सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री सुशीला श्रीपाली ठकुरीले पत्रकारहरुको सुरक्षा, रोजगार र जीवन निर्वाहका लागि पत्रकार महासंघको नेतृत्व गम्भीर हुनुपर्ने बेला आएको बताएकी छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १६औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै ठकुरीले जनताको पक्षमा कलम चलाउन निडर र निपष्क्ष भएर लाग्न पत्रकारहरुलाई आग्रह गरिन् ।
राष्ट्र र राष्ट्रियताका पक्षमा नेपाली पत्रकारिता जगत सधैं अग्रपंक्तिमा रहेर काम गरिरहेकाले यसलाई व्यवस्थितरुपमा अगाडि बढाउनुपर्ने समय आएको उनले बताइन् । उनले नेपालमा जनताको आवाज दिने पहिलो सामाजिक संस्था नेपाल पत्रकार महासंघ भएकाले यसले गरिब, दुःखी र असाहयको आवाज बुलन्द पार्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपालीले पत्रकार महासंघ महिला, दलित, जनजाति र मधेशीको प्रतिनिधित्व गर्ने पहिलो साझा संस्था भएकाले यसको मर्म नै सबै पक्षको साझा संस्थाको रुपमा विकास गनु रहेको बताइन् । नेपालीले पत्रकारलाई सृजनशील र अध्ययनशील बनाउन पनि महासंघले प्रक्रिया चालेको जानकारी दिइन् ।
कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले पत्रकार महासंघ श्रमजीवी पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको मर्म र भावनासँग महासंघ जोडिएको बताए । उनले नेपालमा पत्रकारिता जगत न्याय र जनताको पक्षमा लाग्ने भएकाले संविधानविपरीत हुने कार्यको महासंघ सधैव विरोधमा लाग्ने जनाए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालको अध्यक्षतामा भएको साधारण सभामा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य, शितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाट, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य प्रेमनारायण आचार्य, पत्रकार महासंघ अर्घाखाँचीका पूर्वअध्यक्षहरु विष्णु प्रसाद भुसाल, शोभाखर पन्थी, हिम जिसी लेकाली, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष वसन्त श्रेष्ठ, प्रगतिशील पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री, समाजवादी प्रेस संगठनका अध्यक्ष सागर परियार, नेपाली कांग्रेस अर्घाखाँचीका नेता हेमन्त बेल्वासे, नेकपा एमालेका नेता सरोज भुसाल, माओवादी नेता देव बहादुर रायमाझी, एकीकृत समाजवादीका नेता रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता गोपाल भट्टराई, सिविएका अध्यक्ष कृष्ण बर्मा, पत्रकार हृदय कुमार भुसाललगायतले शुभकामना मन्तव्य राख्दै पत्रकारहरु ले जनतामा विश्वास हुनेखालका समचारहरु बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।
साधारण सभाले सचिव विनोद गैरे र कोषाध्यक्ष रुद्रमणि भुसालले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । सचिव गैरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य रहेको थियो ।
नेपाल पत्रकार महासघ अर्घाखाँची शाखाले जिल्लामा रहेर क्रियाशीलरुपमा पत्रकारिता गर्ने ३ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका सहसचिव हृदय कुमार भुसाल, महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणि भुसाल र सदस्य विष्णु खनाललाई नगद पुरस्कारसहित सम्मान गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष खनालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies