मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताहरुसँग भेटे । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहितका नेताहरूसँग प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकार्यको प्रस्ताव राखे ।
नाउपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । तर कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपामा सांसदहरु मन्त्री छन् । संघीय सरकारलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई साथ दिएपछि नयाँ सत्ता गठबन्धनलाई यो प्रदेशमा सरकार बनाउनै कठिन भएको छ ।
यस्तो अवस्थामा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नाउपालाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नै लिने गरी सहकार्यको प्रस्ताव राखेका हुन् । सुदूरपश्चिममा नागरिक उन्मुक्तिको साथविना नयाँ गठबन्धनको सरकार बन्न संसदीय अंकगणित अपुग छ ।
सुदूरपश्चिम बाहेकका प्रदेशमा समेत नयाँ सत्ता गठबन्धनलाई प्रदेश सरकार हेरफेर गर्न सकस परेको छ । २१ फागुनमा संघमा नयाँ सरकार बने लगत्तै प्रदेश सरकार हेरफेर हुने चर्चाका बीच नयाँ गठबन्धन यसमा सफल हुन सकिरहेको छैन । नेताहरुका अनुसार संसदीय अंकगणित नमिल्दा सत्तारुढ गठबन्धनलाई प्रदेश सरकार हेरफेरमा सकस परेको हो ।
कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ । एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेता पनि यो प्रदेशमा कांग्रेसले सरकार परिवर्तनका लागि संवैधानिक समस्या रहेको भनी प्रश्न उठाएको छ । सरकार बन्ने अन्तिम विकल्पमा कांग्रेसका केदार कार्की नेतृत्वमा सरकार बनेको थियो । यो सरकार ढले अर्को सरकार बन्ने अवस्थाको संवैधानिक ब्याख्या दलहरुले आ–आफ्नै ढंगले गरिरहेका छन् । सत्ता दलहरु भने कोशीमा बहुमतको नयाँ सरकार बन्न सक्ने बताइरहेका छन् । मधेश प्रदेशमा शनिवार मात्रै एमाले सरकारमा सहभागी भएको छ । यसअघि सरकारमा रहेको कांग्रेस सरकारबाट बाहिरिएको छ ।
बागमती प्रदेशमा पनि नयाँ सरकार बनाउन केही मत आवश्यक रहेको भनी नयाँ गठबन्धनले दुई सिट रहेको हाम्रो नेपाली पार्टीको साथ खोजेको छ । यो पार्टीले साथ दिने संकेत नपाएपछि नयाँ गठबन्धनले तीन सिट रहेको नेपाल मजदुर किसान पार्टीको साथ खोजेको छ ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ । नयाँ सरकार बनाउन नयाँ गठबन्धनले पर्याप्त संसदीय अंकगणित जुटाउन सकिरहेको छैन । लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । नयाँ गठबन्धनलाई नयाँ सरकार बनाउन आवश्यक संख्या भएता पनि अन्य प्रदेशको भागवण्डा टुंगो नलागेका कारण यो प्रदेश सरकार हेरफेरको गृहकार्य अगाडि बढेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies