संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अवरोध गर्न थालेको एक महिना नाघेको छ । गत २१ फागुनमा सत्ता समीकरण फेरिएसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो । प्रतिपक्षी भूमिकामा धकेलिदै गर्दा कांग्रेसले संसद् सञ्चालनमा सजिलो नपार्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित मन्त्रीहरु हटाउन कांग्रेस तयार नभएकाले सत्ता समीकरण फेर्नु परेको तर्क गरेका थिए । त्यही तर्कलाई आधार मानेर कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिने नीति लियो । सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न भएकाले पदबाट राजीनामा दिइनुपर्ने कांग्रेसको सुरुवाती अडान थियो । तर राजीनाको साटो कांग्रेसले भाषा फेरेर छानबीन आयोग गठनको माग राखिरहेको छ । रास्वपा सभापति एवं गृहमन्त्री लामिछाने र सत्तारुढ नेताहरु भने कांग्रेसको माग पूरा गर्न तयार छैनन् ।
सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध हटाउन पहल गरिरहेपनि कांग्रेस अडानबाट पछि हटेको छैन । संसदीय समिति नभएर स्वतन्त्र आयोगकै अडानमा कांग्रेस अडिग छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा पनि कांग्रेसले आयोग गठनकै अडान लिए । त्यसको विकल्पमा सत्तारुढ पक्षबाट भने गृहमन्त्री लामिछाने संलग्न भएको भनिएको मात्रै नभएर समग्र सहकारीकै समस्याहरुमाथि छानबीन गर्ने आयोगको प्रस्ताव भएको थियो । सत्तारुढले राखेको प्रस्ताव अनुसार आयोग बने भने देशभरका सबै सहकारीहरुको समस्यामाथि छानबीन हुनेछ । त्यसमा गृहमन्त्री लामिछाने मात्र नभएर अरु दलका नेताहरुमाथि समेत छानबीन हुन सक्छ ।
तर सत्तारुढको यस्तो प्रस्तावमाथि तयार नभएको कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभा चल्न दिएन । कांग्रेसले अडान नछोडेपछि सभामुख बैठक स्थगित गर्ने र अर्को बैठकको मिति तोक्ने नियतिमा बाँधिन पुगेका छन् । तर दुवै पक्ष अडानबाट पछि हट्न तयार देखिदैनन् । कांग्रेसको एजेण्डालाई सत्तारुढले राजनीतिक माग भनिरहेको छ भने गृहमन्त्री लामिछाने पदमा रहेसम्म सहकारी पीडितले न्याय पाउने बाटो नखुल्ने निष्कर्षमा कांग्रेस छ । यदि दुवै पक्षले अडान छोडेनन् भने यो अधिवेशनको नियति पनि अघिल्लो अधिवेशनकै जस्तो हुने लगभग पक्का छ । अघिल्लो अधिवेशनले जम्मा एउटा कानून बनाएको थियो । त्यसैले दलहरुबीच सहमति जुट्नु लगभग अनिवार्य हो । सत्तारुढ र प्रतिपक्षीबीचको सम्वाद सघन बनाउने अनि दुवै पक्ष लचक हुने हो भने समाधान अवश्य निस्कन्छ । मुलुकका निम्ति आवश्यक बाटो पनि त्यही हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies