तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पर्वते राजा नामले परिचित लोक तथा दोहोरी गायक राम चन्द्र (आरसी) पौडेल कतार आउने भएका छन् । पर्वत समाज कतारको वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन केही समयदेखि बेलायतमा रहेका उनी सिधै कतार आउने भएका हुन् । संस्थाले बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्ने उद्घोष गरी आगामी अप्रिल २६ तारिकमा नज्मास्थित कलीकोट रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
पौडेलसहित गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगना निरु श्रेष्ठ सहित डेढ दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष रघुनाथ शर्माले मध्यान्हलाई जानकारी दिए ।
उनले सांगीतिक प्रस्तुतिका लागि कतारमा श्रम गरिरहेका प्रतिभाशाली कलाकारलाई समाजले प्राथमिकतामा राखेको र संस्था स्थापनादेखि नै पर्वत समाजले कतारमा स्थापित विभिन्न संघसंस्थासँग सहकार्य गर्दे आएको स्मरण गर्दै अध्यक्ष शर्माले अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफूले पनि सबैबाट साथ सहयोग पाउने अपेक्षा गरेको बताए ।
बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्नुको उद्देश्य प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारीबाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाको भौतिक संरचनाहरूको पुनः निर्माण तथा अन्य कार्यमा सहयोग पुर्याउने रहेको अक्षय कोषका सचिव सन्तोष क्षत्रीले जानकारी दिए । अक्षयकोष मुनाफा रहित जनहितकारी रहेकोले यसलाई पारदर्शी एवं व्यवस्थित रूपमा दीर्घकालीन बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता गरेर अगाडी बढ्ने प्रक्रियामा रहेका अक्षयकोषका अध्यक्ष अजय विश्वकर्माले बताए ।
संस्थाले कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पूर्ण संघ–संस्था, समाजसेवी, बुद्धिजीवी एवम् पत्रकारहरूलाई निमन्त्रणा पठाइ सकिएको भन्दै सहभागिताका लागि अनुरोध गरेको छ । विविध सांस्कृतिक कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निःशुल्क गरिएकोले पर्वतेली दाजुभाइ तथा दिदीबहिनीलाई सहभागिताका लागि विशेष आह्वान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रमका लागि आधिकारिक सञ्चार सहयोगी संस्थाको रूपमा रहेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न यहाँ आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो आग्रह गरेका हुन् ।
“आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भिर हुनुपर्छ भन्ने म ठान्दछु”, राष्ट्रपतिको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।
त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए । कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारेका थिए ।
दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताएका थिए । राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवम् सहकार्य भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलले कतार नेपाली कामदारहरूका लागि वैदेशिक रोजगारीको एक प्रमुख एवम् आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए ।
राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्चविकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए ।
सुर्खेत : लेखक माधव चौलागाईंको पुस्तक 'सपादलक्ष कर्णाली' विमोचन गरिएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित पुस्तक पर्व कर्णाली लिटरेचर फेस्टिभलमा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रमुख तिलक परियार र लेखककी आमा मनसोभा चौलागाईंले सो पुस्तक विमोचन गरेका हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् । कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।
आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।
सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
-रेशमराज पाैडेल
आप्रवासी कामदारका दुई स्रोत मुलुक फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम बिन हमाद अल थानी अर्को स्रोत मुलुक नेपाल अवतरण गरेका छन् । विश्वकै धनी मुलुककाे हैसियतमा रहेको, करिब पौने ४ लाख नेपालीले राेजगारी गरिरहेको र इतिहासदेखि सुदूर भविष्यका दिनमा पनि भरपर्दाे मित्रराष्ट्रका प्रमुखको नेपाल भ्रमण नेपाल र नेपालीका लागि गाैरवको विषय हो । नेपालीहरुले कतारकाे समृद्धिका लागि गरेको कडा मिहिनेत, परिश्रम र इमान्दारिताकाे कतारले गरेको सम्मानका रूपमा पनि अमिरकाे भ्रमणलाई हेरिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, युवा तथा खेलकुद र प्रविधिका क्षेत्रमा नेपाल र कतारबीच आपसी हितका लागि सहयोगका प्रशस्त सम्भावना छन् । खाद्य प्रशोधन, पिउने प्रयोजनका लागि हिमालयन मुहानको पानी, पेट्रो केमिकल र जलविद्युत उत्पादन, बैंकिङ र वित्त लगानीका परम्परागत क्षेत्र हुन् भने पेट्रोलियम पदार्थ, हस्तनिर्मित गलैंचा, कपडा, हस्तकला, औषधीय जडिबुटी, दाल, अलैंची, अदुवा, ताजा तरकारी, फलफूल आदिको व्यापारमा सहकार्यकाे प्रचुर सम्भावना रहेकाे छ । यी पक्ष नेपालका पूर्वराष्ट्रपति रामवरण यादवकाे कतार भ्रमणका बेला नै पहिचान गरिएका क्षेत्र पनि हुन् । यसका अतिरिक्त स्वास्थ्य क्षेत्रमा सहकार्य र कतारी लगानीकर्ताले नेपालको जलविद्युत, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्ने सम्भावना छ । कतारले नेपालसँग कृषि, ऊर्जा र अन्य लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने अवस्था छ ।
तर नेपालले अपेक्षा गर्दैमा कतारबाट यी क्षेत्रमा लगानी आउन सक्ने देखिँदैन । कतारका अमिर थानीले नेपाल भ्रमणमा आउनुपूर्व फिलिपिन्स र बंगलादेशकाे भ्रमण गरिसकेका छन् । दुवै मुलुकले प्रष्ट याेजनासहित कतारी लगानीका क्षेत्र पहिचान गरी प्रस्ताव गरेका छन् ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले कतारलाई बंगलादेशको विशेष आर्थिक क्षेत्र (सेज)मा थप लगानी गर्न आग्रह गरेका छन् । बंगलादेशले कृषि उत्पादन र प्रशोधन, खाद्य प्याकेजिङ, स्मार्ट कृषि र मल उत्पादन जस्ता उत्पादनदेखि उपभोग, खाद्य आपूर्ति श्रृंखलालगायत विभिन्न क्षेत्रमा लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशले कतारलाई खाडी क्षेत्रमा बहुमूल्य विकास साझेदार भएको स्वीकार गर्दै दुई देशबीचको सहयोगसम्बन्धी पाँच सम्झौता र पाँचवटा एमओयूमा हस्ताक्षर गरेका छन् । उनीहरूबीच आगामी दिनमा द्विपक्षीय सहयोगलाई थप विस्तार र सुदृढ बनाउने याेजना छ । बंगलादेशमा पेट्रो केमिकल, ऊर्जा, मेसिनरी, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, सिरामिक्स, कृषि व्यवसाय, खाद्य प्रशोधन जस्ता क्षेत्रमा कतारी लगानीकर्ताले ठूलो प्रोत्साहन र सहयोग पाउन सक्ने भन्दै बंगलादेशका राष्ट्रपति शाहबुद्दीनले लगानीको प्रस्ताव गरेका छन् ।
यसका साथै, बंगलादेशी राष्ट्रपति शाहबुद्दीनले कतारका अमिरलाई बंगलादेशबाट थप युवा, दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि विशेषज्ञ र व्यावसायिक प्राविधिकहरू राेजगारीमा भर्ना गर्न आग्रह गरेका छन् । नेपाली कामदार फिलिपिन्स र बंगलादेशी कामदारहरूसँग प्रतिस्पर्धी मानिन्छन् । तर भाषा तथा अन्य पक्षमा नेपाली कामदार अपेक्षितरुपमा कमजाेर देखिन्छन् । कतारी लगानी भित्र्याउने विषयमा पनि प्रतिस्पर्धा चर्काे छ । कतारका अमिरले भ्रमण गरेका बंगलादेश र फिलिपिन्स दुवै मुलुकले कतारी लगानीलाई पूर्णरूपमा सुरक्षा गरिने प्रतिबद्धता जनाइसकेका छन् ।
दुई एशियाली मुलुकले लगानीका लागि कतारी लगानीकर्ताहरुलाई राताे कार्पेट बिछ्याइसकेको अवस्थामा उनीहरूभन्दा बढी आकर्षक प्याकेज निर्माण गर्नुपर्ने बाध्यता नेपालसामु खडा भएको छ । तर व्यक्तिगत स्वार्थलाई सर्वेसर्वा ठानिरहेका नेपाली प्रशासन र राजनीतिक नेतृत्वले कतारी लगानीका लागि वातावरण बनाउने विषय तत्कालै विश्वास गरिहाल्ने अवस्थामा देखिँदैन । खासगरी १९ वर्ष पुरानो श्रम सम्झौतामा प्रगति हासिल गर्न नसकेको सन्दर्भमा कतारी लगानी आकर्षित हाेला त ? नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेको व्यक्तिवादी साेचले यस प्रश्नको सकारात्मक उत्तरकाे अपेक्षा गरिहाल्नु पनि हताराे हुनेछ ।
काठमाडौं : मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे ।
स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।
यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए ।
बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उहाँ आज अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।
तनहुँ : तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।
डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए । उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ-छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो ।
त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई-दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको थियो । भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उन बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनका कर्मचारी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ । आगलागीबाट वन जोगाउन सचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा प्रचारप्रसार गरिएको छ । माइकिङका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।
डिभिजन वन मातहतमा अग्नि नियन्त्रण कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वनमा डढेलो लागेको सूचना आउनेबित्तिकै टोली परिचालन गर्ने गरिएको डिभिजन वनका अर्का वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
ठूलो परिणाममा आगलागी र जोखिम हुने देखिएमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँग समन्वय गरी आगो नियन्त्रणको प्रयास गरिएको छ । तनहुँमा सामुदायिक वन छ सय २४, कबुलियती वन चार सय ८५ र धार्मिक वन ११ वटा रहेका छन् । खडेरी मौसम रहिरहे जेठ महिनासम्म आगलागीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बन अधिकृत पण्डितले बताए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गर्थ्यो ।
नेपाल र कतार दुवै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रुपमा छन् ।
दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौंमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो ।
यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो ।
दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौंमा सम्पर्क कार्यालय खोलेको थियो । नेपालका उद्यमीहरु कतारमा संगठितसमेत भएका छन् । सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु संगठित भएर संस्था दर्ता भएको थियो ।
कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो । कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो । कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो । यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रुपमा कतारले लिँदै आएको छ ।
विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन् । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् ।
सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए । त्यसैगरी, सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए ।
तत्कालनी सभामुख कृष्णबहादुर महराले सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थिए । त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए ।
कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए । कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधी सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए । कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए ।
कतारको योजना तथा तथ्यांक प्राधिकरण (प्लानिङ) एन्ड स्टाटिस्टिक अथोरिटीको तथ्यांकअनुसार कतारको जनसंख्या २०२४ मार्च महिनासम्ममा ३१ लाख १९ हजार पाँच सय ८९ बराबर छ । जसमध्ये पुरुषको जनसंख्या २२ लाख १२ हजार चार सय ६८ र महिलाको संख्या नौ लाख सात हजार एक सय २१ बराबर छ । कतारमा आर्थिकरुपमा सक्रिय जनसङ्ख्या करिब ८७ प्रतिशत हाराहारी छ ।
कतारले सन् २०२३ को पहिलो त्रैमास अवधिसम्ममा गरेको श्रमशक्ति नमुना सर्वेक्षण (लेबर फोर्स स्याम्पल सर्भे) अनुसार कतारमा शून्य दशमलव एक प्रतिशत हाराहारीमा मात्रै बेरोजगारी रहेको छ ।
कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ । कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ ।
नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा रु एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र रु नौ करोड १९ लाख बराबरको निर्यात भएको छ ।
नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैंची कतारमा निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दुध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात हुने गरेको छ । रासस
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे ।
“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौं”, प्रधानमन्त्री दाहालले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।”
नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए । नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटिरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिति थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies