–निष्णु थिङ
धेरै वर्षपछि विश्वेश्वरप्रसाद कोइरालाको आन्तवृत्तान्त पुनः सरसर्ती पढ्न मनलाग्यो । कोइरालाको आत्मवृत्तान्त नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्ड बुझ्नलाई साह्रै उपयोगी छ । उनको जीवनी पढ्नलाई भर्खरै सार्वजनिक भएको भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तकले कर लगायो । थापाको आत्मकथाले पनि नेपाली राजनीतिक र कूटनीतिक इतिहासलाई अर्को आँखीझ्यालबाट हेर्न मद्दत गर्छ । कोइरालाको वृत्तान्तले राजनीतिको आँखाबाट त्यो बेलाको समय बुझाउँछ भने थापाको जीवनीले प्रशासनिक र कूटनीतिक आँखाबाट । आ–आफूले बाँचेको युगलाई प्रतिनिधित्व यस्ता आत्मवृत्तान्तहरूले गरेका हुन्छन् ।
थापाको वृत्तान्त नौं वटा उपशीर्षकहरूमा बाँडिएर प्रस्तुत गरेको छ । प्रारम्भ नै राजा महेन्द्रको टेलिग्रामबाट हुन्छ । त्यतिबेला उनी अमेरिकामा आफ्नो अध्ययनको अन्तिम चरणमा हुन्छन्, जतिबेला यता महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ताको बागडोर आफैले लिन्छन् । त्यत्रो लोकप्रिय मत ल्याएको सरकारलाई त्यसरी ‘कू’ गरेपछि उनलाई योग्य मानिसहरूको खोजी हुन्छ । आफ्नो नयाँ पञ्चायती सरकार सञ्चालन गर्न सक्ने जनशक्तिको खोजीको क्रममा उनले थापालाई निम्त्याउँछन् । राजा महेन्द्रलाई आफ्नो सत्ता हाँक्ने चालकहरूमा तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्टलगायतका प्रतिभाहरू फेला पर्छन् । यिनै व्यक्तिहरूको सहयोगमा निर्दलीय पञ्चायतको सूत्रपात महेन्द्रले गरेका थिए । थापाको पुस्तक पढेपछि महेन्द्रको प्रतिभा चिन्ने, प्रतिभाअनुसार जिम्मेवारी दिने र परिणाम निकाल्न सक्ने उनको खुबीको बारेमा थाहा पाइन्छ ।
कूटनीतिमा स–सानो गतिविधि र हाउभाउले समेत विशेष अर्थ र महत्व राख्दछ । सामान्य शिष्टाचारले पनि दुई देशबीचको सम्बन्धमा विशेष न्यानोपन र चिसोपन निम्तिन सक्छ भन्ने थापाले उल्लेख गरेको संस्मरणमा छ । इन्दिरा गान्धीको नेपाल भ्रमणक्रममा दरबारको अतिथि कक्षमा राजा महेन्द्र दश मिनेट विलम्ब हुँदा त्यसले नमिठो वातावरण सिर्जना गरेको प्रसगंले कूटनीतिमा स–साना विषयको महत्व र प्रभाव दर्शाउँछ । थापाले त्यस्तै अर्को प्रसगंको चर्चा गरेको छन्, २०२७ सालमा जाम्बियाको राजधानी लुकासमा असंलग्न राष्ट्रहरूको सम्मेलनमा इन्दिरा गान्धीले राजा महेन्द्रलाई हिज म्याजेष्टी भनेर हात मिलाउँदा राजा नउठेकोले गान्धी रिसाएकी थिइन् । राजा उठेर शिष्टाचार व्यक्त नगरेको कारणले गर्दा नेपाल र भारतबीच तनावको स्थिति सिर्जना भएको रहेछ । शासकहरूले सामान्य शिष्टाचार पालना नगर्दा इन्दिरा गान्धीले नेपालमाथि नाकाबन्दी लगाइन् र यहाँका जनताले त्यसबाट सिर्जित कष्ट सहन पर्यो । यस्ता घटनाहरूबाट पाठ नसिकेको कारणले गर्दा राजीव गान्धीसित राजा वीरेन्द्रले पनि त्यस्तै व्यवहार प्रदर्शन गरेको यस पुस्तकमा उल्लेख छ । फलस्वरुप पुनः भारत नाकाबन्दीकै तहमा ओर्लेका थिए ।
भारतको नेपालमाथि नाकाबन्दी गर्ने प्रवृत्ति नयाँ होइन । जतिबेला नेपाल भूकम्पले थिलोथिलो भएको थियो, नेपालको संविधान, २०७२ जारी गरेपछि भारतले आठ वर्ष अगाडि नाकाबन्दी गरेको हाम्रो स्मृतिमा ताजै छ । नेपालमाथि भारत निर्मम भएर प्रस्तुत भएको पटक–पटकको नाकाबन्दीले पुष्टि हुन्छ । भारतको परनिर्भरताबाट पाठ सिकेर आत्मनिर्भरतातर्फ अगाडि बढ्नु पर्नेमा झन् परनिर्भर बन्दै गइरहेको परिप्रेक्ष्यमा यस पुस्तकले प्रकाश पारेको छ । पञ्चायत सरकारले नेपालको उत्तरी क्षेत्रमा रहेको भारतीय सुरक्षा पोष्ट कसरी हटायो र भारतीय परनिर्भरताबाट आत्मनिर्भरताको लागि के–के प्रयास राजा महेन्द्रको पालामा भएका थिए ? त्यसको सजीव चित्रण यस पुस्तकमा पाइन्छ ।
नेपाल यतिबेला भूराजनीतिक तानातान र हानथापमा परेको छ । शीतयुद्धकालमा सोभियत संघ हाम्रो आकाशे छिमेकी मात्रै थियो । विश्वमा वर्चश्व स्थापित गर्न अमेरिका र सोभियत संघको दुई ध्रुवीय कडा संघर्ष भएको थियो । अहिले सोभियत संघको स्थानमा चीन पुगेको छ । चीन र अमेरिकाको शीत युद्ध शुरु हुन थालेको छ । चीन हाम्रो सीमाना जोडिएको पुरानो छिमेकी भएको नाताले दोस्रो शीतयुद्धको प्रत्यक्ष असर हामीलाई पर्नेवाला देखिन्छ । नेपाललाई आफ्नो विकास र समुन्नतिको बाटोमा बढ्नैछ, त्यसमा आफ्नो स्रोतसाधनले मात्रै नभ्याउने भएकोले बाह्य सहयोग र अनुदानको पनि उतिकै खाँचो छ । अहिले हामीलाई छिमेकीले प्रदान गर्ने आर्थिक सहयोग व्यवस्थापन गर्न हम्मेहम्मे हुन थालेको छ । त्यसमा दाताहरूले आफ्नो स्वार्थ नभई सहयोग त गर्दैनन् नै । पेचिलो कुरा चाँहि के हो भने हाम्रा छिमेकीहरूलाई आँच पुग्ने किसिमको सहयोगहरू आउन थालेका छन् ।
त्यसरी अन्तर्राष्ट्रियस्तरबाट प्राप्त सहयोग कसैलाई प्रतिकुल असर नपर्नेगरी नेपालको विकासलाई तीव्र बनाउने क्षमताको अभाव देखिन थालेको छ । विभिन्न स्वार्थबाट निर्देशित सहयोगहरूलाई व्यवस्थापन गर्न अक्षमता प्रदर्शन गरिरहेको बेला विगतमा कसरी सन्तुलन कायम गरेर व्यवस्थापन गरेको थियो भन्ने प्रशस्त उदाहरणहरू यस पुस्तकमा पाइन्छ । राजा र पञ्चायतले गरेका भनेर त्यसलाई नकार्न हुन्न । अहिलेको भूराजनीतिक खिचातानीलाई सन्तुलन मिलाएर अगाडि बढाउन इतिहासबाट पाठ लिन कुनै कन्जुस्याँइ, लघुताभाषा र लाज मान्नै पर्दैन ।
थापाले पूर्व भारतीय राष्ट्रपति केआर नारायणनका नेपालसित सम्बन्धित दुई वटा संस्मरणका सन्दर्भहरू उठाएका छन् । नारायणन उनका अमेरिका हँुदाका साथी रहेको प्रष्ट्याएका छन् । उनी भारतका राजदूत र थापा नेपालका । राष्ट्रपतिसित व्यक्तिगत तवरमा सम्बन्ध स्थापित भएकोले उनलाई भारतमा उच्च सम्मान र काम गर्न सहज भएका थिए । केआर नारायणन नेहरूको सचिवालयमा काम गर्दा, एफ्रो–एसियन सम्मेलनको आयोजना गरेको बेला उनी राजा त्रिभुवनसित आर्थिक सहयोग(चन्दा) माग्न नेहरूको प्रतिनिधि भएर आएको रहेछन् । त्यतिबेला राजाले दश हजार रुपैयाँ सहयोग गरेको जुन सबैभन्दा ठूलो रहेको पनि संस्मरण खुलाएका छन् । नेहरू त्यतिबेला भारतीय स्वतन्त्रताको तयारीमा भएकोले त्यो सहयोग भारतको स्वाधिनताको पक्षमा नेपालबाट प्रदर्शित उच्च ऐक्यबद्धता थियो नै । थापाले यो पहिलो संस्मरणचाहिँ उल्लेख गरे तर, दोस्रो संस्मरण बारेमा केही चर्चा नै छैन । त्यो छुटेको संस्मरण के थियो होला भन्ने उत्सुकता हुने नै भयो । पुस्तकको दोस्रो संस्करणमा यो समेट्न आवश्यक छ ।
उनले राजा महेन्द्रले आफ्नो शासनकालमा विभिन्न क्षेत्र, भूगोल र जातजातिका मानिसलाई खोजी खोजी जिम्मेवारी दिइएको प्रसङ्ग उप्काएका छन् । उनले राजा महेन्द्रका भनाईलाई जस्ताको तस्तै उतारेका छन्, “हेर, म त राजा । राजा हुन त यही परिवारमा जन्मनुपर्यो । यहाँ अरुलाई राख्न सकिन्न । तर, त्यसपछिका चार पद प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायत अध्यक्ष र राजसभा स्थायी समितिका अध्यक्षमध्ये एकमा जनजातिकै हुनुपर्छ र एउटा तराईको हुनुपर्छ ।”(पृष्ठ, २४१) यहीँ वाक्यलाई पुष्टि गर्न, ‘मन्त्रिपरिषद् गठनका बेला पनि सन्तुलन मिलाउन मानिसहरूको खोजी गरिन्थ्यो– वेदानन्द झा, नागेश्वरप्रसाद सिंह, समशेरबहादुर तुम्बाहाम्फे मन्त्रिपरिषद्मा सामेल गरिएका थिए । तराई र जनजातिहरूमा नेतृत्व क्षमता भएकाहरू खोजी गरिन्थ्यो । हरेकजसो नियुक्तिमा सन्तुलन मिलाउने प्रयत्न गरिन्थ्यो ।’ लेखेका छन् । (पृष्ठ, २४२)
तर लेख्दै जादा उनले, ‘जाति, वर्ग, धर्म, क्षेत्रीयता आदिका आधारमा पहिचान खोज्दा मध्ययुगतिर धकेलिन लाग्यौं कि भन्ने चिन्ता बढेको छ ।’ भन्न भ्याए । (पृष्ठ, २४१) त्यसले उनको हिन्दू आर्यन पहाडे पुरुषवादी अहंकार झल्केको देखिन्छ । उनले पुस्तकका कैयौं सन्दर्भमा तराईवासी शब्दहरू पटक–पटक चलाएका छन् । उनले खुलेर मधेशी भन्न नसकेको देखिन्छ । त्यसले उनमा महेन्द्रीय राष्ट्रवादी अहंकारको गहिरो प्रभाव रहेको देखाउँछ ।
भारतसितको सम्बन्ध
भर्खरै भारतीय विदेशमन्त्री एस. जयशंकर आएर विद्युत व्यापारमा मूख्य सम्झौता भए । तर, कतिपय नेपाल र भारतकाबीच रहेका सीमा विवाद र झमेलाबारे त्यस्तो केही उल्लेखनीय भएन । भारतसितको अहिलेको संवाद जे विषयमा भारत सरकारको रुचि छ, त्यसमा मात्रै हुने र नेपालको रुचिलाई पूरै वेवास्ता गर्दै आएको छ । भारतसितको सम्बन्ध यतिबेला पहेली बन्दै जान थालेको होकि भन्ने चिन्ता बढ्न थालेको छ । दुई पक्षीय सम्बन्ध झन् अविश्वास, संवादहीनता र तनावतिर उन्मुख भएको देखिन्छ । खुल्ला सीमानाको जति बखान गरेपनि सीमानामा नेपालका नागरिकहरूलाई आवतजावत कठिनाइ बढ्दै गइरहेको छ । सीमानामा परिचय–पत्र, नागरिकता अनिवार्य खोजिन्छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको राहदानी चाहिन्छ । कालापानीको समस्या सुल्झिनको साटो बल्झिदै पो गएको छ । कालापानीमा सीमित विवाद लिपुलेकसम्म विस्तारित भएको छ ।
प्रबुद्ध व्यक्ति समूह गठन गर्न सहमत भएर दुवै सरकारद्धारा गठित समूहले प्रतिवेदन तयार पारेको यतिका वर्ष बितिसके भारतले त्यो बुझ्ने कुनै रुचि देखाएको छैन । भारतीय संस्थापनको हेपाहा प्रवृत्तिबाट स्वयम् राजा भुक्तभोगी भएका थिए । अहिले हाम्रो दलहरू र तिनका नेताहरू त भारतको एउटा गुप्तचरको ठाडो आदेशमा परिचालित हुने परिस्थितिमा हामीले नै पुर्यायो । थापाले इंगित गरे झैं, ‘भारतसँग धेरै लाचार बन्नुमा छात्रवृत्ति पनि एउटा कारण हो । राजनीतिक नेताहरूले आफन्त या कार्यकर्ताका निम्ति छात्रवृत्ति दिलाउने क्रममा आफूलाई धेरै गिराएका छन् । छात्रवृत्तिका लागि न्यूनतम नम्बर ल्याउन नसकेका व्यक्तिलाई सिफारिस गरेर पठाएपछि विश्वविद्यालयले अस्वीकार गर्दा त्यसमा हाम्रा प्रधानमन्त्रीकै तहबाट उपकुलपतिलाई पत्र लेखी यो एउटा अपवाद स्वीकार गर्न आग्रह गर्ने अवस्थासम्म पुर्याएका छन् ।’(पृष्ठ, २४०) उनले सविस्तार गर्दै, ‘भारतीयहरूले मसँग यस्ता विषय उठान गर्दा मैले एकदमै ग्लानि महसुस गर्नु परेको थियो ।’(पृष्ठ, २४०) उनले नेपाली नेताहरूको द्धैध चरित्रलाई उदाङ्गो पारेका छन्, ‘भाषणमा भारत विरोधी अभिव्यक्ति दिने तर व्यवहारमा ठीकविपरीत कार्यशैली प्रदर्शन गर्ने काम दलहरूबाट भएको हो ।’(पृष्ठ, २०६)
‘यता नेपालका प्रधानमन्त्रीहरू भने भारत भ्रमणमा जान हानाथाप गरेको देखिन्छ । ...तर कताकता हाम्रो मानसिकतामा त्यहाँ गएर धाप नपाएसम्म वैध हुन्नौं कि भन्ने भ्रम रहेको देखिन्छ ।’(पृष्ठ, २१६) यस्ता परनिर्भर मानसिकताबाट नेपाल झन हेपिन परेको उनले बताउँछन् । ‘उच्च पदमा रहेकाहरू आफ्नो तह र मर्यादामा नबसेसम्म मुलुकलाई अपहेलित हुनबाट रोक्न सकिन्न ।’(२१७)
विपिको आत्मवृत्तान्त होस् या थापाको आत्मकथा, दुवैले चीनले जहिलेपनि नेपाललाई भारतसित राम्रो सम्बन्ध राख्न उत्प्रेरित गरेको बताइन्छ । चीनलाई नेपाल मामिला त्यति रुचिको विषय थिएन । तर, अहिले चीनको त्यो नेपाल नीति बद्लिएको देखिन्छ । उनीहरू नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापनको तहमै ओर्लेको स्थिति छ । विपि भारतमा रहँदा भारतीय संस्थापनको साथ नपाएको, दुःख दिएको उनको आत्मवृत्तान्तमा उल्लेख छ । उनले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुनुमा सिक्किमको विलयले झस्केको हुनु पर्छ । राष्ट्रियताका मामलामा विपि र राजा महेन्द्रले समान प्रकारको सम्झौताहीन निष्ठा अवलम्बन गरेको देखिन्छ ।
अहिले बजारमा आएका आत्मवृत्तान्तहरू आत्मप्रशंसाले ओतप्रोत छन् । आफूलाई नायक देखाउने उद्देश्यले आत्मकथाहरू लेखिएका सन्दर्भमा थापाका पुस्तक केहीहदसम्म बच्ने प्रयत्नका बावजुद पनि जोगिएका भने छैन । तैपनि उनले आफ्नो जीवनको उत्तरार्धमा यो कोसेली पस्केर अहिलेका नयाँ पुस्तालाई त्यो समय बुझ्न सहयोग गरेकोमा उनलाई धन्यवाद दिनैपर्छ । सार्वजनिक पदधारण गरेका व्यक्तिहरूका जीवन वैयक्तिक भएपनि राष्ट्रको जीवनलाई देखाउने ऐना हुन् । यस्ता आत्मकथा वा जीवनी स्वयम राजा महेन्द्र, वीरेन्द्र, मदन भण्डारी(यद्यपि उनको हत्या), गिरिजा प्रसाद कोइराला, सुशील कोइरालालगायत राज्यको राजनीतिक, कूटनीतिक र प्रशासनिक उच्च पदमा बसेकाहरूले लेखेर छाडे, अहिलेका पुस्ताले विगत सजिलै थाहा पाउन सकिन्थ्यो । साथमा, राज्यको संस्थागत स्मृति पनि बलियो हुने थियो । बलियो संस्थागत स्मृतिको जगमा बलियो राज्यसञ्चालन गर्न आवश्यक छ । यतिबेला नेपालमा अमेरिका, भारत र चीनको त्रिपक्षीय प्रतिस्पर्धा चर्केर गएको बेलामा थापाको आत्मकथाले उपलब्ध गराएको साहित्यले राज्यसञ्चालनमा कहिँ न कहिँ उपयोगी हुने नै छ ।
–लुईस भोटिया ‘सरू’
भोलि आमासँग गान्तोक जानुछ खुशीले आँखामा निन्द्रा छैन छट्पटी भैराछ कहिले उज्यालो हुने हो ? हाम्रो गाउँमा जम्मा दुई वटा बाहन छ ‘जोङ्गा’ नाउँ गरेको अरु बाहनको त नाम पनि थाहा छैन । हामी बेसि जस्तो टि.टि. अंकलको बाहनमा चड्ने गरछौं, सायद राशन–पानी पनि उनैको पसलबाट खाने गरेको हुनाले । जोर्थाङ्ग, सोरेङ जानू छ भने केही दिनअघि नै निधो गर्नुपर्छ, नत्र सिट पाइँदैन ।
जोर्थाङ्ग झरेर गान्तोक जाने बाहनको टिकट काट्नु पर्छ, त्यसैले हामी जोर्थाङ्ग चाँडै झर्नुपर्ने हुन्छ । बिहान चाँडै हामी जोर्थाङ्ग झ¥यौं र गान्तोक जाने स्ट्यान्ड्मा गएर आमाले हामी दुई जनाको टिकट काट्यौं । गाडीमा चढ्दा म अलिक बिसन्चो जस्तो थिएँ, जोर्थाङ्ग झरिसक्दा म त परै लाट्टेको जस्तो भएँ । केही क्षणमा नचिनेको एक व्यक्तिले म र मेरी आमालाई कोल्ड ड्रिंक्स हात–हातमा थमाई दियो । जिन्दगीमा मैले त कहिल्यै नपिएको अलिकति चाख्ने इच्छा भयो । अमुई... घाँटी चराएको कि जिब्रो पो पोलेको हो कि ? रिस पो उठ्यो । वास्तवमा त्यो कोल्ड ड्रिंक्स किनिदिने व्यक्ति नै वाहनको चालक रहेछ । खोइ मेरो आमासँग कतिखेर चिनापर्ची भो त्यो पनि थाहै पाइन ।
गाडीमा निदाई पठाएछु, कत्ति बेला गान्तोक पुगियो पत्तो भएन । आमाले झक–झकाएर उठाउँदा पो झसङ्ग ब्यूँझेछु । चिल्ड्रेन पार्कमा उत्रियौं, पोका–पतेरो थुप्रै थियो । त्यो सबै मैले उठाउनु पर्ने । सकि नसकी बोकें र आमा र त्यही चालकको पछि–पछि लागेँ । म चै ‘नाम्ले’ जस्तो ।
हामी सिधै एउटा होटलको रुमतिर गयौं । म पनि उनिहरुसँगै रुमभित्र छिर्न लागेकी थिएँ तर, हत्तपत्त गर्दै मलाई बाहिर बस्ने आदेश दिइयो । म चाहिँ कुनै आदिवासी काम गर्ने केटी जस्तो । धेरै समयपश्चात् दुवैजना रुमभित्रबाट निस्किए र फेरि म उनीहरूको पिछे लागें । त्यही गाडीमा बस्यौं र हामी छ माइल तादोङ्ममा आफ्नो साइनो लाग्नेको घरमा झर्यौं ।
वास्तवमा उनी मेरि जन्म दिने आमा होइनन्, सौतेनी आमा हुन् । तर, मैले उनलाई कहिले पनि सौतेनी आमा सम्झिन । भनौ यो कलिलो दिमागमा कहिले पनि जान्ने इच्छा भएन कि उनी मेरी सौतेनी आमा रहिछन् भनेर ।
उनी कहीँ पनि जाँदा मलाई साथमा लिएर जान्थिन्, किनकि उनको काला कर्तुत म कसैलाई सुनाउँदिन । फेरि म ‘भरिया’ पनि त हुँ । मेरो आँखाको सामुन्ने धेरै चर्तिकला देखाएकी छन् उनले । म सोंच्छु घरमा यो कुरा सुनाए भने अशान्ति फैलिन्छ, मेरो बाउ र उनीबीच झगडा हुन्छ ।
अझै पनि त्यो दिनको घटनालाई सम्झिदाँ मनमा अनेकौं प्रश्न उठ्ने गर्छ, आखिरमा “होटलको कोठामा दुई मात्र किन पसे ? न त क्यै खानु–पिउनु थियो ? फेरि एक डेढ घन्टा मात्रै बसे, दिनै भरी पनि होइन आखिर किन ?”
–शाम्भवी बाशिष्ठ
कहिले उमङ्गका साथ रमाउँदै
कहिले दुःखी हुँदै
कहिले आफ्नैसँग रिसाउँदै
कहिले उनैलाई फकाउँदै
कहिले घुम्दै/डुल्दै
कहिले लखतरान परेर आराम गर्दै
लामो र घुमाउरो बाटो हुँदै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
कहिले आफैँसँग लहडिँदै
कहिले आफ्नासँग लड्दै
कहिले कुनै काम नबनेर निराश हुँदै
कहिले आशाका किरणहरू खोज्दै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
बिहानीको सूर्यको किरणले
धर्तीलाई स्पर्श गरे जस्तो
धर्तीले साना विरुवाहरूलाई माया गरे जस्तो
मिठास र मित्रता संगाल्दै
बित्दै बित्दै जाने न हो यो जीवन ।।
धर्ती मुस्कुराए जस्तै मुस्कुराउँदै
आकाशमा बादल झै मुलायम हुँदै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
कहिले साथीभाइसँग रमाउँदै
कहिले उनै साथीहरूसँग झगडा गर्दै
कहिले अरूलाई देखाउँनकै लागि
मुसुक्क मुस्कुराउँदै
कहिले प्रसन्नता छाएर पनि
खिसिक्क पर्दै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
आँसु लुकाउने ठाउँ खोज्दै
कहिले आँसु बगाउन मिल्ने साथ खोज्दै
कहिले पीडा लुकाउने बहानामा आफूलाई लुकाउँदै
पार गर्नै पर्नेरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
आफ्ना शब्द र भावनालाई प्रस्तुत गर्दै
नबुझ्नेलाई बुझाउन खोज्दै
कहिले बोल्दै बोल्दै
भावना बुझिदिने मान्छे खोज्दै
ती मान्छेसँग मनका भावनाहरू साँट्दै
पार गर्नै पर्दोरहेछ
छोटो जिन्दगीको लामो यात्रा ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक विस्थापित प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार २०८० एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रक्मिणी श्रेष्ठलाई प्रदान गरिएको छ ।
घिमिरे २०१८ सालदेखि रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रा आरम्भ गरेका थिए । प्रतिष्ठानले उनलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो ।
यस्तै, नेपालभाषाको साहित्यक मासिक पत्रिका ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठ २०४५ सालदेखि साहित्यिक पत्रकारितामा आबद्ध छिन् । प्रतिष्ठानले उनलाई नेपालभाषाको साहित्यिक पत्रकारितामा पुर्याउँदै आएको योगदानको सम्मान गर्दै ‘प्रज्ञा नेपाली मातृभाष साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो । पुरस्कृत दुवै जनालाई कदरपत्रसहित प्रतिव्यक्ति नगद रु ५० हजार सम्मानस्वरुप उपलब्ध गराइएको छ ।
सो अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारिताको महत्वलाई सरकारले बिर्सन नहुने भन्दै पुरस्कारलाई निरन्तरता दिने बताए । ‘साहित्यिक पत्रकारिता पुरस्कार साहित्य क्षेत्रमा कमल चलाउने पत्रकारको सम्मानस्वरुप शुरु गरेका छौँ, यसले निरन्तरता पाउनुपर्छ’, कुलपति राईले भने ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै साहित्यिक पत्रकारितामा उनीहरुको निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।
भाषा आयोगका अध्यक्ष मातृका पोखरेलले साहित्यिक पत्रकारितालाई सम्मान पुरस्कारलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सुझाव दिए । उनले साहित्य क्षेत्रप्रति नै राज्यले हेर्ने नजर सकारात्मक बनाउन जरुरी भएको बताए ।
सो अवसरमा साहित्यक पत्रकार संघका केन्द्रीय अध्यक्ष मोहन दुवाल, मधेश आयोगका सदस्य आभाकुमारी सिंहलगायत साहित्यकाहरुको उपस्थिति थियो ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : साहित्य अनुरागी एवम् कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तक संग्रह ‘शस्यमञ्जरी’ लोकार्पण गरिएको छ । हामी र हाम्रो कृति समूहको पहलमा ‘शस्यमञ्जरी’ लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार एवम् पत्रकार तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आथित्यमा कृतिको सामूहिक लोकार्पण गरिएको हो ।
प्रा.डा. गोविन्द मानसिंह कार्की, वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृति मञ्चकी अध्यक्ष तारा केसीलगायतले ‘शस्यमञ्जरी’ मुक्तक संग्रहको समीक्षा गरेका थिए ।
यसैगरी कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल, बद्री उप्रेती, हरि अधिकारीलगायतले कृतिबारे आ–आफ्नो धारणा राखेका थिए । कृति लोकार्पण समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्य अनुरागी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
लोकार्पण समारोहको सञ्चालन गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव बिमला दाहालले गरेकी थिइन् । कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा केसी, सुनिल अधिकारी, रूद्र अधिकारी, लब खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल, पूर्ण बहादुर श्रेष्ठ, सरिता थापामगर, दुर्गा किरण तिवारी, मिना चौलागाईं, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार, रूद्र अधिकारी, गणेश बाबु अधिकारी, उषा केसी, शान्ति शर्मा, निलाञ्जला भारद्वाज, बिनोद खत्री, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागी तथा कृतिकार नम्रता उप्रेतीले लोकार्पित कृतिमा समवेश गरिएका मुक्तकहरु वाचन गरेका थिए ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको एक कार्यक्रमबीच जीवन प्रवेश रोकामगरले ’मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानकै देवकोटा सभाकक्षमा ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
यस अवसरमा कुलपति राईले प्रतिष्ठानबाट प्रकाशित मगरभाषाको साहित्यिक पत्रिका ‘मिक’ को विमोचन गर्दै समावेशी ढंगबाट सम्पूर्ण भाषाभाषीको स्वामित्वबोध हुने गरी प्रज्ञा प्रतिष्ठानले काम गरिरहेको बताए ।
साथै मगरभाषाको साहित्यिक पत्रिका मिक जस्तै तामाङ,राई र गुरुङलगायतका ओझेलमा परेका विभिन्न मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी स्वागत मनतव्यका क्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कुष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै मगरभाषा–साहित्य हामी सबैको सम्पदा भएकाले यसको संरक्षण, प्रवद्र्धन र विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यको उत्थान गर्नमा प्रतिष्ठान लागि परेको बताए ।
क्रमशः सम्पूर्ण मातृभाषीको साहित्य सिर्जनालाई उच्च प्राथमिकता दिने बताउँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए । यस कार्यक्रममा मिक पत्रिकाको परिचय प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जाली मगरले गरेका थिए ।
यस कार्यक्रममा जीवनप्रवेश रोका मगरद्वारा प्रस्तुत ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्रमाथि पूरक सुझाव डा.टीपी धमला, कर्णबहादुर बुढामगर,नन्दबहादुर घर्तीमगर, सुमित्रा बुढामगर, गौबहादुर आलेमगर, गोपाल पुनमगर र गुप्तबहादुर रानामगरले राखेका थिए । यस कार्यक्रममा वाम्बुले राई भाषाका कवि एलिना वाम्बुले राई ,गुरुङ भाषाका कवि छम गुरुङ र रानाथारू भाषाका कवि रोहित रानाथारूले आ–आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।
यसैगरी ‘मिक’ का प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी, कार्यकारी सम्पादकमा प्रज्ञासभा सदस्य डा.विष्णुकुमार सिञ्जालीमगर ,सम्पादक मण्डलमा जीवनप्रवेश रोकामगर,जगबहादुर बुढामगर ,मनकुमारी ठाडामगर (मनु),हिरामती रानामगर र हेमा आलेमगर ’बोगी’ तथा सल्लाहकारमा प्रा.डा. केशरजङ बरालमगर, लोकबहादुर थापामगर र कर्णबहादुर बुढामगर रहेका मिकको पहिलो अंकको विमोचन प्रज्ञा प्रतिष्ठानका कुलपति राईले गरेका थिए । कार्यक्रमको उद्घोषण तथा सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
– गणेश लोहनी
१.
आफै बुझाउँदै भन्छन् हाक्काहाकी दाम चोर्यो
लोकाचार त्यागि गुफा पस्छन् भन्छन् घाम चोर्यो
सत्कर्मले अरूको मन जित्न दिँदैन यो आडम्बर
मित्थ्यारोपमा उत्रन्छन् रहिम चोर्यो, राम चोर्यो ।।
२.
न निहुँ न न्याय खोज्छन् झुकि झुकि जिउनेहरू
विन्दास जिन्दगीका थाङ्ना फुकी फुकी सिउनेहरू
जुन गोरुको सिङ छैन हो उसैको नाम तिखे कठै
आदर्शका गुड्डि हाँक्छन् लुकि लुकि पिउनेहरू ।।
३.
उठ साथी भालेको त्यो डाँकोसँगै उठ
अरनीको मीठो अन्तिम फाँकोसँगै उठ
देश लुट्नेहरूलाई कालापानी कटाउन
हात हातमा मशालको राँकोसँगै उठ ।।
– मेघनाथ भट्टराई
हथियारको व्यापार हुन्छ अर्बौंको कारोबार
अबोध बाल बालिकाको हातमा बेखबर ।।
बनाउने कोही सजाय सधैं निर्दोष बारम्बार
हथियारको व्यापार कसले गर्छ कारोबार ।।
अफ्रिका, अरब, एशिया अशान्त सधैँ निरन्तर
प्राकृतिक खानी लुटेर मूल्य तोक्ने कारोबार ।।
सुडानको सुनखानी जनताको बेहाल बराबर
अफगानी यूरेनियम अमेरिकाको लुटको भन्डार ।।
यूरोपले सदियौं लुट्यो अमेरिका भयो तयार
धर्मको नाममा लडायो जातीको भयो नरसंहार ।।
टुटफुटको जालो भत्काउन उठ मानव भइ तयार
मानवीय रगत मूल्यको गर्न दिनु हुँदैन कारोबार ।।
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको आयोजनामा गत शनिबार डायस्पोरामा सक्रिय साहित्यकार प्रतिमा केसी ‘प्रवासी’को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका नेपाली मूलका उपमेयर जीत रानाभाट, कवि भूपी शेरचनका समकालीन डा. वीरेन्द्र अमात्य, अनेसासका सल्लाहकारद्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङले संयुक्तरुपमा उक्त कृतिको विमोचन गरेका हुन् ।
कृति नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं र शहीद नारायण पोख्रेल रामापुर क्याम्पस रुपन्देहीमा पनि गत मंसिरमा उक्त कृति विमोचन गरिएको थियो । प्रवासी मन मुक्तक संग्रहमा १ हजार १ सय १२ वटा मुक्तकहरु समावेश छन् । जुन अहिलेसम्मको सबैभन्दा ठूलो संख्याको कृति मानिएको छ ।
रुपन्देहीको सैनामैना घर भइ हाल बेलायतमा बसोबास गर्दै आएकी प्रतिमा केसी विभिन्न साहित्यक तथा सामाजिक संघसंस्थामा सक्रिय नाम हो । उनी हाल अनेसास बेलायतको कोषाध्यक्ष तथा बेलायत मुक्तक प्रतिष्ठानको उपाध्यक्ष रहेकी छन् । प्रतिमा केसीको कविता संग्रह “पानीको विद्रोह” २०७५ सालमा प्रकाशित भएको थियो भने विभिन्न प्रकाशनहरुमा उनका फुटकर रचनाहरु प्रकाशित रहेका छन् ।
अनेसास बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान, नेपाली साहित्यकामूर्धन्य साहित्यकारहरुको सम्झना, अनेसास बेलायतका सदस्यहरुको हालै प्रकाशित कृतिहरुको विमोचन तथा कृतिकारहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा अनेसासका सदस्य जीत बहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह “यानीमाया” र डा. रुपक श्रेष्ठ सम्पादित “सरुभक्तका मुक्तकहरु”को पनि विमोचन गरिएको थियो ।
स्थानीय विभिन्न संघसंस्थाको प्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा सर्जकहरु प्रतिमा केसी र जीत बहादुर छन्त्यालले आफ्ना कृतिबारे संक्षिप्त चर्चा गर्दै केही मुक्तकहरु वाचन गरेका थिए भने डा. रुपक श्रेष्ठले सरुभक्तको मुक्तकको इतिहास र संरचनागत पक्षबारे चर्चा गर्दै उनका केही मुक्तकहरु वाचन गरेका थिए । त्यसै गरी कार्यक्रममा सहभागी साहित्यकारहरुले आफ्नो रचनासमेत वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाटले सम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमले सबैलाई नेपाल र नेपाली साहित्यसँग निरन्तर जोड्ने र नेपालीत्व बचाउन सहयोग पुग्ने बताए ।
काठमाडौं : भारतको डुवर्सस्थित लाटागुड़ीमा आयोजित ‘थिंकर्स एण्ड राइटर्स पीस मीट’ कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको कार्यक्रम शनिबार शुरु भएर आइतबार समापन भएको हो ।
एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा ‘त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह’ र ‘इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च’को संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी भएका थिए ।
‘इकोलजी एण्ड इकोपोइट्री’ थिममा आयोजना भएको कार्यक्रमको उदघाट्न प्रख्यात लेखक पद्मजा अयंगर पेड्डी (हैदराबाद) र राधेश्याम लेकाली (साहित्य पत्रकार संघ काठमाडौं नेपालका अध्यक्ष) लगायतले संयुक्त रुपमा गरेका थिए । उनीहरुलाई ‘लिटरेचरी अवार्ड’बाट सम्मानित पनि गरिएको थियो ।
पश्चिम बंगाल सरकारका सिएमओ सुभाशिष घोषको अध्यक्षता प्रारम्भ भएको उक्त दुई दिवसीय कार्यक्रमको मूल विषय प्रकृति, साहित्य अनि समाज रहेको थियो । कार्यक्रममा यी विषयहरू कसरी एक अर्कामाथि निर्भर छन् भन्ने विषयमाथि विभिन्न वौद्धिक एवं कविहरूले विचार व्यक्त गरेका थिए । कार्यक्रममा बहुभाषिक कविगोष्ठीको पनि आयोजना गरिएको थियो । जसमा ६० भन्दा बढी कविहरुले आआफ्नो कविता वाचन गरेका थिए ।
वाचनमा कोलकाताबाट बङ्किमचन्द्र चट्टोपाध्यायका पञ्चम पीढ़ी, कवि जयदीप चट्टोपाध्याय, नेपालबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बंगलादेश कवि रिख्तार हुसैन, आसामबाट कवि सुशान्त मोहन देव, खरसाङबाट कवि एवं साहित्यकार आशा मुखिया लामा, सिलगढ़ीबाट कविहरु लतिका जोशी, उषा नन्दी गहतराज, पौलमी दास मैत्रको विशेष सहभागीता रहेको थियो ।
कार्यक्रममा बंला साद्री अनि सिलेटी भाषाका विभिन्न कवि तथा साहित्यकारहरू कोलकाता, सिलगढ़ी, जलपाईगढ़ी र कुचबिहारबाट उपस्थित भएका थिए भने डुवर्सबाट नेपाली साहित्य विकास समितिका सदस्यहरू कवि एवं पत्रकार अजय खड़का, कवि एवं गीतकार बेग बसन्त थापा, कवि अबीर खालिङ, कवि गणेश गजमेर र समालोचक तथा समीक्षक रूपेश शर्मा आदिको पनि उपस्थिति रहेको थियो ।
त्रिस्रोता साहित्य ओ प्रवाहको तर्फबाट अध्यक्ष सुब्रत दत्त साथै बलराम सरकार, सुदीप शाह, डलि देब, गायक किङ्सुक भौमिक, राजा चक्रवती, स्नेहा मैत्र, पारोमिता बिश्वास, गौरी चौधरी र साहित्य, संस्कृति एवं नाट्य क्षेत्रका दिग्गजहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम पहिलो दिनको संचालन डा. सुदिप्त चट्टोपाध्याय, डाइरेक्टर शिशु मंगल हस्पिटल तथा सचिव, आइ. एस. आइ. एस. आरले गरेका थिए भने दोस्रो दिनको कार्यक्रमको सञ्चालन त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका संयोजक तथा कवि किरण मजुमदारले गरेका थिए । कार्यक्रमको सम्पूर्ण व्यावस्थापना त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका सहसभापति तथा सिलगढ़ीका ख्यातनामा व्यवसायी सुब्रत दत्तले गरेका थिए ।
कार्यक्रममा विभिन्न पुस्तकहरूको लोकार्पण, सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन समेत गरिएको थियो । त्यस्तै अनुवाद एवं सर्जक उषा नन्दी गहतराजद्वारा अनुवादित, किरण मजुमदारद्वारा सम्पादित प्रख्यात हिन्दी कवि राजेन्द्र परदेशीको कविता संग्रह ‘राजेन्द्र परदेशी की कविताएँ’ को बाङ्ला अनुवाद ‘राजेन्द्र परदेशीर एकक कविता गुच्छ’को विमोचन पनि गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies