काठमाडौं : युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ ।
उपन्यासबारे लेखक समर्पण भन्छन्, “मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।”
छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु, लोप हुनु हो ।
सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ । महत्वकांक्षी किताबहरूको सूचीमा प्रकाशन गरिएको यस उपन्यासमार्फत नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ ।
जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन् । उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ (२०७६ र २०७७) पुरस्कृतसमेत भएका थिए ।
३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रुपैयाँ रहेको छ ।