मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.वि.रामपुरविर्ता एसईई परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जन सेवा मा.वि.कर्जन्हाका (सिम्बोल नं ०१६०२०७३ इ) परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिइ परीक्षा दिइरहेका नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका वडा नं. ५ बस्ने अर्जुन महरा पक्राउ परेका हुन् ।
उनलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।
त्यस्तै सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ मा रहेको श्री जनता मा.वि. झिझौल कजरा एसईई परीक्षा केन्द्रमा प्रश्नपत्र आउट गर्ने एक जना पक्राउ परेका छन् । वडा नं. २ बस्ने विकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाइलबाट प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ई.प्र.का. महेशपुरपतार सिरहाले जनाएको छ ।
यस्तै एसईईको नेपाली विषयको परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको अवस्थामा सिरहाका विभिन्न परीक्षा केन्द्रहरुबाट परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गर्ने १ जना परीक्षार्थीलाई प्रहरी टोलीले नियन्त्रणमा लिनुका साथै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको एसईई परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १ सय २१ थान मोवाइल समेत नियन्त्रणमा लिएको छ । यस्तै अन्य २ जना परीक्षा निरीक्षकहरु समेतलाई जिम्मेवारीबाट हटाइ थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies