सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा आयोजित जिल्ला पालिका कप २०८० को पहिलो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा सदरमुकाम गौर नगरपालिका र यमुनामाई गाउँपालिकाले विजयी शुरुवात गरेका छन् । मौलापुर नगरपालिकालाई हराउँदै गौर तथा परोहा नगरपालिकालाई हराउँदै यमुनामाईले जित निकालेका हुन् ।
पालिकाहरुको सहयोग तथा रौतहट क्रिकेट संघको आयोजनामा राइस मिल्सको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।
मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गौरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको थियो । गौरका लागि क्याप्टेन सन्नी साहले ६० बलमा ८ चौका र ७ छक्काको सहयोगमा अविजित १०७ रनको शतकीय इनिङ खेले । राज पटेलले १७ तथा रबी साहले २१ रन बनाए ।
यता १६१ रनको लक्ष्य पछ्याएको मौलापुर १२४ रनमा सीमित रहँदै ३६ रनले पराजित भयो । मौलापुरको ओपनिङ साझेदारी ५१ रनको भएको थियो । त्यसपछि विकेट जाने क्रम शुरु भएपछि मौलापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्रै बनाउन सक्यो । मौलापुरका रोहित ठाकुरले ३१, रुपलाल यादवले २३ र राधेश्याम पटेलले २१ रन बनाए । गौरका लागि आशिक साहले ३ विकेट लिए । यस्तै सितेश तिवारी र रेहान जाकिरले समान २ विकेट लिँदा सन्नी साह र राजकुमार चौधरीले समान १–१ विकेट लिए । उक्त खेलमा म्यान अफ दि म्याच सन्नी साह चयन भए ।
यस्तै मंगलबार भएको पहिलो खेलमा यमुनामाईले परोहालाई ८ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको परोहा १८.३ ओभरमा ८२ रन बनाउँदै अलआउट भयो ।
८३ रनको लक्ष्य पछ्याएको यमुनामाईले ११.२ ओभरमा दुई विकेट गुमाउँदै ८५ रन बनायो । यमुनामाईका लागि अयान मुखिया अविजित रहँदै ३३ बलमा ३१ रन, प्रिन्स झाले १२ बलमा १७ रन, अरसद आलमले १२ बलमा १५ रन तथा डब्लु मल्लिकले १२ बलमा १७ रन बनाए । परोहाका विरालाल महतो र महम्मद जमालले समान एक–एक विकेट लिए ।
यमुनमाईको तर्फबाट रेहान आलमले ३.३ ओभरमा एक मेडन राख्दै १० रन दिएर ३ विकेट लिएका थिए । उक्त खेलमा आलम म्यान अफ दि म्याच चुनिएको रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेवालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies