कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : वरिष्ठ लोकदोहोरी गायिका तथा महिला उद्यमी एवम् समाजसेवी धनकुमारी थापा ‘सरु’ भारतको एक प्रतिष्ठित विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधिद्वारा सम्मानित भएकी छन् । भारत भर्चुअल युनिभर्सिटी फर पिस एण्ड एजुकेसनद्वारा गत जनवरी २७ अर्थात माघ १३ मा बैंगलोरमा आयोजित दीक्षान्त समारोहमा गायिका सरु सो उपाधिबाट सम्मानित भएकी हुन् ।
विगत अढाई दशकदेखि गायन, सामाजिक सेवा र उद्यमशीलताको क्षेत्रमा पुर्याएको योगदान स्वरूप उनलाई कदरपत्रद्वारा सो उपाधि प्रदान गरिएको हो । मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित भएपछि गायिका सरुले यो विद्यावारिधिले आफूलाई सामाजिक कार्य र दोहोरी गायनमा थप हौसला मिलेको मध्यान्हलाई बताइन् । यो सम्मानले थप जिम्मेवारीबोध गराएको पनि उनले बताइन् ।
विद्यावारिधि पश्चात लण्डन पुगेकी गायिका एवम् समाजसेवी सरुलाई त्यहाँस्थित गैरआवासीय नेपाली संघ संस्थाले डाक्टरको उपाधि पाएकोमा सम्मान गरेका छन् । दोहोरी गायिकाबाट विद्यावारिधि पाउने उनी नेपालको पहिलो महिला कलाकार हुन् ।
सरुले सांगीतिक कार्यक्रमको सिलसिलामा विश्वका थुप्रै मुलुकहरुको भ्रमण गरिसकेकी छन् । लण्डनमा सम्मानित भएपछि उनले नेपाली जहाँ रहेपनि आफ्नो कला, संस्कृति र भाषा बिर्सन नहुने बताएकी छन् ।
नेपाली कांग्रेस, बाग्मती प्रदेश कमिटीको कार्यकारी सदस्यसमेत रहेकी सरु साहित्य, कला र संस्कृति विभागको सदस्य हुन् भने अन्तर्राष्ट्रिय समाजिक संस्था रोटरी इन्टरनेशनल र विश्व हिन्दु महासंघको समेत सदस्य हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies