शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको महराजगञ्जमा अवध जागरण मिडिया प्रा.लि.को आयोजना तथा महराजगञ्ज नगरपालिका वडा नं. ३ को सहयोगमा अवधी लोक गीत–संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य तथा विशिष्ट अतिथिमा महराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खांलगायत रहेका थिए ।
महराजगञ्ज नगरपालिका वडा नं ३ जमुनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री आचार्यले अवधी लोक गीत–संगीत संरक्षण गर्नुपर्ने बताए । लुम्बिनीमा भाषाको रुपमा प्रयोग हुने अवधी भाषा दोस्रो स्थानमा रहेको बताए । अवधी लोक गीत–संगीत संरक्षण कार्यक्रमका आयोजक तथा कार्यक्रममा उपस्थित भएका सबै कलाकार, दर्शकहरुलाई उनले धन्यवाद दिए । आउने दिनमा पनि आफ्नो संस्कृतिलाई जोगाउनका निम्ति यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको पूर्वमन्त्री आचार्यले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख खांले अवधी भाषा तथा लोकगीत संगीत संरक्षणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताए । खांले अवधी भाषामा सम्बोधन गर्दै भने, ‘अवधी भाषा कय हम संरक्षण करब, आप सबलोग साथ दिहा जाय ।’ नगरप्रमुख खांले अवधी भाषा संरक्षण गर्न नगरपालिका तत्पर रहेको बताए ।
नेपाल अवधी पत्रकार संघ कपिलवस्तुका अध्यक्ष तथा अवध जागरण मिडिया प्रा.लि.का अध्यक्ष निरहु यादवले भाषा आयोगले निर्धारण गरेको नीति स्थानीय तहले अवलम्बन गर्नुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘स्थानीय तहले भाषासम्बन्धी नीति नबनाएर चलनचल्तीमा अवधी भाषा प्रयोगमा नआउँदा जनप्रतिनिधिबाट नै हामी ठगिएका छौं ।’
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले अवधी भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा त्यस क्षेत्रका स्थानीय अवधी भाषी कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेको अवध जागरण मिडियाका अध्यक्ष यादवले जानकारी दिए । स्थानीय कलाकारहरुले धोबियवा, कहरवा, फगुवा, चैता, कजरी, सोहर, विवाहलगायतका गीत गाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies