तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : मानवीय जीवनमा मानिसहरूले फरक–फरक कर्म एकै जीवनमा गरेका हुन्छन् । मानिसले गर्ने हरेक कार्य सिद्ध नहुन सक्छन्, तर प्रयासलाई नछाड्ने हो भने मेहनतले एक दिन सफलताको शिखरमा पुर्याउँछ भन्ने उदाहरण हुन् गजमान र गोपी माया गुरुङका एक्ला छोरा प्रवीण गुरुङ ।
सन् १९७९ जुन ८ मा चितवनको राईगञ्जमा जन्मिएका उनी भूतपूर्व भारतीय लाहुरे हुन् । साढे सात वर्षसम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान सन् २००४ मा कतार पुगे । कारण थियो– कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गर्नु । उनले ६ वर्ष सुरक्षागार्डका रूपमा काम गरे । जुझारु र लाहुरे स्वभावले भरिएका गुरुङले कतारको जागिरबाट बचेको अर्थलाई व्यवसायमा लगाए । उनलाई व्यावसायिकरुपमा स्थापित भने दोहाको समसारा थकाली भान्छा घरले गराइदियो ।
व्यवसाय सोचेभन्दा राम्रो भएपछि गुरुङले जागिर छोडिदिए । बिस्तारै उनले रियल स्टेट, कन्स्ट्रक्सन, हस्पिटालीटी, कन्सल्टेन्सीलगायतका व्यवसाय सञ्चालन गर्दै गर्दा थाहै नपाइ उनी गीतसंगीततिर ढल्किए । आफूले गाउने नाच्ने नगरे पनि कला र कलाकारलाई रगतमा बोकेर हिँडेका गुरुङले नेपालदेखि कतारका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजक, सहयोगी बन्दै ठूलो रकम लगानी गरेका छन् । सन् २०१७ मा नेपाल आइडल सिजन १ को ग्राण्ड फिनाले कतारमा सम्पन्न गर्न सकिन्छ भन्ने साहसिला युवा यीनै गुरुङ थिए । उनको परिकल्पना तथा लगानीमा उक्त ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
उनको नशामा गीतसंगीतको रस यसरी बग्यो कि उनले आफू आवद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)मा समेत कला र संगीतलाई बलियो स्थान दिँदै गए । सामाजिक संस्था र कार्यमा सक्रिय गुरुङले सन् २०१८ को डिसेम्बरमा पुनः दि भोइस अफ नेपालको पहिलो सिजनको ग्राण्ड फिनालेलाई कतारमा भित्र्याए । दुवै रियालिटी सोका ग्राण्ड फिनाले कतारमा सम्पन्न गर्ने यीनै गुरुङले कला र कलाकारका लागि ठूलो रकम लगानी गरेका छन् ।
उनले नेपालबाट बुगीउगी डान्स रियालिटी सोका टप चार र नेपाल आइडल सिजन दुई का टप चार प्रतियोगी कलाकार ल्याएर कतारमा सन् २०१९ मा नेपाल आइडल र बुगीउगी इद फेस्टिभल २०१९ पनि सम्पन्न गरेका थिए । एनआरएनए मध्यपूर्व संयोजक हुँदा नै उनले मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन–२०२१ का परिकल्पनाकार, आइडलका प्रमुख सल्लाहकार तथा अतिथि निर्णायक रही कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
फेब्रुअरी २, २०२४ मा ग्राण्ड फिनाले भएको गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’मा उनी समुद्घाटन तथा ग्राण्ड फिनालेमा अतिथि निर्णायकका रूपमा रहेका थिए । गीतको सुर, ताल र लयलाई समेत बुझ्न सक्ने गुरुङले प्रतियोगीलाई दिने प्रतिक्रिया निकै चाख लाग्दा र मार्ग निर्देशक हुने गर्दथे । गुरुङले विश्वमा जहाँ पनि गीत संगीत तथा सामाजिक कामका लागि आफूलाई अग्र भागमा राख्ने गरेका छन् । कतारमा उनले मनोरञ्जन क्षेत्रमा योगदान गर्न भने आज पनि भुलेका छैनन् ।
डिजिटल प्लेटफर्मसँगै उदीयमान भएका नवोदित कलाकारका लागि उनले सन् २०२२ मा टिकटक अवार्डसमेत सम्मपन गरेका छन् । उनले गीतसंगीतसँगै व्यवसायलाई पनि सँगसँगै लगेका छन् । कतारको मुग्लिनामा रहेको भीआईपी होटलमा ‘भीआईपी स्टार एण्ड बार’समेत सञ्चालन गरिसकेका उनले एसियाना दोहोरी तथा गजल बार सञ्चालन गरेर करिब एक दर्जन कलाकारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनलाई गीत संगीतको मेरुदण्ड मान्न सकिन्छ । जीवनमा थुप्रै पटक लडेर उठेका गुरुङ व्यवसायमा सफल हुनका लागि इमानदारी र मेहनतलाई नै प्रमुख कारण मान्छन् ।
मध्यान्ह दैनिकसँगको कुराकानीमा उनी आफू लडेर उठेको र लड्दा हात छोडेर जानेहरूलाई धन्यवाद मात्र नभइ आफ्नो अगाडि लड्ने सबैलाई आफूले हात दिने गरेको स्मरण गर्छन् । दुई सन्तानका पिता गुरुङले आफ्नी जीवनसंगीनी सरिता गुरुङकै कारण आफूलाई मेहनत गर्न उर्जा मिल्ने गरेको बताउँछन् । २०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७–१९ मा मध्यपूर्व उपसंयोजक, २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवका हैसियतमा कार्य सम्पादन गरेका गुरुङ वर्तमान कार्यसमितिका उपमहासचिव हुन् ।
एनआरएनए अभियानमा लागिरहँदा महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तीको समयमा स्वयम् उपस्थित भइ गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरणमा जुटेका थिए । उनले नेपालको बारा र पर्सा जिल्लामा हावाहुरीले तहशनहश पार्दा घरबारविहीन बनेका करिब पाँच सय घरपरिवारलाई राहत वितरण र उद्धारसमेत गरेका थिए ।
हालै जाजरकोट र रुकुममा गएको भूकम्पमा पनि उनी आफैं पुगेर करिब चार सयभन्दा बढी घरधुरीलाई राहत वितरण गरे भने अस्थायी टहरा निर्माण गरेर फर्किए । कोरानाले विश्व आतंकित बनेका बेला मध्यपूर्वमा रहेका केही महिला तथा बालबालिकाहरूलाई चार्टर्ड फ्लाइटबाट स्वदेश फिर्तीका लागी गुरुङले संयोजन गरेका थिए भने कोरोनाकालमै मध्यपूर्वबाट अक्सिजन सिलिन्डर नेपाल पठाउन उनको आर्थिकलगायत महत्वपूर्ण साथ र योगदान रहेको छ ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गर्दै एनआरएनएको झण्डा फहराउँदै विभिन्न पदक आफ्नो संगठनको नाममा दर्तासमेत गरेका छन् । कुराकानीको अन्त्यमा गुरुङले नेपाली कला, संस्कार, संस्कृतिको अन्तर्राष्ट्रियकरण, बजार व्यवस्थापनका लागि आफू अझै पनि लगानी बढाउन तयार रहेको बताए । उनले विश्वभर रहने नेपालीले आयोजना गर्ने मनोरञ्जनका कार्यक्रम होस् या पीडामा परेका नेपाली, आफ्नो जानकारीमा रहेसम्म सक्दो हर किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कतारमा रहेर सामाजिक कार्य र व्यवसाय गर्दै आएका गुरुङ सन् २०२२ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न चौथो सन्देश इन्टरनेशनल सोसल अवार्ड कार्यक्रममा सम्मानित भएका थिए । क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले उक्त विधामा विगत २ दशकदेखि सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान गरेको हो । त्यस्तै गुरुङ चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको कार्यक्रममा समेत उनी सम्मानित भइसकेका छन् । कार्यक्रममा एनआरएनएका गुरुङसहित एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए यूएईका अध्यक्ष ठाकुर ढुंगाना ‘सोसियल अवार्ड २०२३’बाट सम्मानित भएका थिए ।
फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनरसिप (फिन्या)ले यल्लो प्यागोडा होटलमा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा पनि गुरुङलाई ‘फिन्या बेस्ट सोसियल इन्टरप्रेनरसिप अवार्ड २०२३’बाट सम्मानित गरिएको थियो । गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृष्ट कार्य गरेको र देश विकासका लागि ठूलो योगदान गरेकोमा सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउद र फिन्याका अध्यक्ष स्वतन्त्र प्रताप शाहले गुरुङलाई सम्मान गरेका हुन् । कतारमा सम्पन्न ‘स्टार इन्टरनेशनल अवार्ड २०१९’मार्फत ‘बिजनेस अवार्ड २०१९’बाट गुरुङ सम्मानित भएका थिए । थुप्रै सामाजिक, वैचारिक तथा जातीय संस्थाबाट सम्मानित गुरुङ गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४ मा समेत सम्मानित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies