काठमाडौं : नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८औं केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरुमध्येबाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रीय समिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै संघका सात वटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितिले मनोनीत गर्नेछ ।
संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कूल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies