काठमाडौं : राजधानीको पिंगलास्थानमा रहेको काबेली ह्युमन रिसोर्स प्रा.लि.का तीनमध्ये सञ्चालकद्वय विजय कुमार लिम्बू र नवराज चम्लागाईले दुई दर्जन मलेसियाली पर्यटकलाई पोखरा घुमाएर शनिबार स्वदेश पठाए । झट्ट यो सुन्दा म्यानपावर व्यवसायीले पेशा परिवर्तन गरेर पर्यटन व्यवसाय शुरुवात गरेछन् कि जस्तो लाग्न सक्छ । तर विगत १५ वर्षअघिदेखि सक्रियताका साथ वैदेशिक रोजगार व्यवसायमा संलग्न उनीहरुले पेशा परिवर्तन नगरी पर्यटन प्रवर्द्धन गरेका हुन् ।
उनीहरुले मलेसियामा कामदार पठाउने कम्पनी र उनीहरुका पारिवारिक सदस्य र आफन्तलाई नेपाल भ्रमणमा बोलाएर काठमाडौंसहित नेपालको पर्यटकीय राजधानी पोखराका विभिन्न रमणीय तथा ऐतिहासिक स्थलहरुको करिब एक हप्ता भ्रमण गराएर मलेसिया पठाएका हुन् ।
नववर्ष २०८१ प्रारम्भको दिन वैशाख १ गते शनिबार बिहान काबेली ह्युमन रिसोर्स प्रा.लि.ले आयोजना गरेको बिदाइ कार्यक्रममा मलेसियाली पर्यटकहरु प्रफुल्लित देखिन्थे । मलेसियाको लाकन्दर पुतेरी जोहरमा कार्यालय रहेको एजेन्सी पेकरजान बेष्ट च्वाइस सोलुसन एसडिएन बिएचडीका म्यानेजिङ डाइरेक्टर बेनसन लाउले नेपाल भ्रमणमा आफू र आफ्नो टिमले न्यानो आतिथ्यता, स्वागत र सत्कार पाएको भन्दै पोखरा भ्रमणका क्रममा पुगेको फेवा ताल, महेन्द्र गुफा, शिव मन्दिर, बेसक्याम्प, म्युजियम, बौद्धस्तुपा र प्याराग्लाइडिङ अवीस्मरणीय रहेको बताए ।
उक्त कम्पनीमा कानूनी सल्लाहकारको जिम्मेवारीमा रहेकी लाउ यान्जीले नेपाली खाना खासगरी थकाली थाली, मःमः र चाउमिन अत्यन्तै स्वादिलो लागेको बताइन् । उनले भनिन्, ‘मौलिक नेपाली खाना थकाली थाली र राजधानीको ठमेलमा रहेको एलओडी कन्सर्टको मनोरञ्जन मेरो जीवनकै अवीस्मरणीय क्षण हुन् । यी विषय लामो समयसम्म भुल्ने छैन ।’
म्यानपावर कम्पनी काबेलीका चेयरम्यान लिम्बूले नेपाली कामदार पठाउने मात्रै नभएर मलेसियाका रोजगारदाताहरुलाई ल्याएर यहाँका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गराएर मलेसियालीहरुका बीचमा नेपाल पनि विश्वका अन्य मुलुकजस्तै पर्यटकीय गन्तव्य मुलुक हो भनेर स्थापित गराउने चाहनाअनुसार यसपटक मलेसियालीहरुलाई नेपाल ल्याएर भ्रमण गराएको बताए । उनले एकपटक नेपाल आएको विदेशी पर्यटक पटक–पटक नेपाल घुम्न आउने र साथमा अन्य व्यक्तिलाई पनि नेपाल ल्याउने भएकाले नेपाल आउने ट्रेण्ड बसाल्नकै लागि पनि मिहिनेत गरेर मलेसियालीहरुको भ्रमण सफल बनाएको बताए ।
लिम्बूले भनेजस्तै एजेन्सी पेकरजान बेष्ट च्वाइस सोलुसन एसडिएन बिएचडीका म्यानेजिङ डाइरेक्टर लाउले यसपटक समयले नभ्याएका कारण आफूहरुले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न नपाएको र आगामी वर्ष जसरी पनि लुम्बिनीको भ्रमण गर्ने बताए ।
काबेलीका अर्का सञ्चालक चम्लागाई मलेसियाली भाषाका जानकार व्यवसायी हुन् । उनले सबै स्थान तथा पर्यटकीय स्थलबारे मलेसियाको स्थानीय मलय भाषामा नै जानकारी गराउककदा मलेसियासी पर्यटकहरु दंग थिए । सबै विषयको जानकारी आफ्नै भाषामा पाएपछि उनीहरुलाई सहज भएको ज्ञान एचएल नामका अर्का पर्यटकले बताए । आर्थिकरुपमा सम्पन्न मलेसियालीहरु छिटो–छिटो विदेश भ्रमण गरिरहन्छन् । तर उनीहरुको गन्तव्य सिंगापुर, थाइल्याण्ड, युरोप र अमेरिका हुने गरेको छ ।
विगतमा नेपालले मलेसियाली पर्यटक भित्र्याउन पहल नगरेको भने होइन । तर सरकारले सोचेअनुसार मलेसियाली पर्यटक नेपाल भित्रिएका छैनन् । विगतमा नेपाल पर्यटन बोर्डले मलेसियाको ठूलो चेन भएको केके सुपरमार्टसँग सम्झौता गर्दै त्यहाँका ६ सय ५० बढी ठाउँमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रसारण गर्ने बताएको थियो । नेपाल पर्यटन बोर्डका तत्कालीन सीईओ डा. धनन्जय रेग्मी र सुपरमार्टका दतुक डा. केके चाईबीच गत वर्ष त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको थियो । सम्झौताअनुसार केके सुपरमार्टले आफ्नो सबै आउटलेटहरुमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भिडियो तथा फोटो प्रदर्शन गर्ने सहमति थियो । त्यसबाट थाइल्याण्ड, युरोप र अमेरिका पुग्ने गरेका मलेसियाका धेरै पर्यटक नेपाल आउने अपेक्षा थियो ।
नेपाली टोलीले मलेसियाको राजधानी क्वालालाम्पुरसहित पेनाङमा नेपाल सेल्स मिसनअन्तर्गत कार्यक्रम पनि राखेको थियो । तर सरकारीस्तरबाट पर्याप्त इच्छाशक्ति नदेखाइएको र प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिन नसकेपछि अपेक्षितरुपमा मलेसियाका पर्यटक नेपाल आउन सकेनन् ।
काबेलीका अर्का सञ्चालक लोकनाथ रिमालले आफ्नो कम्पनीले जस्तै नेपालमा रहेका अन्य म्यानपावर कम्पनीले रोजगार गन्तव्य मुलुकका पर्यटक भित्र्याउन पहल गर्ने हो भने भविष्यमा ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने र त्यसबाट उल्लेख्य मात्रामा स्वदेशमै रोजगारीको सिर्जना र विदेशी मुद्रा आर्जन हुने सम्भावना रहेको बताए । उनले सबै म्यानपावर कम्पनीले यताबाट कामदार पठाउनुका साथसाथै उताबाट पर्यटक भित्र्याउन योजना बनाउन जरुरी रहेको पनि बताए । त्यसका लागि सरकारले पनि व्यवसायीलाई इन्सेन्टीभ दिन जरुरी रहेको रिमालको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies