काठमाडौं : यस वर्षका लागि ‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’को औपचारिक घोषणा भएको छ । निकिला मिडिया नेटवर्कले आयोजना गर्ने यो तेस्रो संस्करणको कार्यक्रम हो । बिहीबार बालुवाटारस्थित ‘टाइम्स स्क्वायर होटल’मा पत्रकार सम्मेलन गरी पुरस्कार कार्यक्रमको घोषणा गरिएको हो ।
पुरस्कारका लागि प्रतिष्ठित निर्णायक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुमध्येबाट छनोट गरी विजेता घोषणा गर्ने छ । विजेताहरुलाई आउँदो मे २५ मा होटल हायात प्यालेसमा भव्य समारोहका बीच पुरस्कार हस्तान्तरण गरिने छ । इच्छुकले अवार्डको वेबसाइट ‘डब्लूडब्लूडब्लू डट ग्यालेक्सी एक्सिलेन्स अवार्ड डटकम’बाट आवेदन दिन सक्ने आयोजकले जानकारी दिएको छ ।
निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुंगेलको अध्यक्षता, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यता तथा नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न पुरस्कार घोषणा कार्यक्रममा ग्यालेक्सी एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डनले स्वागत मन्तव्य राखेका थिए ।
पुरस्कारबाट लामो समयदेखि विभिन्न अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायीलगायतका पेशाकर्मीहरु पुरस्कृत हुँदै आएका छन् । कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटाले ग्यालेक्सी एक्सिलेन्स अवार्ड अन्य अवार्डभन्दा धेरै फरक भएको भन्दै यसको गरिमा राख्न सफल भएकोमा आयोजक संस्थालाई बधाई दिएका थिए ।
त्यस्तै महिला उद्यमी तथा समाजसेवी रमा प्याकुरेलले तेस्रो संस्करणको सफलताको शुभकामना दिँदै पुरस्कारको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा समेत योगदान पुग्ने बताइन् ।
आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष ढुंगेलले पहिलो र दोस्रो संस्करणको कार्यक्रमको भव्य सफलता पश्चात आएका प्रतिक्रियाले आफूहरू थप उर्जावान भएर लागेको बताए । यस्तै, उनले यो अवार्डलाई नेपाल भित्र मात्र सीमित नराखी विश्वव्यापी बनाउने उद्देश्यका साथ आफूहरू लागि परेको र त्यसमा सफल भएरै छाड्ने दृढता व्यक्त गरे ।
पुरस्कार घोषणा कार्यक्रममा नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्रवक्ता डा. ज्ञानेन्द्र विक्रम शाह, एनप्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाइम्स स्क्वाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्टराई, लि डिभाइन, भारतका प्रमुख तथा इभेन्ट डाइरेक्टर पुनम कौशिक, अर्का भारतीय इभेन्ट व्यवस्थापक श्रुती सरल, पेजेन्ट नेपालका प्रमुख राज लुइककटेल, शिक्षाविद् रमा प्याकुरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलाकार गोपाल ढकालले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies