दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भ्रष्टाचारको फाइल अघि बढाउने दृढता देखाइरहेका छन् । तर उनलाई सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा भारी परिरहेको छ ।
शनिबार काठमाडौँमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि गृहमन्त्री लामिछाने भ्रष्टाचारको फाइलहरु अघि बढाउने दृढता देखाइरहँदा सहकारीको रकम अपचलनको आरोपमा आफू दोषी नरहेको प्रष्टीकरण दिइरहेका थिए । आफू कुनै सहकारीको संचालक नरहेको, सदस्य नरहेको र कतैबाट ऋण नलिएएको उनको प्रष्टीकरण छ ।
यस्तो विषयलाई लिएर आफूमाथि उठाइएको प्रश्नलाई उनी अरु विषय नभएपछि जबरजस्ती विवादमा तान्ने पर्यासको संज्ञा दिन्छन् । तर यस्तो प्रयासले आफू नगल्ने गृहमन्त्री लामिछानेको प्रतिवद्धता छ ।
भ्रष्टाचारीलाई माछाको विम्ब दिँदै उनले समात्ने क्रममा कतिपय माछा चिप्ला भएकाले समात्न नसकिने र बाठा माछा लुकिहाल्ने गरेको बताए । उनले प्रमुख प्रतिपक्षी कांग्रेसले आफूसँग नैतिकताको प्रश्न गर्न नसुहाउने पनि बताए । सहकारी ठगीको विषयमा आफूलाई जवाफ दिन नदिएको कांग्रेसले यसअघिको सरकारमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिलाई नै मन्त्री बनाएको भन्दै आफूतर्फ हेर्न उनले सुझाव दिए ।
‘अस्तिसम्म कांग्रेस अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो । आज कसैले दिएको बिना प्रमाणको उजुरीलाई लिएर राजीनामा मागिँदैछ । उही झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने सांसद नै मेरो राजीनामा माग्दै आएको देखिन्छ’ गृहमन्त्री लामिछानेले ।
सहकारीका विषयमा कांग्रेससँग खुला रुपमा बहस गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । ‘समितिमा र संसदमा बोल्न दिनुभएन । अब तपाईंले रोजेको स्थानमा तपाईंका छानिएका व्यक्तिहरू राखेर मलाई बोलाउनुहोला । म एक्लै आउँछु’ उनले भने ।
आफूसँग कांग्रेसले लिने बयान वा बहस काठमाडौ–४ मा गरिनुपर्ने पनि उनको माग छ । यो क्षेत्र कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो । यसअघि कांग्रेस महामन्त्री थापा सहितका नेपाली कांग्रेसका सांसदहरुले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए ।
राजीनामा नदिने भए संसदीय छानबिन समिति बनाउनुपर्ने भनी कांग्रेसले संसदमा लामिछानेको सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय छानबिन समितिको माग गरेको छ । तर कांग्रेसको यस मागमा सत्तारुढ दलहरु तयार भएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies