राजधानी उपत्यकामा नागरिकले सास्ती खेप्नु परेको भिडियो सामाजिक सञ्जालमा एकपछि अर्को भाइरल हुने गरेको छ । शनिबार त्यस्तै अर्को भिडियो सामाजिक सञ्जालमा राखेर नेपाल प्रहरीको चर्को विरोध भइरहेको छ । भिडियोमा देखिए अनुसार बौद्ध भिक्षुमाथि प्रहरीले दुव्र्यवहार गरेका छन् । बाटोमा हिडिरहेको ती भिक्षुलाई प्रहरीको समूहले खेद्नेसँगै कुटपिट गरेका छन् । शनिबार राजेन्द्र महतो नेतृत्वको समूहले राजधानीमा प्रदर्शन गरेको थियो । उक्त समूहको प्रदर्शनमाथि हस्तक्षेप गर्ने क्रममा प्रहरीले ती भिक्षुमाथि पनि कुटपिट गरे । कुटपिटको भिडियोले नेपाल प्रहरीप्रति आम नागरिकको धारणा नकारात्मक बन्न पुगेको छ । प्रहरीले प्रदर्शनकारी र भिक्षुमाथि हस्तक्षेप गर्नुमा भने सरकारको नीति कारण हो । सरकारले राजधानी उपत्यकाका प्रमुख स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । उक्त क्षेत्र परिसरमा प्रदर्शन हुँदा प्रहरीले हस्तक्षेप गर्दै आएको छ ।
गत ५ मंसिरदेखि स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वर हुँदै सिंहदरबार परिसर, राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास वरिपरी निषेधाज्ञा लगाउँदै आएको छ । निषेधाज्ञाका क्रममा सरकारकै मन्त्री समेत पक्राउ परेका थिए । जनमत पार्टी सरकारमा हुँदा उक्त पार्टीका अध्यक्ष सिके राउत र सामान्य प्रशासन मन्त्री अनितादेवी गिरफ्तारमा परेका थिए । नागरिक समाज र आमनागरिकलाई लगातार निषेधाज्ञा क्षेत्रबाट गिरफ्तार गर्दै आएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्ने जोकोहीलाई नियन्त्रण गर्ने क्रममा शनिबार पनि प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप भयो । ती भिक्षु कुटिए ।
जबकी लोकतन्त्रमा सडक सधैं नागरिकका निम्ति खुला हुनुपर्छ । सरकारले सुन्ने ठाउँमा उभिएर नागरिकले आफ्नो कुरा सुनाउने अधिकार संविधानमा सुनिश्चित गरेको हुन्छ । नेपालको संविधान २०७२ ले पनि नागरिकलाई मुलुकको सार्वभौम अधिकार दिइएको छ । अर्थात् सत्ता निर्माणको अधिकार मात्रै नभएर शासन प्रणाली चयन गर्ने अधिकार पनि जनतामा निहीत छ । तर सरकारले नागरिकका आधारभूत अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने नीति अख्तियार गरेको छ । संघीय सरकारको सिको गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथमा कडाइ गरिरहेका छन् । महानगरका प्रहरी लगाएर साना ब्यावसायीमाथि कडाइ गर्दै आएको छ । शान्ति वाटिकामा प्रर्दशन गर्न रोक लगाएका छन् । यसको अर्थ ती भिक्षु कुटिनु कुनै अलग्गै घटना होइनन् । नागरिकमाथि दमन भइरहेको एक दृष्टान्त मात्र हुन् । केही समय अगाडि फुटपाथमा डोरी टाँग्ने सरकारको निर्णयकै निरन्तरता हो । अर्थात् भिक्षु कुटिनु लोकतन्त्रमाथि खतरा कायम रहेको संकेत हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies