सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ साविक वाङ्गलास्थित वैकुण्ठपुरी संग्रहालय अहिले सबैको घुम्ने र मन बहकाउने स्थलको रुपमा विकसित हुँदै गएको छ ।
बिदाको दिन होस् वा अन्य कुनै दिन त्यहाँ भिडभाड नभएको दिन नहुने स्थानीयबासीहरु बताउँछन् । मेला पर्व तथा अन्य बिदाको दिन त्यहाँ आउने, घुम्ने, नाच्ने, गाउने र भिडियो बनाउनेको भिड लाग्ने गर्दछ । परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने वैकुण्ठपुरी संग्रहालयमा आजभोलि घुम्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको जनप्रतिनिधि चोपनारायण श्रेष्ठले बताए ।
मोबाइल र डिजिटल ग्याजेटनै सवैथोक हो भन्नेहरुलाई इतिहास र जीवन सिकाउने सामग्री अवलोकन गर्ने थलो वैकुण्ठपुरीले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेको पत्रकार महासंघका अध्यक्ष अशोक खनाल बताउँछन् । उनले भने, ‘हाम्रो पुर्खाहरूले सामग्रीहरूको तत्कालीन अवस्थामा कसरी प्रयोगमा ल्याइन्थ्ये, त्यसको जटिलता, उपयोगिता, सामाजिक सद्भाव, सामूहिक क्रियाकलापमा संलग्नता जस्ता महत्वपूर्ण बारेमा स्पष्ट ज्ञान पाउन सकिने छ ।’
पत्रकार महासघ अर्घाखाँचीका पूर्वअध्यक्ष निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्लाको आमडाँडामा स्थापित संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले संग्रहालय स्थापना गरिएको रिजालले बताए ।
पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त संग्रहालयमा राखिएका रिजालको दावी छ ।
कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संग्रहालयमा राखिएको व्यवस्थापक उमा रिजालले बताइन् । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायत वस्तु संग्रहालयको मुख्य आकर्षणको रूपमा रहेका छन् ।
उनका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैँटो, भजनमा बजाउने खैँजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइँयो लगायतका थुप्रै वस्तु संग्राहलयमा राखिएको छ । यस्तै, रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । यसलाई अझैँ थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ ।
झुला, पिङ्ग, ट्री हाउस, स्विमिङ पुल, अम्रेला रोड, सेल्फी क्षेत्र, मन्दिर, मूर्ति, माछा तथा कमल पोखरी लगायतका विभिन्न आकर्षक स्थल निर्माण गरेकोले पनि आकर्षकको केन्द्र बनेको छ । ‘संस्कृति र प्रकृति हाम्रा जननी र रक्षक हुन्, यिनको बचाऊ गर्नु हामी सबैको कर्तव्य हो’ भन्ने मान्यताका साथ पुराना सामग्री खोजी संग्राहलय बनाउने सोच आएको बताउने निम बहादुर रिजाललाई पहिले छिमेकीहरूले कवाडी समेत भन्थे, तर अहिले उनीहरू नै टिकट काटेर अवलोकन गर्न आउँदा खुशी लाग्ने रिजालले बताए ।
त्यति मात्र होइन त्यहाँ परम्परागत तथा जातीगत भेषभूषा झल्किने पोशाक, धार्मिक तथा वैदिक कार्यमा प्रयोग हुने सामग्रीहरू, मूर्ति, बाजागाजा लगायत विभिन्न सामग्रीको संकलन तथा संयोजनले धेरै आकर्षक बनेको छ । भएका जग्गा जमिन, सम्पत्ति र सामग्रीहरू सिन्कीको भाउमा मिल्काएर बजार तथा शहरमा बसोबास गर्नेहरू नै अहिले घुम्न आउने गर्दछन् । सोच विचार र लगाव हुने हो भने हामीले प्रयोग गरेर फालेका सामग्रीहरुले धेरै कुरा बताउन र सिकाउन सक्ने त्यहाँ गएर बुझ्न सकिन्छ । सन्धिखर्क मुख्य बजारबाट करिब २० मिनेटमा पक्की सडकको माध्यमबाट पुग्न सकिने वैकुण्ठपुरी संग्रहालय एक पटक पुग्नै पर्ने स्थल बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies