विवादित व्यावसायी दुर्गा प्रसाईं राजसंस्था पुनस्र्थापना गर्ने घोषणा सहित देशब्यापी अभियान चलाइरहेका छन् । गत वर्ष १ फागुनमा पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार नै झापामा आयोजित सभामा लगेर उनले राजसंस्था पुनस्र्थापना गर्ने घोषणा गरेका थिए । त्यो अभियान अन्तर्गत राजधानी उपत्यका सहित देशका विभिन्न ठाउँमा सभा गर्दै प्रसाईं घुमिरहेका छन् । उनको अभियानकै कारण प्रमुख दलहरू एक हदसम्म हच्चिएका देखिन्छन् । सामाजिक सञ्जालमा कडाईं गर्नेदेखि १२ बुँदे पक्षधर दलहरुको बैठक बस्नु त्यसैको प्रमाण हुन् । राजनीति भनेको शक्ति संघर्ष भएकाले उनको अभियानप्रति आपत्ति जनाउनुपर्ने ठूलो कारण देखिदैन । किनकि संविधानले जनतालाई सार्वभौम भनेको छ । यसको अर्थ जनताले चाहे बमोजिमको व्यवस्था मुलुकमा कायम हुन सक्छ ।
त्यसैले वर्तमान व्यवस्थाप्रति नागरिकलाई फरक मत राख्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । यदि अहिलेको व्यवस्था जोगाउने हो भने त्यसका पक्षधर शक्तिहरुले जनतालाई मनाउन आवश्यक छ । गणतान्त्रिक शक्तिहरुको शैली र प्रस्तावप्रति जनता सहमत रहेसम्म अहिलेको प्रणाली कायम रहन सक्छन् । अर्थात् प्रसाईंलाई राजतन्त्र फर्काउने अभियान चलाउने अधिकार संविधानले दिएको छ । राप्रपाले राजतन्त्रकै एजेण्डा लिएर आमचुनावमा सहभागी हुँदै आएको छ । जनमत पाएर गणतन्त्र नेपालको सरकारमा सहभागी हुनु नौलो कुरा होइन । त्यसैले प्रसाईंलाई स्वतन्त्रपूर्वक अभियान चलाउने अधिकार छ । तर प्रसाईंका कतिपय अभिव्यक्ति र गतिविधि निन्दनीय छ । कुनै निश्चित व्यावसायिक घरनाको नामै लिएर देश निकाला गर्नुपर्ने जस्तो आपत्तिजनक अभियान प्रसाईंले चलाइरहेका छन् ।
केही दिन अगाडि आधुनिक हतियार सहित प्रसाईं घुमिरहेको तथ्य सार्वजनिक भएको थियो । सर्वोच्च अदालतको परिसर जस्तो संवेदनशील क्षेत्रमा आधुनिक हतियार बोकेका नीजि सुरक्षा लिएर उनी पुगेका थिए । प्रहरीले ती हतियार नियन्त्रणमा लिएपछि प्रमुख दलका नेताहरुप्रति निन्दनीय अभिव्यक्ति दिइरहेका छन् । बल प्रयोगलाई प्रोत्साहन गरिहेका छन् । बैंक तथा वित्तीय संस्थाप्रति अविश्वास फैलाउने काम गरिरहेका छन् । तर उनका समर्थक भड्किन सक्ने भयका कारण सरकारले उनीमाथि कुनै कानूनी कार्बाही चलाएको देखिदैन । जबकी उनले दिएका अभिव्यक्ति र गतिविधिले साम्प्रदायिक भड्काव ल्याउने मात्रै नभएर समानान्तर सत्ताको अभ्यास गरिरहेको देखिन्छ । प्रसाईंलाई पक्कैपनि राजनीतिक अधिकार छ, त्यस्तो अधिकार उपयोग शान्तिपूर्ण विधिबाट गरिनुपर्छ । सत्तामा पनि उनी पुग्न सक्छन् र हिंसामार्फत् होइन । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies