काठमाडौं : प्रतिनिधिसभाको सभामुखका निर्विरोध उम्मेदवार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट परेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै रिट हालेका हुन् । उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार रिटमा अदालतबाट ५ वटा विषयमा आदेश माग गरिएको छ । सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न र सापकोटाको विषयमा विशेष छानविन समिति बनाउने आदेश दिन पनि रिटमा माग गरिएको छ । प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता भएको थियो । सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनलाई १२ गते सभामुख निर्वाचित भएको घोषणा हुँदैछ ।
सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ । अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो ।
लामाको हत्यामा सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन् । सो जाहेरी दरखास्तलाई प्रहरीले दरपीठ गरेको थियो । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पठाउनुपर्ने भन्दै प्रहरीले दरपीठ गरिदिएपछि लामा सर्वोच्च गएकी थिइन् । लामाको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो । आदेशपछि प्रहरीले जाहेरी दर्ता ग¥यो ।
अदालत जाहेरी दर्ता गर्न मात्र भनेन, सापकोटालाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीलाई चिठी समेत काटेको थियो । यसैबीच तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सापकोटालाई मन्त्री नियुक्त गरेका थिए । उनको नियुक्ति विरूद्ध मानवअधिकारवादीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उनलाई मन्त्री नबनाउन आदेश त गरेन तर १५ दिनमा अनुसन्धानको रिपोर्ट अदालतमा पेश गर्न आदेश गरेको थियो ।
बाबुराम भट्टराईको मन्त्रिपरिषदले सापकोटाविरूद्धको जाहेरी दरखास्त र सर्वोच्चको आदेश समेत तामेलिमा राख्ने निर्णय गरेको थियो । भट्टराईमन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै लामाले सर्वोच्चमा फेरी रिट दायर गरेकी थिइन् । उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले भट्टराई मन्त्रिपरिषदको उक्त निर्णयलाई अन्तरिम आदेशले रोकेको थियो ।
सापकोटाको मुद्दामा अनुसन्धान गरेर रिपोर्ट बुझाउन अदालतले गरेको आदेश प्रहरीले कार्यान्वयन नगरेको भन्दै अधिकारकर्मी सुशील प्याकुरेलले तीनवर्षअघि प्रहरी विरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
लामाले दिएको रिटको अन्तिम सुनुवाई र प्याकुरेलको अवहेलना मुद्दालगायत सापकोटाका मुद्दालाई एकै साथ राखेर संवैधानिक इजलासले सुनुवाई गरिरहेको छ । यसअघि उक्त इजलासले सापकोटाविरूद्ध सत्यनिरूपण तथा मेलमिलाप आयोगमा मुद्दा परेको भए त्यसको मिसिल पठाउन आदेश गरेको थियो । संवैधानिक इजलासले सापकोटाको मुद्दामा माघ २२ लाई पेशी तोकेको छ ।
‘सापकोटामाथि कुनै मुद्दा छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबी गरेका छन् । शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन । सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको छ । उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नुको कुनै औचित्य छैन ।’
गृह जिल्ला चितवन केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै उनले प्रश्न गरे, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।’ प्रहरी प्रमुख को आउछ भन्ने कुरा सरकारले नै भन्ने उनको भनाइ थियो ।
सापकोटालाई सभामुख बनाउँदा राजीनामा
हत्या आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर आफूले राजीनामा दिएको बताएका छन् ।
प्याकुरेलले पछिल्लो समय सापकोटालाई सभामुख चयन गर्ने नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा मानव अधिकारवादीका तर्फबाट प्याकुरेल लगायतले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । प्याकुरेलसँगै पत्रकार तथा प्रकाशक कनकमणि दीक्षित पनि जोडिएका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई २०७४ चैत ९ गते राष्ट्रपतिले आफ्नो सल्लाहकार पदमा नियुक्त गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies