दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट दुई जनाको दाबी पेश भएको छ ।
संघीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा नाउपाका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । कैलाश चौधरीलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ ।
कैलाश चौधरी भन्दा अगाडि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको निर्णयका कारण सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जनाको दाबी पेश भएको हो । मख्यमन्त्रीमा एकै पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस परेको छ ।
लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी पनि मिसिएको नेताहरूले बताएका छन् । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।
यो सँगै संघीय सत्ता गठबन्धनको विकल्प सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा गृहकार्य भएको छ । संघीय सरकारमा माओवादी केन्द्र र एमाले सम्मिलित गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा कांग्रेसको गठबन्धनलाई रोज्नु राष्ट्रिय राजनीतिमा एक परीक्षण हो । नयाँ प्रयोगको सफलता र असफलताको अर्थ सीधै सिंहदरबारसँग जोडिन आइपुग्ने नेताहरु बताउँछन् । जसले राष्ट्रिय राजनीतिमा एउटा तरंग पैदा गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ चार दलको बैठक बसेको थियो । जहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नाउपालाई दिनुपर्ने अवस्था आएको बताएपछि माधव नेपाल असन्तुष्ट भएका थिए ।
लगत्तै, सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनको अभ्यास भएको हो । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नै सरकार गठन हुने दाबी गर्छन् ।
‘केन्द्रमा जुन सहकार्य भएको छ । त्यही अनुरूपकै सरकार सुदूरमा पनि बन्छ’ ज्ञवालीले भनेका छन्, ‘एकीकृत समाजवादीको दलको नेताले केन्द्रको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस् भनेर निर्देशन दिएको सार्वजनिक भएको छ ।’ साथै ज्ञवालीका अनुसार नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेताबारे कानुनी निक्र्योल भएपछि सरकार बन्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies