सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीले विभिन्न कार्यक्रम आयोजना गरेर ४५औं शिक्षक दिवस मनाएको छ । संगठनले शिक्षक दिवसको अवसरमा जिल्ला परिषद, प्रशिक्षण, शिक्षक सम्मानलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले शिक्षकका अधिकारप्रति राज्य उदासिन भएको आरोप लगाए । मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षकहरुले अहिले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै उनले पेशागत सुरक्षा र शैक्षिक सुधारका निम्ति सबै शिक्षकहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारको पक्षमा दृढ रहेको भन्दै ढकालले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति आफूहरु जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।
उनले शिक्षकसँग भएका सम्झौता अक्षरशः लागू गर्नुपर्ने भन्दै सम्झौताअनुसार शिक्षा ऐन जारी नभए स्वीकार्य नहुने चेतावनी दिए । केन्द्रीय सदस्य ढकालले कतिपय पालिकाले शिक्षकमाथि ज्यादती गर्ने गरेको आरोप लगाउँदै एक पटक काठमाडौंको आन्दोलन सम्झन आग्रह गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको बताए । राजनीतिक परिवर्तनका निम्ति ठूलो योगदान पुर्याएका शिक्षकहरुले गणतन्त्रको स्थापना भएपछि पनि आफूलाई असुरक्षित महसुस गर्नु दुःखद कुरा भएको भन्दै उनले नेकपा एमाले शिक्षकका समस्याप्रति गम्भीर र चिन्तित रहेको बताए । संघीय शिक्षा ऐन शिक्षकमैत्री ल्याउनका निम्ति आफ्नो पार्टीले पहल गर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव केसीको अध्यक्षता, उपाध्यक्ष सिता बन्जाडेको स्वागत मन्तव्य र सचिव पानबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका महासचिव सुरेश गौतम, पेशागत महासंघ नेपालका महासचिव नेत्रप्रसाद पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष बाबुराम आचार्य, नेकपा एमालेका नेता तथा पूर्वशिक्षक कमल घिमिरेलगयतले मन्तव्य राख्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताए । उनीहरुले व्यवहारिक र जनवादी शिक्षाका निम्ति सरकार गम्भीर बन्नुपर्ने बताए ।
कार्यक्रममा माध्यमिक र निम्न माध्यमिक तहमा सिफारिस भइ आएका १ दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्नुका साथै शिक्षक संगठनले आगामी १ वर्ष गर्ने कामको योजनासमेत निर्माण गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies