दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटावार्ता भएको छ ।
भेटमा प्रदेश सरकार हेरफेरबारे छलफल भएको छ । छलफलमा एकीकृत समाजवादीले सात मध्ये कुनै एक प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने अडान राखेको छ । आलोपालोमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने अवस्था आउने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । नागरिक उन्मुक्ति पार्टीलाई पहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले बागमती प्रदेश सरकारको नेतृत्वमा आफूहरुको चाहना रहेको बताएका छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । तर बालुवाटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भागबण्डा प्रष्ट नभए सरकारमा नबस्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सत्ताघटक एमालेका अध्यक्ष ओलीलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रदेश सरकार हेरफेर अगाडि भागवण्डामा आफूहरुले के पाउनेबारे प्रष्ट हुनुपर्ने शर्त राखेका हुन् । अन्यथा, विश्वासको मत नदिने माधव नेपालको चेतावनी छ ।
शीर्ष नेताहरुको भेटपछि आइतबार नै बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको चेतावनीका बीच सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् । ११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५५ मत सत्ता गठबन्धनसँग छ ।
राप्रपासँग सभामुखबाहेक १३ सांसद छन् । राप्रपाले एमाले–माओवादी गठबन्धन सरकारलाई साथ नदिने भनेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग ३ सांसद छन् । नेमकिपाले कुनै निर्णय लिएको छैन । ३७ सिट रहेको कांग्रेस मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत पुग्न नदिएर वैकल्पिक सरकार गठनको कसरतमा छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन नसके दुई वा दुई भन्दा बढी दलकै सरकारका लागि पुनः आह्वान हुन सक्छ । यस्तोमा बहुमत पु¥याउन नसके संविधानको धारा १६८(३) अनुसार सब भन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता स्वतः मुख्यमन्त्री नियुक्त हुन्छन् । कांग्रेस यही अवस्थाको पखाईमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies