–रसुवाली कवि
कवितालाई विचार र कलाको बहसलाई टाढा राख्न सकिँदैन । एकाथरी भन्छन्– कविता भनेको बिम्ब, प्रतीकमा भनिने कलात्मकता हो । अर्कोथरी भन्छन्– यो विचारको रिलेदौड मात्र हो । बहसबिच पनि कविता आफैंमा कला र विचारको लयदार जुँइनो बन्नबाट चुकिरहेको छ ।
प्रगतिशील कित्तामा नारा लेख्नेहरू बढिरहेका छन् भन्ने आरोप निराधार लाग्दैन । जसरी कलावादीहरू कवितालाई उत्तर आधुनिक बजारको मालवस्तु बनाउन लालायित छन्, उसैगरी प्रगतिशीलहरू पनि लाल शासकहरूलाई खुशी बनाउन कविता लेखिरहेका छन् । कविताहरू आकार–आकारका राजनीतिक नेताहरूको स्वार्थमा बाँडिनु दुःख लाग्दो कुरा हो । कविता लेख्नेहरूले कविताको वैचारिक गोरेटो पनि खन्नु नै पर्ने बेला हो ।
नेताहरूले आफ्नो स्वार्थका कविता फलाक्नु नेताहरूका लागि शोभनीय छैन । खासका शासकको आदर्शमा कविता पर्दैन । उनीहरू प्रायः प्लेटोसँग सहमत हुन्छन् । शासकहरू संसदमा कविता सुनाइरहेका छन् । मजदुरहरू पनि हाट बजारमा कविता सुनाइरहेका छन् । समालोचकहरू पनि कविताको समालोचना गरिरहेका छन् । कविताको बजार फराकिलो भएको छ ।
माओवादी जनयुद्धकाल कहिले कलाकारको भूमिकामा कहिले छापामारको भूमिका रहँदै निरन्तर सांस्कृतिक आन्दोलनमा रहेका कुशल बोगटी प्रगतिशिल कित्ताका एक जना उल्लेखनीय लेखक प्रतिभा हुन् । शान्ति प्रक्रियाका दिनहरूमा विद्रोही कित्तामा रहेका कुशलले २०६५ सालमै ‘श्रीपेचको चिहानमा उभिएर’ कविता संग्रह बजारमा ल्याएका थिए । जनयुद्धको सौन्दर्यलाई ती कविताहरूले सम्बोधन गरेका थिए । अहिले कुशलको दोस्रो कविता संग्रह बजारमा आएको छ, ‘विद्रोहको गीत’ । यो कविता संग्रह माओवादी आन्दोलनको एउटा कित्ताको आत्मसमर्पण र वैचारिक स्खलनको विरुद्ध रहेको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध गरेपछि आक्रोशित कवि कुशलले राज्यसत्ताको क्रूरताविरुद्ध आफ्ना कविताहरूलाई उभ्याएका छन् ।
निःसर्त कुशलका कविताहरू राजनीतिक हुन् । कवितामा आउने नारातत्व छ, जसबाट पनि कुशल कविताहरू मुक्त छैनन् । कुशलका कविताले बामपन्थी आन्दोलनको पछिल्लो मनोदशा उजागर गरेको अनुभुति भएको छ ।
कवितामा कलात्मक नारा नै हो । तर, कविता कुनै अमुक पार्टीको नारा हुनबाट जोगिनुपर्छ । किनकि यो किनबेच र होहल्लाको युगमा नेता र राजनीतिक पार्टीको आयु क्षणिक हुन्छ । कविताको आयु त्योभन्दा केही बढी हुन्छ । मान्नुस् त्यो सामान्य कविता नै किन नहुन् ।
कुशलका कविताले इंगित गरे जस्तै कहिलेकाहीँ आदर्श मानेको नेता नै सुन तस्कर भइदिन सक्छ । कवितालाई सुन तस्करको पक्षधरता उम्काउनु पर्छ । कुशलले आफ्नो पक्षधरतालाई सरलरूपमा भनेका छन्– शोषण छ, अन्याय छ, भेदभाव छ र क्रान्ति जारी छ । कुशल बोगटीका यी प्रतिनिधि कविताहरू निरन्तर क्रान्तिको पक्षमा छन् ।
जसरी एकै मोर्चा लडेर आएका कमरेडहरूले मोर्चा फेरे, जसरी शहरी आत्मसमर्पणलाई मन–मनमा विद्रोह र मुख–मुखमा संविधानसभा भनियो, जसरी युद्धनायकले हठात् आफ्नो जुँगा पत्तीले खुइल्याए, जसरी सिंहदरबारलाई रंग लगाएर भनियो, यो रातो छ भनियो, आजको प्रश्न कविताहरूले नै गरेका छन् । त्यो प्रश्न कवि कुशल बोगटीले पनि गरेका छन् ।
कामरेडले सोध्नुहुन्छ
तपाईंको थर कुन हो ?
कामरेडले सोध्नुहुन्छ
तपाईंको घर कहाँ हो ?
म जब भन्छु, कुशल सार्की
म जब भन्छु, सुकुम्बासी टोलको ठेगाना
कमरेड तर्सिनुहुन्छ
र, भन्नुहुन्छ फेरि भेटौला
(कुशल बोगटी, विद्रोहको गीत, पेज ८६, तपाईं अझै कविता लेख्नुहुन्छ ?)
आजकाल कमरेडहरू वर्ग च्यूूत भएका छन् । उनी आफ्नो साँघुरो वैचारिकमा गुडमा लुकेका छन् । जग्गा दलाल, सेयर बजारको खेलाडी वा मन्त्रालय बिचौलियाहरूसँग उनीहरू नित्य उठबस हुने गर्छन् । उनीहरू यसैलाई समाजवाद भनिरहेका छन् । एक कित्ताका मानिसहरू यहीँ दक्षिणपन्थी हावाको बगाइमा अल्झेर गजल कोरिरहेका छन् । एकाथरी मानिसहरू भनिरहेका छन्, यिनीहरूले कविता लेख्न कहाँ सक्छन् र ? कुशलका कविताले यो दलदलमा उक्किन अनुरोध गरेका छन् । क्रान्ति मरेको छैन भन्ने उनको सन्देश रहेको छ ।
जरूर मरेको छैन भने
तिमीसँग दौड जित्ने अभिलाषा
जरूर मरेको छैन भने
तिमीसँग शोषणको पर्खाल ढाल्ने संकल्प
हेर क्रान्ति मरेको छैन
(कुशल बोगटी, विद्रोहको गीत, पेज ९९, क्रान्ति मरेको छैन)
कविताले प्रश्नहरूलाई जोगाउनुपर्छ भनिन्छ । कविताले आफ्नो वर्गको चेतनालाई रक्षा गर्नुपर्छ भनिन्छ । कहिलेकाहीँ यो अभिलाषाबाट लेख्नेहरूको कलम थाक्छ । त्यहीँ बेला प्रगतिशील कविताको मूल्य स्थापना हुन्छ । कुशल प्रयत्न त्यतातिर गएको देखिन्छ । तर, यो पूूर्ण भने छैन ।
पूूर्वीय काव्यशास्त्रका आचार्य भरतले नाट्य शास्त्रको कल्पना गरेका छन् । उनले पूरै साहित्यलाई नवरसमा वर्गीकरण गरेका थिए । प्रारम्भमा भक्तीरसमा लेखिएका साहित्यले विश्व साहित्यमै महत्वपूर्ण भूमिका खेल्यो । जति पूर्वीय धार्मिक कथाहरू छन्, तिनका मूल भाव भक्तिरसमा नै आधारित छन् । भक्ति रसपछि धेरै लेखिएको श्रृंगारिक रस हो ।
आजको दिनमा भक्ति रसमै साहित्य लेख्नु हुँदैन, बहस जरुर छ । आजको कला÷साहित्यको वैचारिकतामाथि प्रगतिशील (प्रगतिवादी) समालोचकहरू खेम थपलिया, अशोक सुवेदी, भगवानचन्द्र ज्ञवाली, ऋषिराज बरालहरूले यथेष्ट बहस गर्न जरुर छ । गोविन्दराज भट्टराई र कृष्ण गौतमहरूले मोटा किताबहरू नै प्रकाशित गरिरहेका छन् ।
कुशल कवितामा बोल्छन् –
हजारौं बाङ्गा–टिङ्गा गोरेटाहरू
हजारौं उतार–चढावबाट
अन्तिम घुम्ती
पुग्नु छ
र विजयको झन्डा फहराउनुछ
(कुशल बोगटी, विद्रोहको गीत, पेज ९८, घुम्तीहरू)
साहित्यमा उत्तरआधुनिकतावादको तिव्र प्रयोग भइरहेको छ । यस्ले साहित्यका संरचनागत मान्यतालाई भत्काएको पनि छ । तर, साहित्यको जुन महान् लक्ष्य हुन्छ, त्यहाँ उत्तर आधुनिकहरू निरपेक्ष भइदिन खोज्छन् । उत्तर आधुनिकहरू यहीँनेरबाट साहित्यिक दुर्घटनामा फस्छन् ।
साहित्य समाजको आर्थिक बिषमताबाट निरपेक्ष बन्न सक्दैन, आर्थिक अनमेलबाट टाढा रहन सक्दैन । साहित्य सोमरसको तालमा लेखिँदैन ।
साहित्यलाई सुकिला मुकिलाहरूको मुकामबाट जनताको झुपडीसम्म ल्याउने काम जनपक्षीय लेखक श्रष्टाहरूको हो । यसमा कविहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । आजको वैचारिक प्रदुषणविरुद्ध साच्चै प्रतिरोध साहित्य लेख्न असजिलो छ । कुशलहरूले जुन प्रयत्न गरेका छन्, त्यो प्रसंशा गर्न लायक छ ।
सहरभरी क्रान्तिको विगुल फुक्ने
महान् योद्धा पनि फेरिएको छ मुसामा
र आत्महत्याका लागि खोजिरहेको छ समुद्र
(कुशल बोगटी, विद्रोहको गीत, पेज ५०, मुसाहरू)
प्रतीकको हिसाबले मुसाहरू शीर्षकको कविता यो संग्रहमा रहेको कवितामध्ये अब्बल लाग्छ । लेमिङ सिन्ड्रोमग्रस्त मुसाहरू जसरी मृत्युका निम्ति समुद्र खोज्छन्, शहर पसेका क्रान्तिकारीहरू पनि त्यस्तै मनोदशामा गुज्रिएको कविताको भाव रहेको छ । यो प्रतीक हिसाबले निकै सशक्त कविता हो । अरू केही कविताहरूमा पनि उल्लेखनीय प्रतीकहरूको प्रयोग गरिएको छ ।
विद्रोहको गीत पढिरहँदा पछिल्लो दशकको कम्युनिस्ट आन्दोलनको तस्वीर आँखाभरी नाँच्छ । क्रान्तिबाट विचलित हुनु हुँदैन भन्ने कविको चेतनाले तपाईंलाई पनि छुन्छ । केही कविताहरू भने कवि आबद्ध राजनीतिक दलको आवाज जस्ता पनि लाग्छन् । राजनीतिक कविताको आफ्नै स्थान छ । कविको पक्षधरतालाई पनि सम्मान नै गर्नुपर्छ । पक्षधरता हुनु राम्रो कुरा हो । कुशल बोगटीकृत ‘विद्रोहको गीत’ आजको पुस्ताले पढ्नुपर्ने एक वैचारिक कविता संग्रह हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies