काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ, मधेस प्रदेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१ रुपैयाँ, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार रुपैयाँ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार रुपैयाँ, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
राजस्व रकम सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तत्थ्यांकमा उल्लेख छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायतलाई कारबाही गरिएको हो।
कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका पनि प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले देखाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूरअनुसार ट्राफिक प्रहरीले कारबाही गर्नसक्ने व्यवस्था रहेको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies