सुर्य प्रसाद भुसाल/मध्यान्ह
कपिलवस्तु : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकमा विषम परिस्थिति आए पनि अब कांग्रेसले कुनै पार्टीसँग मिलेर चुनाव नलड्ने बताएका छन् । महामन्त्री थापाले चुनाव भन्दा अगाडि कुनै पनि पार्टीसँग लसपस गर्ने, पदका लागि गठबन्धन गर्ने, पद साटासाट गर्ने समयको अन्त्य भएको दाबी गरे ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कपिलवस्तुले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस कोहीसँग मिलेर चुनाव नलड्ने बताउँदै भने, ‘चुनावभन्दा अगाडि गठबन्धन गर्ने जुन बाटोमा पार्टी गयो, त्यो ठूलो गल्ती थियो । त्यो कार्यले अहिले पार्टीमा पनि विकृति आयो । सिंगो पद्दतिमा पनि विकृति आयो ।’
महामन्त्री थापाले नेकपा एमालेले पनि कसैसँग मिलेर चुनाव नलड्ने संकेत देखा परेको बताउँदै त्यो कुरा इलामबाट शुरु भएको तर्क गरे । उनले राजनीतिमा झिना–मसिना खुद्रा पसल बन्द गराइनुपर्ने बताए । उनले भने, ‘नेपालमा दुई वटा पार्टी रहोस् । जुन पार्टीलाई जनताले विश्वास गर्छन्, त्यसले पाँच वर्ष सरकार चलाओस् र अर्को प्रतिपक्षमा थपक्क बसोस् । पाँच वर्ष थपक्क बस्ने प्रणाली भयो भने मिश्रित निर्वाचन प्रणाली पनि बस्छ । त्यसैगरी साना–साना दोकान बन्द गर्ने विषयमा कांग्रेसले आँट गर्नुपर्छ ।’
पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता थापाले कांग्रेसले आँट गरे महिला, दलित, जनजातिसहित सबैको प्रतिनिधित्व बढ्ने विश्वास व्यक्त गरे । उनले संविधान जोगाउनु र आम जनतामा भएको निराशा चिर्नुपर्ने आजको कर्म भएको उल्लेख गरे । उनले पार्टीभित्र एकताको आवश्यकता रहेकोमा जोड दिए । २०४८ सालको बहमुत प्राप्त गर्दा त्यसलाई थेग्न नसक्नु कमजोरी भएको भन्दै कमजोरी स्वीकार्दै त्यसलाई सच्याएर जानुपर्ने थापाको तर्क छ । २०४६ देखि २०५१ सालसम्म कांग्रेसले सरकार चलाउँदा जोखिम उठाएर विभिन्न दुर्दशी निर्णयहरु गरेको महामहान्त्री थापाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies