काठमाडौंः सांसदहरुले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले विगतका वर्ष झै यसवर्ष पनि दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिने गरेको, व्यापारीले कृतिम अभाव सिर्जना गरेर बजारमा उपभोग्य अभाव गराएकाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न आग्रह गरे।
सांसद प्रदीप पौडेलले चाडबाडका बेला सधैँजसो बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना हुने गरेको र कालोबजारी मौलाउने गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गरी उपभोग्य वस्तुसहज रुपमा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।सांसद प्रतिमा गौतमले दसैँ, तिहार, छठ नजिकिएको र यात्रुहरु गन्तव्यतर्फ लागिरहेको अवस्थामा महँगो भाडादर तिर्नु परेको, अखाद्य वस्तुको उपभोग बढेको, बजारमा महँगी बढेको र कृतिम अभाव सिर्जना गरेको भन्दै महँङ्गी नियन्त्रण गराउन जोड दिइन् ।
सांसद पदम गिरीले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेकाले उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकार समक्ष माग गरे । सांसद प्रेमबहादुर महर्जनले दसैँ नजिकिँदै जाँदा महँगी र अभाव हटाउन तथा गन्तव्यमा पुग्ने यात्रुलाई सहज यातायातको व्यवस्था मिलाउन माग गरे ।
सांसद बलराम अधिकारीले चाडपर्वको मुखमा स्थानीय कर्मचारीको समस्या सम्बोधन गर्न, उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउनका लागि पहल गर्न आग्रह गरे । सांसद ठाकुर गैरेले पाल्पाली जनताले स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबारे आफूले सदनमा पटक–पटक कुरा उठउनाका साथै स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि जिल्लामा चिकित्सक अभाव रहेकामा कार्यान्वयनका लागि चासो नदिएको गुनासो गरे ।
उनले जिल्ला अस्पतालमा चिकित्सकका लागि अनेक पहल गर्दा बल्लबल्ल एक चिकित्सक पुगे पनि हालै अन्यत्र सरुवा गराइएकाले यस्तो अवस्था किन सिर्जना गरियो भने । उनले वीर अस्पतालमा सयौँ स्वास्थ्यकर्मी निष्कासित भएको, बिरामीलाई शय्या अभाव भएको तथा चिकित्सकहरुले राजिनामा दिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले संविधानको व्यवस्थाअनुसार गैर आवासीय नेपालीले अहिले पनि नागकिरता पाउन नसकेको र लामो समयपछि नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी नगरिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद तारा लामा तामाङले बझाङ्गी जनता अहिले पनि भूकम्पको त्रासमा रहेको अवस्थामा तिनलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरिन् । यही असोज १६ गते बझाङमा छ दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसैगरी सुदूरपश्चिममा दुग्ध विकास संस्थानले असारदेखि असोज महिनासम्म दुग्ध किसानलाई भुक्तानी नदिँदा दसैँको मुखमा किसानले पैसा नपाएर चिन्तित बनेकाले तत्काल भुक्तानीका लागि पहल गर्न माग गरे । सांसद दीपक खड्काले सङ्खुवासभाको अरुण तेस्रो मार्गमा पर्ने झङ्कुटी दिदिङ सडकखण्डमा मुआब्जा नपाएर ४१ दिनदेखि सडक सङ्घर्षमा रहेको रहेकाले दसैँको मुखमा उनीहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल बैरागीले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी र सबै नेपालीको उद्धारका लागि सरकार तदरुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies