धर्मेन्द्र दाहाल/मध्यान्ह
हेटौँडा : अपहरण गरेर फिरौती माग्ने थुप्रै घटनाहरु नेपालमा सार्वजनिक हुने गरेका छन् । तर बागमती प्रदेशको राजधानी हेटौँडामा भने नयाँ घटना सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का एक युवाले आफ्ना साथिहरुसँग मिलेर आफ्नै सहोदार ठूलोबुबाको घरमा गोली प्रहार गर्दै एक करोड रुपैयाँ मागेपछि प्रहरीको फन्दामा परेका छन् ।
घटना गत १९ मंसिरको हो । हेटौँडा ९ का ३३ वर्षीय निश्चल पौडेल आफ्ना दुईजना साथिहरु ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीसहित आफ्ना ठूलोबुबा सूर्यप्रसाद पौडेलको घर आसपास पुग्छन् ।
हातमा स्वचालित पेस्तोल लिएर पुगेका उनले ठूलोबुबाको घरको भित्तामा एकाएक गोली वर्षाउँछन् र मोबाइलमार्फत हिन्दी भाषामा एक करोडको माग गर्छन् । आफुलाई एक करोड नदिए अर्को पटक भित्तामा मात्र गोली नपड्कने चेतावनी दिँदै उनीहरुको टोली त्यहाँबाट हिँड्छन् । उनीहरुले हिन्दी फिल्ममा प्रयोग हुने ‘डाईलग’को प्रयोग गरी फिल्मी शैलीमा फिरौती रकम मागेका थिए । यो ‘ट्रेलर’ मात्र भएको र आफुले भनेको रकम नदिए पूरा फिल्म देखाउने भन्दै उनीहरुले सूर्यप्रसादलाई आतंकित बनाएका थिए ।
एकाएक घरमा गोली प्रहार भएपछि आत्तिएका सूर्यप्रसादले उक्त कुरा तुरुन्त प्रहरीलाई भन्छन् । घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटना मकवानपुरको पहिलो घटना भएको र निकै संवेदनशिल विषय भएको भन्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल आफैं घटनाको अनुसन्धानमा खटिए । तीन दिनको अनुसन्धानपछि प्रहरीले गोली प्रहार गरेर फिरौती माग्ने व्यक्तिलाई पक्राउ गर्न सफल भयो । प्रहरीले घटना भएको घरको वरपरको सीसीटीभीको सहायताले अपराधमा संलग्नहरुको खोजीकार्य गरेपछि सफलता हात पारेको हो । घटनाका योजनाकार सूर्यप्रसादका आफ्नै भतिज रहेको थाहा पाएपछि प्रहरी पनि चकित परेको थियो ।
प्रहरीले घटनाको मुख्य योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली समेत बरामद गरेको छ । हेटौँडा ९ घर भएपनि निश्चल हेटौँडा ४ मा डेरागरी बस्थे । प्रहरीले उनीहरु बस्ने कोठामा छापा मार्दा २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट आधुनिक स्वचालित पेस्तोल कहाँबाट आयो भन्ने विषयमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । मकवानपुरको सन्दर्भमा घरमा गोली प्रहार गरेर फिरौती रकम मागेको घटना पहिलो र निकै गम्भीर किसिमको रहेको भन्दै प्रहरीले तीनैजनाको म्याद थप गरेर थप अनुसन्धानको कामलाई अघि बढाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies