मनाङः नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् ।
विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन ।
बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन् । विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन् । विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ ।
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिए । उनले भने, ‘याम शुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ ।’
अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उनले बताए । मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताए । मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताए । उनले भने, ‘पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन् ।’ याम शुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उनले बताए ।
दैनिक रुपमा यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले दैनिक रुपमा मनाङमा पर्यटक आउने क्रम शुरु भएको जानकारी दिए । उनका अनुसार यहाँ दैनिक रुपमा ७० भन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । उनले भने, ‘विस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटल पूर्ण रुपमा भरिभराउ हुने गर्दछन् ।’
दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको शुरुवात हुन्छ ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारी साधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै यात्राको शुरुवात गर्दछन् । रासस
ललितपुरः ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पुर्याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन ।
काठमाडौं उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्र खुट्टे पाटीको अहिले एउटा पिल्लर अर्थात् खुट्टा भूकम्पले क्षति पुर्याएको थियो । पार्टी प्रयोगविहीन छ ।
रातो मच्छिन्द्रनाथको १२ वर्षे रथारोहन समयमा सोह्र खुट्टेमा रातो मच्छिन्द्रनाथको रथलाई बास बसाल्ने गरिन्छ । त्यसै समय सोह्र खुट्टे पाटीमा कुमारीलाई राख्ने चलन छ । १२ वर्षमा एकपटक बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथलाई पाटन क्षेत्रमा घुमाएपछि पुनः बङ्गमतीमा पुर्याउने परमपरा छ ।
सोह्र खुट्टे पाटीमा धेरै वर्षपहिले भत्तपुर, काठमाडौं, कीर्तिपुरबाट बुङ्गमती हुँदै डुगुछाप, छुम्पी र पर्सीडोल पदैल यात्रा गर्नेहरु अबेर भएपछि बास बस्ने गरेको ६१ वर्षीय मानकुमार महर्जन बताउँछन् । उनले भने, ‘सोह्र खुट्टे पाटी ऐतिहासिक पाटी हो । अन्य पाटीहरुभन्दा यो पाटी फरक छ । भूकम्पले भत्काउनुभन्दा अघि राम्रो थियो तर अहिले त जीर्ण अवस्थामा छ ।’
इतिहास बोकेको सोह्रो खुट्टे पाटी मुख्य सडक छेउमा पर्छ । यदि सडक विस्तार गर्नुपरेमा पाटीलाई अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । ललिपुर महानगरपालिका–२२ का वडाअध्यक्ष सागर तुलाधर समितिसँग सल्लाह गरेर पाटीलाई हालको स्थानभन्दा पछाडिी सारेर पुनः निर्माण गर्ने बताउँछन् ।
उनका अनुसार महानगरपालिकाबाट सोह्र खुट्टे पाटी पुनःनिमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ‘भूकम्पले भत्काएका अन्य पार्टीहरु पुनः निर्माण भइसकेका छन् । धेरै लामो इतिहास बोकेको सोह्र खुट्टे पाटी पुनः निर्माण हुन सकेको छैन । अब यो वर्ष नै हामी यसलाई निर्माण गर्ने तयारीमा छौँ’, उनले भने । रासस
काठमाडौंः अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गरेका थिए । प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ ।
धलौटको यस सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजीको छ । सालिक निर्माण गर्न एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले जानकारी दिए । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व. सिंहले सर्वोच्च कमान्डरको भूमिका निर्वाह गरी नेपाली जनतालाई पुनः प्रजातन्त्र प्राप्तिमा पुर्याएको योगदानको कदरस्वरुप भक्तपुरमा उनको सालिक निर्माण गरिएको हो ।
विसं २०५४ मा स्व. सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गरेका थिए । ढुङ्गेल भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिमाको अनावरण असोज २ गते स्व. सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कूल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल सरकार, बागमती प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहकार्यमा तयार गरी सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको छ ।
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रबारे विज्ञ तथा अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशन गराएर भविष्यको पुस्तालाई प्रजातन्त्रप्रति जागरुक गर्ने थलोका रूपमा यस बाटिकाको विकास गर्ने लक्ष्य लिएकोे पनि समितिले जनाएको छ । रासस
बागलुङः बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आइरहेका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् ।
सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ ।
दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताए । दैनिक १० लिटर दूध उत्पादन गर्ने गरेको बताउँदै उनले बिक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको बताए । चन्द्रबहादुरले छिमेकीले दूध बेचेर वार्षिक लाखौँ कमाउने गरे पनि आफूहरुको दूध बिक्री नहुँदा आम्दानी गर्न नसकेको दुखेसो पोखे । जातीय छुवाछूत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको उनको भनाइ थियो ।
‘दलित समुदायले उत्पादन गरेको दूध बिक्री नहुँदा धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दूध बिक्री हुन्छ’, विकले भने, ‘यहाँ हामी सात घर परिवार छौँ । सबैले पाँच–१० लिटर दुध दैनिक उत्पादन गर्छन् । उत्पादन भएको आधा दूध बिक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो । नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने ?’
गाउँमा आफूहरुले उत्पादन गरेको दूध अरूको सँग मिसाउँदा गाडी दुर्घटना हुन्छ भन्ने गरेको उनले सुनाए । दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयवासीले दूध नकिन्ने उनको भनाइ थियो । दूध बिक्री नभएपछि अचेल भैँसीपालन पनि कम गर्न थालेको विकले बताए ।
चन्द्रबहादुर जस्तै बागलुङमा धेरै दलित समुदायका घरपरिवारले उत्पादन गरेका दूध बिक्री हुँदैन । जिल्लामा सञ्चालित दुग्ध सहकारीमा बारम्बार दूध मिसाउनका लागि आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसानको भनाइ थियो ।
दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरा लगायतका वस्तुहरु बिक्री हुने गरे पनि दूध बिक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताए । सरकारले डेढ दशकअगाडि छुवाछूतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्दै आएको उनले गुनासो पोखे ।
दूध उत्पादक सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँ–गाउँबाट सहकारीले सङ्कलन गरेर ल्याएको दूध आफूहरुले बिक्री विदरण गर्दै आएको बताए । गाउँबाट सहकारी संस्थाहरुले क–कसको दूध ल्याउँछन् भन्ने जानकारी नभएको भन्दै सबै समुदायको दूध आफूहरुले बिक्री गर्दै आएको उनको भनाइ थियो । दूध उत्पादन, प्रशोेधन र बजारीकरण गर्दै आएको सङ्घले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमले बताए ।
उनका अनुसार दुग्ध उत्पादक सङ्घमा हाल १४ दुग्ध सहकारी संस्था आबद्ध रहेका छन् । दैनिक दुई हजार पाँच सय लिटर दूध बिक्री वितरण हुने गरेको र सङ्घमा झन्डै एक हजार पाँच सय कृषक आबद्ध रहेको गौतमले जानकारी दिए । सहकारीले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेको उनले बताए ।
अध्यक्ष गौतमका अनुसार मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ । बिक्री नभएको दूधबाट दही, पनिर, छुर्पी लगायतका परिकार बनाई बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ । ‘हामीले सबैको दूध राख्छौँ, गाउँ–गाउँका सहकारी संस्थाले क–कसको दूध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी सङ्घमा आबद्ध भएका जनसुकै किसानको दूध हामीले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पुर्याउँछौँ, बिक्री वितरण गरेर बाँकी रहेको दूधलाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने गरेका छौँ’, अध्यक्ष गौतम भने ।
बागलुङमा सबैभन्दा बढी दूध उत्पादन काठेखोला गाउँपालिकाका साथै बागलुङ र जैमिनी नगरपालिकामा हुने गरेको छ । रासस
तनहुँः व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुगे । उमेरले डाँडा काटिसके पनि उनमा जोश र जाँगर भने सोह्र वर्षे जावनीको भन्दा कम छैन । साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेशामा लागेका उनले एक सय रोपनीभन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आएका छन् ।
आठ वर्षसम्म अधिकृतस्तरको सेवा गरेका गुरुङले विसं २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गरेका हुन् । भारतको कानपुरमा बिएसी पास गरेर आएपछि नेपालका विभिन्न जिल्लामा जागिर गर्दै तनहुँमा सरुवा भएर आएपछि कृषि क्षेत्रतर्फ आफ्नो मोह बढेको उनले बताए ।
जिल्लामा आएको चारवर्षपछि अन्यत्र जिल्लामा सरुवा गभएपछि जागिरभन्दा कृषि पेशातर्फ आर्कर्षित भएको गुरुङ्को भनाइ थियो । यस जिल्लाबाट अन्यत्रै सरुवा गरेपछि बगैँचा छाड्ने कि जागिर भन्ने दुबिधा भयो र अन्ततः जागिर नै छोडिएको उनले बताए ।
विगत वर्षमा वार्षिक तीस लाखदेखि चालिस लाखसम्मको बाँस र बाँसका बिरुवा बिक्री गर्दै आए पनि गतवर्ष मुस्किलले दश लाख बराबरको बिक्री गरिएको गुरुङले बताए । महामारीको रुपमा फैलिएको कोरोनापश्चात् मानिस विदेश पलायन हुने क्रम बढेसँगै कृषि पेशा ओझेलमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
‘अबको एक वर्षभित्र अगरउड बिक्री गर्न लायक भएकाले करोडौँका अगरउड बिक्री गर्ने योजना छ’, गरुङले भने, ‘छब्बीस वर्ष पूरा भएका दुई सय ५० वटा रुखमा कृत्रिम रसायन दिई अगरउड उत्पादन गर्न लागेको छु । भारतको आसामबाट प्रतिबिरुवा पचासमा खरिद गरेर व्यावसायिकरुपमा बिरुवा लगाइएको अगरउड बिक्री हुन थालेपछि मात्रै खुसीको क्षण आउने छ ।’
अगरउडको खेतीसँगै उहाँले बर्सेनि करिब दुई/तीन लाखको अगरउडका बिरुवा बिक्री गर्दै आएका छन् । रित्तो डोको लिएर आएको थिएँ, छिट्टै भरी नोट लिने सपना बुनेको छु’, गरुङले भने, ‘सरकारले अगरउड र गाँजा खेतीलाई बढवा दिनसके देशको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ ।’
अगरउडको बोक्राबाट सिन्केधूप र बाटेको धूप बनाउन सकिन्छ भने सक्कली अगरउड सुनको मूल्य बराबरमै बिक्री हुने अति महँगो बास्नादार बस्तु उत्पादन हुन्छ । किसान गुरुङका बगैँचामा अगरउडका साथै सुगन्ध कोचिला, तेजपात, श्रीखण्ड, एभोकाडो, सुन्तला, कागती, आँप, लिची, रुद्राक्षलगायत फलफूल र जडीबुटी छन् ।
त्यसैगरी बाँसतर्फ स्थानीय, इण्डियन बाँस, लठ्ठे, नियाले चिल्ले, तारुका, ढुङ्ग्रे, मला, तामा, धनुलगायत बीस प्रजातिका बाँस अहिले बगैँचामा छन् । शुरुमा बयालिस प्रजातिका बाँस लगाए पनि केही चोरी भएको र केही मरेका कारण बाँसका प्रजाति घट्दै गएको उनले बताए ।
कृषि क्षेत्रमा नै जीवन बिताउँदै आएका किसान गुरुङमा पछिल्लो समय दुबै मिर्गौलाको समस्या भएकाले केही समय अघिदेखि डायलासिस गर्दै आएका छन् । डायलासिसमा मासिक पैतालिस हजार खर्च गरी उपचार गर्दै आएको उनले बताए । रासस
कन्चनपुरः कन्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उनको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउँदैनन् ।
पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्याउने गरेको उनको गुनासो छ । ‘अचेल दिनहुँ १५/२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ’, महावीर भन्छन्, ‘जङ्गल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन ।’ जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् ।
जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो–हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ । ‘हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ’, उनी भन्छन्, ‘बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ ।’
दोधारा चाँदनीमा जङ्गली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन् । शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ । विसं २०२२ देखि बसोबास शुरु भएको शिवनगरवासीलाई जङ्गली हात्तीको त्रास छ । ‘सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्’, चन्द्रकला मगर गुनासो गर्छिन्, ‘हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन ।’
हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उनले बताइन् । ‘धान र मकै सखाप पारिसक्यो, एक/दुई कट्ठाको धान बाँकी छ’, चन्द्रकला भन्छिन्, ‘यो पनि जोगाउन मुस्किल छ ।’
बर्सेनि हात्तीले क्षति पुर्याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । हात्तीकै कारण खेत बाँझो हुन थालेको छ । ‘बर्सेनि हात्तीले बालीमा क्षति पुर्याउँछ, खेती गर्दाको लगानी पनि उठदैन, अन्न किनेर खानुपर्छ, हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ’, स्थानीय वीरभान सुनार भन्छन् । रासस
लुम्बिनीः लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।
कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।
मातृ तथा शिशु स्वास्थ सेवातर्फ सीमित जनशक्तिका आधारमा गुणस्तरीय सेवा दिनुपरेको र हाल यस इकाइमा ७० जनाको जनशक्तिले सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा लिने अस्पताल भएको छ ।
सामान्य बिरामीसमेत अस्पतालमा उपचार सेवा लिन आउने हुँदा अस्पतालको जनशक्ति तथा साधन स्रोतले थेग्न कठिनाइ परेको उनले बताए । बिरामीको घर नजिकैको स्वास्थ्य केन्द्रमा समेत बर्थिङ सेन्टरमा उपचार सेवा उपलब्ध हुँदाहुँदै पनि यसै अस्पतालमा आउने गर्दा सीमित जनशक्तिद्वारा सेवा दिनुपरेको छ ।
पर्याप्त जनशक्ति र साधन स्रोत अभावमा पनि अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र लागिपरेका अध्यक्ष श्रेष्ठ बताउँछन् । मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरीय बनाउन नवजात शिशु सघन उपचार ९एनआइसीयू० विभागको आठ शय्यालाई विस्तार गरी १२ पुर्याउने र नवजात शिशु विशेष हेरचाह (एसएनसीयू) विभागलाई १३ शय्याको स्थापना गरी सेवा प्रदान गर्न थालिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पताल हो । दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीलाई सेवा दिन सक्ने यस अस्पतालको सामर्थ्य छ । तर यहाँ अस्पतालको क्षमताभन्दा पाँच गुना बढी बिरामी दैनिक सेवा लिन आउँछन् । दैनिक दुई हजार पाँच सयसम्म बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । अस्पतालले लुम्बिनी प्रदेशका १२ जिल्लासहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग विभाग र दन्त तथा छालाको लागि ओपिडी सेवा छन् । यसका साथै प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवा उपलब्ध छन् । नियमितरूपमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डट्स, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स) सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ ।
प्रसूति हुने महिलाको सङ्ख्या पनि सोही अनुपातमा छ । अस्पतालमा मातृ स्वास्थ्य सेवाका लागि मात्र वार्षिकरूपमा करिब ८० हजार सेवाग्राही आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा मातृ स्वास्थ्य सेवाका लागि आएका ५१ हजार तीन सय ९२ मध्ये १२ हजार दुई सय ७५ जनाले प्रसूति सेवा लिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या एक सय २५ छ । यो सङ्ख्या बिरामी चापको अनुपातमा थोरै भएको उनको भनाइ छ ।
परिवार कल्याण कार्यक्रमतर्फ अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसञ्चार, उत्प्रेरणा सेवा, निःशुल्क कार्यक्रमतर्फ सङ्घीय सरकारको सशर्त अनुदानतर्फ आव २०८९/८० मा नौ करोड ६० लाख विनियोजन गरिएको अस्पतालका लेखापाल घनश्याम भुसालले जानकारी दिए । यस्तै चालु आव २०८०/८१ का लागि सङ्घीय सरकारबाट अघिल्लो आवको कार्यक्रममा थप कार्यक्रम न्यानो झोला वितरण, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमसहित रु. ११ करोड ८४ लाख विनियोजन गरिएको भुसालले जानकारी दिए । रासस
पर्वतः पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिरोका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।
अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढा–टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।”
कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताए ।
स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन । गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल रु. ५० लाख माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताए । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम शुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।
तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्षमात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पछिल्लो समय ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिरोले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताए । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो ।
तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । घर्ती क्षेत्रीको कूलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए ।
“छेउमै रहेको ढुङ्गेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उनले भने, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।
जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या परेको स्थानीय लालबहादुर अधिकारीले बताए ।
कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले सात घर विस्थापित बनेका छन् भने यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको छ । पहिरोको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । तर प्रतिवेदन आउन भने बाँकी छ । लक्ष्मीप्रसाद सापकोटा/रासस
दमौलीः तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो ।
ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ रिजालले जानकारी दिए । प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भएअनुसार ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा हेलिप्याड छैन । अन्य आठ स्थानीय तहका ३८ ठाउँमा हेलिप्याड छन् ।
व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा सात, भिमाद नगरपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा एक, देवघाट गाउँपालिकामा आठ, आँबुखैरेनी गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १३ र घिरिङ गाउँपालिकामा एक हेलिप्याड रहेको छ ।
आँबुखैरेनी गाउँपालिका–२ को ढकालटार, भिमाद नगरपालिका–६ रङ्गशाला, देवघाट गाउँपालिका–१ को कोटा, वडा नं २ को कोटबैदी, ५ को क्युदी र १ को तिङ्गारमा हेलिप्याड बनाइएको छ । व्यास नगरपालिका–१ को निर्मल माविको खेल मैदान, ३ को दमौली खेल मैदान, ५ को आर्मी ब्यारेक, १२ को कोटकालिका मन्दिर, १४ को केशवटार माविको मैदान र ठीन टुँडिखेलमा हेलिप्याड छ । भानु नगरपालिका– १ र ५ मा हेलिप्याड छ ।
बन्दीपुर गाउँपालिका–१ को बानियाँटार, विष्णु मावि, छाप खेल मैदान, २ को भुमर्से खेल मैदान, ३ को कालिका मावि, शिव मावि, ४ को टुँडिखेल, ५ को विमलनगर, झारगाउँ खेल मैदान, कल्चोक खेल मैदान, ६ को धरमपानी र साराङघाटमा हेलिप्याड बनाइएको छ ।
घिरिङ गाउँपालिका–३ को डाँडाथोक करङसोरा, शुक्लागण्डकी नगरपालिका–७ को श्री नं ३ बाहिनी अड्डामा हेलिप्याड बनाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा आश्रयस्थल छैन । सात स्थानीय तहमा आश्रयस्थल नरहेको र त्यस्ता ठाउँमा आकस्मिक अवस्थामा सामुदायिक भवन तथा विद्यालय प्रयोग गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपाालकामा आश्रयस्थल नरहेको प्रशासन कार्यालयले जनाएको छ । भानु नगरपालिकामा पाँच, देवघाट गाउँपालिकामा तीन र बन्दीपुर गाउँपालिकाका छ ठाउँमा आश्रयस्थल रहेका छन् ।
सहायक प्रजिअ गैरेले भने, ‘अधिकांश स्थानीय तहमा आश्रयस्थल नरहेका तर ती स्थानीय तहमा सामुदायिक भवन विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिनेछ ।’ जिल्लाका अधिकांश स्थानीय तहमा आपतकालीन आश्रस्थल भने छन् । व्यास नगरपालिकामा दश, भानु नगरपालिकामा २०, भिमाद नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा १२, देवघाट गाउँपालिकामा चार, आँबुखैरेनी गाउँपालिकामा चार, बन्दीपुर गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा आठ ठाउँमा आपतकालीन आश्रस्थल रहेका छन् । रासस
कैलालीः धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ ।
उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ । तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन् । धनगढीमा रहेका तालको संरक्षण गर्ने हिसाबले १९ वटै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालको विवरण तयार गरिएको उपमहानगरका डिभिजन इन्जिनियर दिजराज भट्टले बताए ।
नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गर्ने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने इन्जिनियर भट्टको भनाइ छ । उनले नगर क्षेत्रभित्र रहेको अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षणका लागि पहल अघि बढेको बताए ।
उपमहानगरपालिकाले नगरका केही वडामा अतिक्रमण गरिएका तालको संरक्षण गरिसकेको जनाएको छ । उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने डिभिजनल इन्जिनियर भट्टको भनाइ छ ।
धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनःभरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको उनले बताए । पानीको पुनःभरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गरी संरक्षण गरिने उपमहानगरले जनाएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies