बुधबार दुई समूहबीच विवाद भएपछि मोरङको विराटनगर क्षेत्र तनावग्रस्त भयो । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई अर्को समूहले अवरोध गर्न खोजेपछि झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते भए । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । प्रहरीले संयमता अपनाउँदा र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिदा तत्कालका लागि स्थिति शान्त भएको छ । तर यस किसिमको दृश्य पछिल्लो समय नेपालका बिभिन्न ठाउँमा देखा परेका छन् । यी आपसी सम्मान, अपनत्व, आत्मीयता र स्वीकार्यता नेपाली समाजको विशेषतासँग मेल नखाने दृश्य हुन् । सदियौँदेखि नेपालमा विभिन्न जातीय र धार्मिक समुदायबीचमा आपसी सहिष्णुता, सहअस्तित्व र सद्भाव स्थापित छ । तर दार्शनिक कार्ल माक्र्सले भने जस्तै धर्मलाई देखाएर द्धन्द्ध फैलाउने प्रयास पछिल्लो समय नेपालमा हुन खोजेको अनुमान गर्न सकिन्छ । यसकारण सद्भावका लागि आवश्यक नीति अख्तियार गर्नेतर्फ राज्यले सोच्नुपर्ने अवस्था आएको छ ।
संविधानको प्रस्तावनामै मुलुक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको उल्लेख छ । संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रताको हक अन्तर्गत धर्ममा आस्था राख्ने प्रत्येक नागरिकलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको छ । तर देशलाई निश्चित धर्म सापेक्ष बनाउनुपर्ने माग गर्नेहरु र यस्तो पक्षको विरोधीहरुबाट नेपालमा धार्मिक, जातीय र साम्प्रदायिक तहमा सद्भाव खलबल्याउने प्रयत्न निरन्तरजसो भइराखेको सुरक्षा निकायको रिर्पोट छ । सुरक्षा रिर्पोटका अनुसार समाजमा विग्रह ल्याउने र धार्मिक सहिष्णुतामाथि प्रहार गर्ने प्रयत्न अन्तर्गत यसअघि धरान, धनुषा, सर्लाही र नेपालगञ्जमा केही घटना भएका थिए । त्यसबेला सम्बन्धित स्थानीय तहमा रहेका धर्मगुरुहरु, नागरिक अगुवा, स्थानीय राजनीतिक दलका नेता÷कार्यकर्ता, प्रशासन र सुरक्षा निकायले मिलेर स्थितिलाई शान्त पारेका थिए । यही शैलीमा नेपालको इतिहासमा सामाजिक सद्भाव खलबल्याउने जे–जति गतिविधि भएका छन् ती सबै विफल भएका छन् ।
त्थापि एकपछि अर्को समाजिक सद्भाव बिथोल्ने प्रयास रोकिएको छैन । विराटनगरमा देखिएको दृश्य पनि यही हो । कसैको उक्साहटकै भएको होस वा नियोजित योजना यसखाले असहिष्णु गतिविधिलाई राज्यले समयमै रोकथाम गर्नेगरी नीति लिनु आवश्यक छ । धर्मका नाममा द्धन्द्ध फैलाउने प्रयासले कसैगरी विकराल रुप लिए मुलुक धार्मिक हिंसाको दलदलमा फस्न सक्छ । यो अवस्थामा नेपाल पुगेको छैन । त्यहाँसम्म पुग्न नदिन र सामाजिक सद्भाव बोकेको नेपाली समाजको विरासत कायम राख्न राज्यले अवाञ्छित गतिविधिको मूल कारक तत्व पहिचान गरेर आवश्यक कदम चाल्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies