तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : चार चरणमा सम्पन्न हुने गरी १ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको गायन र नृत्य विधाको गैरआवासीय नेपाली तारा सिजन ४ को फाइनलको मित नजिकिँदै छ । आगामी महिनाको २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको हो ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । ग्रानड फिनालेमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत हलमा उपस्थित दर्शकले आफूसँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने गरी तयारीलाई अन्तिम रूप दिन लागिएको छ । बहु चर्चित गायक रामकृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पूर्णिमा श्रेष्ठ अतिथि निर्णायकका रूपमा ग्राण्ड फिनालेमा आउने निश्चित भएपछि आयोजक, प्रतिस्पर्धी र कतारमा रहेका गीत संगीत प्रेमीहरू निकै उत्साहित छन् । कार्यक्रमलाई भव्य बनाउन कुनै कसुर नछाड्ने गरी अन्तिम तयारी आयोजकले थालेकै बेला प्रतियोगीहरूले आइडललाई कसरी हेरेका छन् र समग्रमा कसरी लिएका छन् भन्ने बारेमा मध्यान्ह दैनिकले प्रतिस्पर्धीसँग अलग अलग उनीहरूका विगत, वर्तमान र भविष्यका बारेमा भलाकुसारी गरेको थियो । भलाकुसारीबाट तयार नृत्य विधाका प्रतियोगीको रिपोर्टलाई यहाँ पेस गरिएको छ ।
१. जुनु माया कुमाल (भोटिङ नम्बर १)
विगत तीन वर्षदेखि कतारमा श्रमिकका रूपमा रहेकी इलाम कल्कतेकी जुनु माया कुमाल सानैदेखि गीत संगीतप्रति झुकाव राख्थिन् । पहिलो पटक रियालिटी शो एनआरएन आइडलमा भाग लिएकी उनले थुप्रै स्टेजमा प्रस्तुति दिएकी छिन् । ग्रान्ड फिनालेको तयारी र नियमित कार्यमा व्यस्त कुमालले अतिथि निर्णायकहरूप्रति निकै आकर्षित र उत्साहित हुँदै खुसी व्यक्त गरिन् । औपचारिकरूपमा कुनै भिडियोमा काम नगरे पनि आफूले प्रतियोगिता जितेमा बाबा आमाको दु:खलाई चिर्ने तथा एकसरो भए नि नयाँ लुगा किन्दिन चाहान्छिन् । बचेको रकम नृत्यमै खर्च गर्ने उनको लक्ष्य रहेको छ ।
२. सरोज लामा (कान्छा) (भोटिङ नम्बर २)
तराईको समथर भूमि सर्लाहीमा जन्मिएका सरोज विगत पाँच वर्षदेखि कतारमा कार्यरत छन् भने उनी नेपालको नवलपुर जिल्लामा बसोबास गर्दछन् । सानैदेखि नृत्यमा रुची राख्ने लामाले पहिलो पटक नृत्य प्रतियोगितामा भाग लिएका हुन् । नेपालबाट आउने जजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरुको सामुन्ने आफूले प्रस्तुति दिन पाउने खबरले एकदम उत्साहित हुँदै तयारीलाई तीव्रता दिएको उनले बताए । आफूले प्रतियोगिताको ट्रफी उचाल्न सकेको खण्डमा पुरस्कारको राशि सही ठाउँमा सहयोग (उपयोग) गर्ने चाहना रहेको उनले बताए ।
३. निरु श्रेष्ठ (भोटिङ नम्बर ३)
इलामको बिब्लाटे डाँडा गाउँमा जन्मिएकी निरु विगत चार वर्षदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छिन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरे पनि प्रतिस्पर्धामा भने पहिलो पटक भाग लिएको बताइन् । नेपालबाट अतिथि निर्णायकका रूपमा रामकृष्ण ढकाल र पूर्णिमा श्रेष्ठ आउने खबरले धेरै खुसी लागेको बताउँदै तीन चरण पार गर्दासम्म जजहरूले दिएका सल्लाह सुझावलाई ध्यानमा राखेर ग्राण्ड फिनालेका लागि थप मेहनत गरिरहेको उनले बताइन् । प्रतियोगिता जितियो भने के गर्ने भन्ने सोच्न नसकेको बताउँदै निरुले कहीँ न कहीँ सकारात्मक काममै खर्च गर्ने बताइन् ।
४. झरना राई (भोटिङ नम्बर ४)
मेची नगरपालिका वडा नं. ३ मा जन्मिएकी राई सानो उमेरदेखि नै नृत्यमा रुची राख्थिन् । विगत तीन वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आइरहेकी उनले आफू भारतमा हुँदा आफ्ना साथीहरूसँग नृत्य गर्दै युट्युबमा भिडियो अपलोड गरेको स्मरण गरिन् । तीन वटा गीतको म्युजिक भिडियोमा समेत काम गरेको अनुभव उनीसँग छ । आफ्नो जीवनमा पहिलो पटक रियालिटी शोमा भाग लिएको बताउने उनले आफूले प्रतियोगिता जित्न सकेमा पुरस्कारको राशि नेपालमा दुखी पीडितका लागी खर्च गर्ने बताइन् ।
५ सौजन चाहार (भोटिङ नम्बर ५)
पछिल्लो एक वर्षदेखि कतारमा श्रम गरिरहेका झापा धुलावारीका सौजन चाहार बच्चैबेलादेखि छमछमी नाच्ने गर्थे । चर्चित कमेडियन बोकेदाह्रीको एक गीतको म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरेका उनले थुप्रै म्युजिक भिडियोमा कोरसका रूपमा नाचेको अनुभव सँगालेका छन् । पहिलो पटक रियालिटी शोमा भाग लिएका चहार नेपालबाट आमन्त्रित अतिथि कलाकारलाई लिएर उत्साहित हुँदै "उहाँहरु जस्तो अग्रज र अब्बल कलाकारको सामुन्ने प्रस्तुति दिन पाउनु आफ्ना लागि ठूलो अवसर" रहेको बताए । आफूले प्रतियोगिताको विजेता बन्न निकै मेहनत गरिरहेको बताउँदै आफूले प्रतियोगिता जितेमा प्रवासमा रहेका नेपाली कलाकारहरूसँग मिलेर एउटा नृत्य संघ स्थापना गरी नेपाली संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको उनले बताए ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ । खाडीमा काम गर्दै आफूसँग बचेको समय कलाकारितामा लगाइरहेको अवस्थामा मध्यान्ह दैनिकले ठूला साना कलाकार नभनी समान स्थान दिएकोप्रति कलाकार सकारात्मक मात्र देखिएनन् आभार समेत प्रकट गरे । मध्यान्हकर्मीलाई कलाकारितासँगै श्रमिकका मुद्दामा समेत कलम चलाउन उनीहरूले आग्रह गर्दै खुसी व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies