सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी स्याला सीमाका छवि श्रेष्ठले कृषिबाटै मनग्य आम्दानी गरेका छन् । उनी पश्चिमी रोल्पाकै उत्कृष्ट कृषकको रूपमा समेत परिचित छन् । श्रेष्ठ रोल्पाको पुरानो कृषकको रूपमा चिनिन्छन् । रोल्पामा कृषकहरु धेरै छन् तर पनि श्रेष्ठले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनलाई कृषि कार्यमा लामो समय टिक्न सक्ने कृषकको रूपमा समेत लिन सकिन्छ ।
श्रेष्ठलाई अरु भन्दा धेरै फरक खालका फलफूलका बेर्ना उत्पादन गर्न सक्ने क्षमता भएर पनि होला जिल्लाको उत्कृष्ट कृषकको रूपमा चिनिन सफल भएका छन् ।
श्रेष्ठ रोजगारीको सिलसिलामा वि.सं.२०४४ सालमा भारतको हिमाचल प्रदेशमा गएका थिए । उनले करिब ३ महिना स्याउका बगैचामा काम गर्न थाले, स्याउका बिरुवा सार्ने र टिप्ने काम गर्न थाले । भारतको अर्को प्रदेश उत्तर प्रदेशको मोरी पसैला भन्ने ठाउँमा गएर गिट्टी समेत कुटे । दिनको ५ रुपैयाँ ज्यालामा काम गरेर उनले त्यो ज्याला समेत नलिएको अनुभव सुनाउँछन् । जतिबेला श्रेष्ठ १५ वर्षका थिए, उनले करिब १ वर्ष पुरा गरेर वि.सं.२०४५ सालमा स्वदेश फर्किए ।
फेरि दोस्रो पटक रोजगारकै क्रममा १९ वर्षको कलिलो उमेरमा भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको मनाली भन्ने ठाउँमा पुगे । उनले त्यहाँ पनि स्याउकै काम गर्न थाले । श्रेष्ठले खाडल खन्ने, खाडल पुर्ने, स्याउको बेर्ना रोप्ने र खाडल पुर्ने काम गरे । साथै पछि जंगलमा काठको काम गरेर २ वर्ष भारतदेखि २१ वर्षको उमेरमा स्वदेश फर्किए । घर फर्किए लगत्तै सुन्तला लगाउनको लागि खाडल खने ।
वि.सं.२०५१ सालमा पहिलो पटक स्वदेशमै करिब १ सय बुट्टा सुन्तला लगाउन शुरु गरे । करिव १ दशक सुन्तला उत्पादन गरी वि.सं.२०६२ साल असार महिनामा मलेसिया गए । मलेसियामा समेत सुन्तला, हलुवावेदका बिरुवाको काम गरे । करिव १५ महिना मलेसियामा काम गरेर स्वदेश फर्किए ।
भारतमा काम गर्दा बाँदर भनेको अझैँ याद आउने उनी बताउछन् । आफ्नो देशमा जग्गा जमिन नभएर अर्काको देशमा श्रम गर्न आउने भनेको अहिलेसम्म नभुलेको बताए ।
खाडी मुलुक मलेसियामा कामको दबाब धेरै भएको र समयमा कामको बिदा नपाउने गरेको उनले बताए । साथै पहिले गएका नेपालीले त्यहाँको भाषा र सीप सिकेर नयाँ गएको नेपालीलाई हेप्ने र कुनै घटना वा लुटपाट भए पनि त्यहाँको सुरक्षाले ध्यान नदिने गरेको अनुभव व्यक्त गरे । त्यो दुःख पिडा देखेर आफ्नो देश केही गर्नसकिन्छ भने सोच लिएर स्वदेश फर्किएको समेत उनले बताए । विदेशमा सिकेका सीपलाई स्वदेश आएलगत्तै व्यवहारमा लागु गर्न थाले । उनले आफ्नो खेतबारीमा अनार, गुलियो कागती नर्सरीका बिरुवा र मौसम अनुसारका तरकारी तथा फलफूल उत्पादन गर्न थाले ।
श्रेष्ठले वि.सं.२०७४ सालमा साना घरेलु उद्योग रोल्पाको लिबाङमा नर्सरीको काम गर्नको लागि छवि नर्सरी फम दर्ता गरि सञ्चालन गर्न थाले । अहिले पनि निरन्तर सञ्चालनमा रहेको छ । श्रेष्ठको फममा सुन्तला, अनार, गोलियो काँगती, अमिरिकन आरु, मौसम अनुसारका बहुवर्षे प्याज र हास रहेका छन् । स्वदेशमै मनग्ये आम्दानी गर्ने गरेको कृषक श्रेष्ठको भनाइ छ । घरमै यो वर्ष सुन्तला करिव ८ क्विन्टल फलेको ४२ हजार ३ सय रुपैयाँ बराबरको बिक्री गरेको र अनार करिब ५ क्विन्टल फलेको १ लाख २५ हजार बराबरको बिक्री गरेको उनले बताए ।
त्यस्तै गुलीयो कागतीको फल १ लाख ५० हजार रुपैयाँ बराबरको बिक्री गरेको र गुलियो कागतीको बेर्ना १ लाख रुपैयाँ बराबरको बिक्री भएको उनले बताए । छिमेकी जिल्ला दाङको कोशी नर्सरीमा १ लाख बराबरको बेर्ना बिक्री गरेको उनको भनाइ छ ।
मौसम अनुसारका तरकारीबाट ३० हजार बराबरको यो वर्ष आम्दानी हुने श्रेष्ठले बताए । अहिले सुन्तला र अनारको बजारमा माग भएको बताउँदै श्रेष्ठले भने, ‘त्यो भदा पनि पछिल्लो समय बजारमा गुलियो कागतीको फल र बेर्नाको माग धेरै छ । त्यसैगरी गुलियो कागतिको जिल्लाभित्र मात्र माग नभएर अहिले जिल्ला बाहिर दाङ, काठमाडांै, गुल्मी, अर्घाखाँची, पाल्पा,गोर्खा,नुवाकोट, काँस्की, झापा, नवलपुर, बागलुङ, धनकुटा लगायत नेपालका धेरै जिल्लामा समेत यसको माग धेरै रहेको छ ।’ यो वर्ष गुलियो कागतीको बेर्नाको माग अन्य जिल्ला भएपनि गत वर्ष हजारको संख्यामा माग भएपनि यो वर्ष २५देखि ५० बेर्नासम्म माग आउने गरेको उनले बताए । यो वर्ष सबैभन्दा धेरै बागलुङ जिल्लाबाट माग बढी आएको समेत उनको भनाइ छ ।
गुलियो कागती समुद्री सतहदेखि ४ सय मिटरदेखि १८ सय मिटर उचाइसम्म राम्रो उत्पादन हुने र स्वास्थ्यका लागि लाभदायक रहेको समेत बताइएको छ । श्रेष्ठको नर्सरी फर्ममा कृषि अध्ययन गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरु समेत अवलोकनका लागि आउने गर्छन् । कृषि अध्ययनरत ओजेटीका विद्यार्थीहरु आफ्नो फममा अध्ययन तथा अवलोकन गरेर जाने गरेको उनले बताए ।
स्थानीय सरकारले कुनै सहयोग नगरेको बताउँदै श्रेष्ठले थप्दै भने ‘घर नजिकको सरकार नत सहयोग नै गर्छन् नत कृषकलाई चासो पूर्वक नै हेर्छन्,अहिलेसम्म पालिकाले कुनै चासो देखाएको छैन् ।’ गएको आर्थिक वर्षहरु लुम्बिनी प्रदेश सरकारबाट जाली र मिनिटर पाएका थिए भने आशा परियोजना रोल्पाबाट १ लाख ५० हजार र कृषि ज्ञान केन्द्र रोल्पाबाट ४ लाख बराबरको सहयोग समेत पाएको उनले बताए । यो वर्ष श्रेष्ठले कृषि ज्ञान केन्द्र रोल्पा र लुम्बिनी प्रदेश सरकार समक्ष पाइपको माग गर्ने बताए । २०८० को वर्षादको समयमा पहिरोले पाइप नष्ट गरिदिएकोले पाइपको व्यवस्था गरिदिन सहयोगको अपिल गर्ने समेत उनले बताए ।
श्रेष्ठले कृषि कार्यमा करिब १८ घण्टा बराबर समय खर्चने गरेको बताउँछन् । स्वदेशमाभन्दा विदेशमा प्रविधिको प्रयोग, जातीय छनोट, बजारको अनुगमन र व्यापारीसँग सम्झौता गर्ने गरेको विदेशको अनुभव उनले सुनाए । तर नेपालमा भने त्यस्तो व्यवस्था नभएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies