काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीका १० अल्पसंख्यक आदिवासी भाषालाई समेटेर ‘सिरुवा–जातिरि’ नामक बहुभाषिक पत्रिका प्रकाशित गरेको छ ।
यसअघि पनि विभागमार्फत ९ वटा मातृभाषा पत्रिका निस्किएको र ‘सिरुवा–जातिरि’ सहित अहिले १० वटा पत्रिका प्रकाशन भइसकेको प्रतिष्ठानले जनाएको छ । यी पत्रिकामा ४६ वटा मातृभाषामा लेखिएका साहित्यिक रचनादेखि विश्लेषण र इतिहाससम्म समेटिएको छ ।
२६औं मातृभाषा साहित्य शृंखलाको उद्घाटन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई ले मातृभाषा पत्रिकाको यो यात्रा नेपाली साहित्य र संस्कृतिको पुनर्जागरणको चरण भएको बताए । उनले आफ्नो कार्यकालको अढाइ वर्षमै मातृभाषालाई प्राज्ञिक सत्तासँग जोड्न पाएकोमा गर्व लागेको बताए ।
कुलपति राईले जेन्जी पुस्ताको विद्रोही भावनाले नेपाली समाज, संस्कृति र राजनीतिमा नयाँ अध्याय ल्याएको स्मरण गर्दै साहित्य र संस्कृतामा यसको प्रभावबारे अझै अध्ययन हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा धिमाल जातीय विकास केन्द्रले राई र सदस्य–सचिव डा. धनप्रसाद सुवेदीलाई सम्मान गरेको थियो ।
सदस्य–सचिव सुवेदीले लोपोन्मुख भाषा र संस्कृतिको जगेर्ना सबैको सामूहिक जिम्मेवारी भएको बताउँदै सहकार्यमा जोड दिए ।
त्यसैगरी विभाग प्रमुख र ‘सिरुवा–जातिरि’का प्रधान सम्पादक राजन मुकारुङ ले झापा, मोरङ र सुनसरीका लोपोन्मुख भाषालाई एउटै पत्रिकामा ल्याउनु नयाँ पुस्ताका लागि प्रेरणादायी भएको बताए । उनका अनुसार नयाँ पुस्ताले जेन्जी पुस्ताको जोश आत्मसात् गर्दै मातृभाषाको सौन्दर्यलाई अगाडि बढाउन सके मात्र यसको संरक्षण र सम्वर्धन सम्भव हुन्छ ।
कार्यक्रममा प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जाली ले ‘मगर ढुट भाषाको साहित्य’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, तेजेन्द्र ताजपुरिया ले रबिलाल ताजपुरियासँग सहलेखन गरेको ‘ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि भाषा आयोगका निवर्तमान सदस्य अमृत योन्जन, प्रा. श्रीराम उपाध्याय, पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले सुझाव दिएका थिए ।
शृंखलामा वाम्बुले राई भाषामा एलिना राई, बैतडेली भाषामा कर्ण दयाल सोराडी र शेर्पा भाषामा डेण्डी शेर्पा ले कविता वाचन गरेका थिए ।
पत्रिकाको सम्पादक मण्डलमा बेचन उराँव, जीवनकुमार धिमाल, दिलिप बास्के, जगदीशप्रसाद ताजपुरिया र कार्यकारी सम्पादकमा डा. सोमबहादुर धिमाल रहेका छन् । कार्यक्रमको सञ्चालन साहित्यकार शोभा सुनुवार ले गरेकी थिइन् ।