्पादन गरेको र बजारमा केही महिनामा बियरको स्टक रित्तिएको हुन्छ । र पनि विवाद हुन्छ ।
त्यस भ्रमणमा नियात्राकारका जीवन संगिनी बिन्दिता र छोरा अनुराग पनि हुन्छन् । जमर्नमा हिमालय र नेपालको कला कौशललाई निजी जंगलमा सजाइहेको जर्मनका हेरीबेर्ट विर्थको सम्मान लेखिएको नियात्रा हो जर्मनीमा कुँदिएको नेपाल हिमालय मण्डप ।
यस नियात्रा नेपालप्रेमी हेरीबेर्ट र उनको कला चेतलाई सम्मानमा लेखिएको छ । हेरिबर्टले नेपालभन्दा हजारौं किलोमिटर पर नेपालको झझल्को दिने प्रयासलाई नियात्राकारले सम्मानभाव व्यक्त गरेका छन् । उनको सानो जंगलभित्र नेपालको काष्ठकला, मुर्तिकला, टुँडालहरु मात्र होइन, नेपालको हिमाल पहाडमा पाइने रुखबिरुवा, जडिबुटी, परम्परागत घरहरू, ढुङ्गेधारा, कुमाले कला समेत रहेको नियात्रा पढ्दा जानकारी हुन्छ । रोचक कुरा उनले नेपालको स्वास्थ बालबालिको शिक्षा आदि क्षेत्रमा सहयोग पनि सहयोग गरेका रहेछन् ।
समकालीन नियात्रा क्षेत्रमा रुचिका साथ पढिने जीवा लामिछानेका नियात्रामा आजको विश्व परिवेश, इतिहास, जीवनपद्धति, संस्कृति, शहरको विकास, निजत्व, मानवताको भाव, विश्व बधुत्व, कलाबोध आदि पाइन्छ । हाम्रा पाठयक्रममा जीवा लामिछानेका नियात्रा राख्न सके त्यो लाभप्रद नै हुने थियोे । जीवा लामिछानेले जस्तै मौलिक नियात्रा लेख्न सके नेपाली नियात्राले निकै फड्को मार्न सक्ने थियो भन्ने कुरा देश देशावर पढ्दा बोध हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies