अनुज अधिकारी/मध्यान्ह
लमजुङ : गुरुङ चलचित्र क्षेत्रमा स्थापित नाम हो मनोज गुरुङ । लमजुङको बेसीशहर नगरपालिका ४ पुरानोकोटमा जन्मिएका गुरुङ पछिल्लो समय व्यस्त कलाकारका रुपमा चिनिन्छन् । २०५९ साल फागुन २५ गते जन्मिएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।
मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । २०७५ सालमा कक्षा ११ मा अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको ‘आमाको मन’ नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यू गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाए ।
उनले विद्यालयमा पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरुमा नृत्य गर्दै आएका थिए । २०७४ सालमा गाउँकै सेवा सदन माध्यामिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि लमजुङ सदरमुकाम बेसीशहरको अथ्र्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भएका गुरुङले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा भाग लिन शुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो ‘लमजुङ डान्स च्याम्प सिजन–२’ मा अडिसन दिए । पहिलो अडिसनमा छनोट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यसबखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै ‘भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ’ भनेको उनले आज पनि झलझली सम्झिरहेको बताउँछन् ।
हुन पनि त्यस्तै भयो उनलाई त्यही रियालिटी शोपश्चात् गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनी निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउन सफल भएका छन् । उनले शुरुवातको समयमा केही म्युजिक भिडियोहरुमा कोरस नृत्यसमेत गरेका थिए । यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुबा डम्बर गुरुङको एकदमै राम्रो साथ रहेको छ । गुरुङले हालसम्म गुरुङ चलचित्र दिदीबहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेका छन् ।
गुरुङले विशेषगरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । गुरुङले हालसम्म गरेका करिब ७० म्युजिक भिडियोमध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराएका छन् ।
गुरुङले झण्डै आधा दर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका छन् । गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आफूलाई निखार्न र तिखार्नका लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देखेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टी मिलेको गुरुङ बताउँछन् । गुरुङलाई नेपाली भाषाको चलचित्रबाट अफर भने नआएको होइन । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर काम गर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले रिजेक्ट गरेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies