मनोज साह/मध्यान्ह
रौतहट : रौतहटको मौलापुरमा भएको मधानी महोत्सवमा स्थानीय कलाकारहरुले आफूहरुलाई प्रस्तुतिका लागि अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मधानी महोत्सवमा प्रस्तुतिका लागि आयोजकले स्थानीय कलाकारलाई निमन्त्रणा गरेपनि कार्यक्रम अवधिभर अवसर नदिएको र अन्यलाई प्रथामिकता दिएकोप्रति उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
बारा कलैयाकी कलाकार किरण कुमारी साहले समाजिक सञ्जाल फेसबुकमार्फत मधानी महोत्सवमा स्थानीय कलाकारलाई विभेद गरेको भन्दै यो कार्य निन्दनीय भएको टिप्पणी गरेकी छन् । दर्शकको साथ, सहयोग र माया पाएको भन्दै उनले आफूलाई कार्यक्रममा निमन्त्रणा गरेर अवसर नदिएको र बेइज्जती गरेको बताइन् । मधानी महोत्सवको आयोजक पक्षबाट फोन आएपछि कार्यक्रम स्थलमा पुगेको र आयोजकले नै बदनाम गराएको उनको आरोप छ ।
आफनो प्रस्तुति देखाउनका लागि तयारी अवस्थामा रहेपनि आयोजकले बेवास्ता गरेपछि त्यहाँ उपस्थित दर्शक पनि निराश भएको उनले दाबी गरिन् । सो महोत्सवमा पटक-पटक एकै व्यक्तिलाई मात्र अवसर दिएकाले अयोजकको व्यवहार नै आपत्तिपूर्ण रहेको कलाकार साहको भनाइ छ ।
आयोजक निकटका कलाकारलाई मात्र अवसर दिने हो भने आफूलाई किन बोलाएको भन्दै उनले प्रश्न गरेकी छन् । उनले त्यहाँ उपस्थित अन्य स्थानीय कलाकारको पनि अपमान भएको बताइन् । मधानी महोत्सवमा उपस्थित दर्शकले आफ्नो प्रस्तुति हेर्न चाहेको र बारम्बार सोधेको पनि उनले उल्लेख गरिन् । अहिले कलाकार साहले दिएको अभिव्यक्ति समाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।
अर्कोतर्फ मधानी महोत्सवमा सुनिल पण्डितको गीत सुनेर दर्शकहरुले कान थुनेका थिए । भोजपुरी गीत 'माईरे हाम्रा उहे लड्की चाहिँ माहिरे' पण्डितले चर्को स्वरमा गाएपछि उनको आवाज सुनेर दर्शकहरू कान नै थुनेर बस्नुपरेको थियो । गायक पण्डित गीत गाउन थालेपछि दर्शकहरूले खासै उनीतिर ध्यान नदिएको सहभागीहरूले बताएका छन् ।
महाशिवरात्रिको अवसर पारेर हरेक वर्ष मौलापुरमा मधानी महोत्सव हुँदै आएको छ । यस वर्षको महोत्सवमा बलिउड अभिनेता गोविन्दा अहुजा, भोजपुरी नायिका निलम गिरी, नेपाली अभिनेता पल साह, नेपाली कलाकार रचना सिवाकोटी, प्रिति पासवानलगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies