दलहरुले प्रतिष्ठाको विषय मानेको इलाम–२ र बझाङ (क) को उपचुनावका लागि प्रतिस्पर्धीहरुको लगभग टुंगो लागेको छ । प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेद्वार टुंगो लगाएसँगै प्रतिस्पर्धीहरुको टुंगो लागेको हो । अरु दलहरुले यसअघि नै उम्मेद्वार तय गरिसकेका थिए । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाले दुवै ठाउँमा आफ्नो उम्मेद्वार उठाएको छ । माओवादी केन्द्रले एमालेकै उम्मेद्वारलाई समर्थन गरेको छ भने रास्वपाले बुझाङमा हुने प्रदेशसभाको चुनावमा भाग नलिने निर्णय गरेको छ । तर इलाममा हुने प्रतिनिधिसभाको उपचुनावलाई भने रास्वपाले आफ्नो आकर्षण कायमै रहेको सन्देश दिनेगरी प्रतिष्ठाकै विषय बनाएको छ । जसरी पनि चुनाव जित्न रास्वपाले मतदाताहरुबीच सर्वेक्षण गराएर माओवादी पृष्ठभूमिका व्यक्ति उम्मेद्वार बनाएको छ । पहिचान पक्षधरहरुले पनि इलामको चुनावलाई प्रतिष्ठाकै विषय बनाएका छन् ।
प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाएर एक वर्षदेखि आन्दोलनरत पहिचान पक्षधरले यो उपचुनावलाई अन्तिम लडाईंकै संज्ञा दिएको छ । उनीहरुले बुधबार चुनावी सभा गरेर उपचुनावबाट एउटा सन्देश दिनुपर्ने घोषणा गरेका छन् । सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफै सहभागी भएर सभा गरेका छन् । कांग्रेस र एमाले त्यसैपनि मुख्य प्रतिस्पर्धी शक्ति भइहाले । यसको अर्थ दलहरुले यो उपचुनावलाई लोकतन्त्रको नियमित प्रक्रिया मात्रै मानेका छैनन् । हरेक दलले प्रतिष्ठाको विषय बनाएको प्रष्ट हुन्छ ।
यसको अर्थ अब मतदाताले पनि आफ्नो निर्णय दिनुपर्नेछ । कांग्रेस र एमालेले आफूलाई मुलुकको निर्विकल्प शक्ति ठान्नु अनि अरु शक्तिले आफ्नो एजेण्डा स्थापित गराउने अवसर मान्नु उनीहरुको अधिकारकै कुरा भयो । पहिचान पक्षधरले आफ्नो एजेण्डा अनुमोदन हुँदा त्यसको दबाव कांग्रेस–एमालेलाई पार्न चाहेका छन् । रास्वपा, जनमत र राप्रपाले आफ्नो आकर्षण स्थापित गराउन खोजेका छन् । तर मतदाताले आफ्नो विवेक प्रयोग गर्नुपर्नेछ । स्थानीय एजेण्डालाई राष्ट्रिय राजनीतिले कसरी सम्बोधन गरिरहेको छ भन्ने मतदाताले सन्देश दिनुपर्नेछ । इलाम र बझाङको जनताले दिएको सन्देशलाई राष्ट्रिय राजनीतिको साझा मानकका रुपमा स्वीकार्ने परिस्थिति बन्नुपर्नेछ । सँगै, मतदाता बिक्री हुन्छन् र एजेण्डा बुझ्दैनन् जस्ता प्रचारको समेत खण्डन यो उपचुनावले गर्नुपर्नेछ । यी सव कामका लागि अब धेरै समय बाँकी छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies