शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीका अगुवा कार्यकर्ता यतिबेला पढाइमा व्यस्त देखिन्छन् । पार्टीले प्रत्येक पालिकामा दुई दिने सैद्धान्तिक प्रशिक्षण सञ्चालन गरेपछि जिल्लाका १५ सय बढी अगुवा कार्यकर्ता पढ्नमा व्यस्त भएका हुन् ।
प्रशिक्षणमा ६० कटेका अनुभवी कार्यकर्तादेखि १८ वर्ष पुगेका नौ जवान युवाकार्यकर्ता समेत एकैठाउँ बसेर तालिम लिइ रहेका छन् । एमाले जिल्ला स्कूल विभागद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रम शीतगंगा, मालारानी, पाणिनी र भूमिकास्थानमा सम्पन्न भइसकेको छ भने छत्रदेव गाउँपालिका र सन्धिखर्क नगरपालिकामा प्रशिक्षण गर्ने तयारी छ ।
जिल्ला कमिटी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख पीताम्बर भुसालले महाधिवेशनबाट पारित सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केवी भुसालले वर्ग समाजको वर्गीय चरित्र र वर्ग पक्षधरता, जिल्ला सचिव तोजबहादुर रायमाझीले वर्तमान राजनीतिक प्रणाली, पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेलले समाज, राज्य र कम्युनिष्ट पार्टी, कार्यालय सचिव लिलबहादुर वि.क.ले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा र उद्यमशीलताका बारेमा प्रशिक्षण दिएका थिए ।
यस्तै पाणिनी गाउँपालिका कमिटीका अध्यक्ष तथा पार्टी स्कुल विभाग उपप्रमुख कमल घिमिरेले राजनीतिक शब्द परिचय, एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले संगठन, पार्टी सदस्यता, कम्युनिष्ट शैली पद्धती र अनुशासन, नगर सचिव कुशल भुसालले प्रविधिको प्रयोग र स्कुल विभाग सदस्य विष्णु पोख्रेलले राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका सहभागीले निकै चासोका साथ तालिममा सहभागीता जनाएका थिए । प्रशिक्षणले कार्यकर्तामा जिज्ञासा जगाएको, पढ्नुपर्छ, जान्नुपर्छ भन्ने भाव पैदा गरेको र समग्रतामा सैद्धान्तिक निखारताको निम्ति प्रेरित गरेको सहभागीहरुको भनाइ छ । प्रशिक्षण कार्यक्रम वडा र टोल कमिटीसम्म सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
प्रशिक्षणमा एमाले पालिका कमिटीका सदस्य, पालिकाभित्रका सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधि, वडा पदाधिकारी तथा जनसंगठनका पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो । प्रशिक्षणपछि कार्यकर्ताले वैचारिक बहस गर्न थालेको जनप्रतिनिधिमा थप जिम्मेवारी बोध भएको एक सहभागीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies