पूर्व पञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुनदेखि राजधानी केन्द्रीत आन्दोलनको तयारी गरिरहेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार पत्रकारहरूलाई राजधानी केन्द्रीत आन्दोलनबारे जानकारी दिएका थिए । उनले दिएको जानकारी अनुसार, फागुन पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाइनेछ । तर त्यो मागपत्रको सम्बोधन सरकारले गर्न सक्ने छैन । किनकि राजसंस्था फर्काउनुपर्ने, हिन्दू राष्ट्र कायम गरिनुपर्ने जस्ता व्यवस्था उल्ट्याउने माग सरकारले पूरा गर्नेछैनन् । अर्थात् सरकारबाट पूरा नहुने मागपत्र राप्रपाले बुझाउने तयारी गरेको छ । त्यो भनेको २०५२ फागुन १ मा तत्कालीन नेकपा माओवादीले सरकारसँग राखेको ४० बुँदे मागपत्रलाई सम्झाउनेगरी राप्रपा अगाडि बढ्ने मनसायमा छ ।
त्यसबेला माओवादीले संविधान अन्तर्गत रहेरै कतिपय मागहरु तत्कालीन व्यवस्थाले सम्बोधन गर्न नसक्नेगरी अगाडि बढाएको थियो । नभन्दै आफैले दिएको अल्टिमेटमको समय नआउँदै माओवादीले सशस्त्र विद्रोह घोषणा गर्यो । दश वर्षसम्म गृहयुद्ध चल्यो । भलै त्यही गृहयुद्धको जग अनि दोस्रो जनआन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको छ । तर संविधानले सुरक्षित गरेको त्यही व्यवस्था राप्रपालाई भारी भएको छ । राजधानी केन्द्रीत आन्दोलनबाट व्यवस्था उल्ट्याउने चेतावनी राप्रपाका कतिपय नेताहरुले दिइरहेका छन् । अर्कातिर नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको समेत गतिविधि बढेको छ । गत वर्षदेखि सार्वजनिक समारोहमा देखिन थालेका ज्ञानेन्द्र स–परिवार देश दौडाहामा छन् । तिनै ज्ञानेन्द्र शाहसँग बाक्लो भेटघाट सहित राप्रपाले व्यवस्था उल्ट्याउने चेतावनी दिइरहेको छ ।
व्यवस्था उल्ट्याउने ज्ञानेन्द्र र राप्रपाको अभियानमा विवादित व्यवसायी दुर्गा प्रसाईँहरू समेत जोडिएका छन् । विवादित र उत्तेजित अभिव्यक्ति दिएर चर्चामा आइरहने प्रसाई व्यवस्था र नेतृत्वप्रति गालीगलौजमै देखिन्छन् । संविधानले मुलुकको सार्वभौमसत्ता नागरिकमा निहीत गरेकाले यी शक्तिहरुलाई राजनीतिक गतिविधिदेखि अभिव्यक्ति स्वतन्त्रतामा पूर्णतः अधिकार छ । उनीहरुको चाहनामा जनता सहमत भए व्यवस्था समेत उल्टिन सक्छ । किनकि मुलुकका निम्ति नागरिक सर्वोच्च संस्था हो, उनीहरुकै निर्णय बमोजिम मुलुक चल्नुपर्छ । तर अहिले जस्तो गतिविधि र अभिव्यक्ति प्रकट भइरहेको छ, त्यो कसैको नियन्त्रणमा नरहने खतरा पनि देखिन्छ । संस्थापनतर्फका नेताहरुले भनेजस्तै नभएपनि एक हदसम्म अराजक अभियान चलिरहेको पुष्टि हुने अनेक घटना भइरहेका छन् । तर राजनीतिक परिवर्तन नागरिकको सचेतनापूर्ण माग र एजेण्डाले मात्रै संभव छ भन्ने कसैले पनि बिर्सन हुन्न । अराजकताले निम्त्याउने दुर्घटनाले मुलुकलाई सही दिशामा हिडाउन सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies