– लेखराज रेग्मी
तिमी आफूलाई एकान्तप्रिय भन्छौ
भजन मण्डलीमा नाचेको फोटो
जन्ती बाजामा छमछमी नाचेको फोटो
रेस्टुरेन्टको फेमिली वार्डमा गाँसेर
चार टेबुलमा पार्टी चलिरहेको फोटो
भो पोष्ट नगर तर, सक्दैनौ तिमी
तिम्रो गुरु र त्यही लायक छ नढाँट
तिमी कलाकार होइनौ थाहा छ तर
मस्किमस्कि नाच्ने बासी रहर छँदैछ
र त कोठामा एक्लै भ्यागुतो झैं उफ्रन्छौ
रहर दबाउन नसकेर पोष्ट गर्छौं
नढाँट रहर छैन भनेर तस्बिर बोलिरहन्छ
शालीन बन्न खोज या भद्रताको नक्कल
अफिसको कुर्सी होस् या चिया पसल
जब बोलाएर सहयोगी फोटो खिच्छौ
तिम्रो सबै कलाकारिता टाप ठोक्छ
तिमी जे होइनौ तस्बिर बन्दैन तिम्रो कोसिस
तिमी जे हौ त्यो त तस्बिर बोलिरहन्छ
मस्त निद्राका खर्राटा सपनाको हाँस्नु रुनु
छोराछोरीमा आडम्बर पैदा हुनु र सबै
हो तस्बिर जस्तै हुन् यी सबै कुरा
त्यागी भन र भोगी वन तस्बिर बोल्छ
देशभक्त भन र राष्ट्रघात गर तस्बिर बोल्छ
महान चिन्तक जस्तै देखिन ठिङ्ग उभिएर
बुख्याँचा जस्तै दृढताको बखान गर
खोक्रो दिमाग र कायर पन तस्विर बोल्छ
हो बुख्याँचा डराउँदैन ज्यान छैन लालच पनि
त्यही ज्यान र लालच जो तिमीसँग छ त्यसैले
तिमी लाछी छौं कायर छौं उभन्दा कमजोर
उ पनि तस्बिर जस्तै हो उ आफै बोल्छ
म त महान सम्झन्छु महान देख्छु र भन्छु पनि
म त आफ्नो भाग्य तिम्रो मुहारमा हेर्न चाहन्छु
र त बारबार खोजिरहन्छु तिम्रो मुहार–सञ्जालमा
खिसी गर्दै मेरा विश्वासहरू तिम्रो तस्बिर बोल्छ
भ्रमित हुन चाहन्छ मन तर, जिस्काई रहन्छ उ
जिस्काउँदै मेरो विश्वासलाई मनसँग जिस्किदै
जब तस्बिरहरू बोलिरहन्छन् तिम्रो सत्य
के बाँकी रहन्छ भन मेरो उजाड संसारभित्र ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies