सन् २०१९ को डिसेम्बरबाट देखिएको फ्लू (कोरोनाभाइरस, जसलाई कोडिभ–१९ नाम दिइएको छ) को संक्रमणबाट आइतबार साँझसम्म १६६९ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको हुबेई प्रान्तबाट फैलिएको प्रकोपबाट हङकङ, फिलिपिन्स र फ्रान्समा एक–एकको मृत्यु भएको छ । चीन बाहिरका मुलुकमा मृत्यु भएका पनि चीनकै नागरिक रहेको खुलेको छ । आइतबार साँझसम्म ६९ हजार बढीलाई यो संक्रमण देखिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङले कोरोनाभाइरस विरुद्ध जनयुद्धकै घोषणा गरेका छन् । चीनको २२ प्रान्त र २५ देशमा फैलिसकेको संक्रमणले महामारीकै रुप लिए पछि राष्ट्रपति सीले जनयुद्धको घोषणा गरेका हुन् । राष्ट्रपति सीले जनयुद्धको घोषणा गर्नुको अर्थ कोरोनाभाइरस विरुद्ध सम्पूर्ण राज्य संयन्त्र लगाइएको बुझ्नुपर्छ । हुन पनि कोरोनाभाइरसबाट एक जना चिकित्सक कै मृत्यु भइसकेको छ भने दुई हजारको हाराहारीमा यसका संक्रमित भेटिएको छ । चीन सरकारले कोरोनाभाइरस रोक्न हवाई, रेल र सडक यातायात ठप्प बनाएको छ भने राज्य संयन्त्रलाई सम्पूर्णमा परिचालन गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले लिएको उदार नीति पछ्याउँदै विश्वभर चिनियाँ पुगेको र चीनमा विश्वका लाखौं रहेकाले कोरोनाभाइरस विश्वब्यापी रुपमा प्रमुख समस्या देखिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गर्नु र राष्ट्रपति सीले जनयुद्ध नै भन्नुले कोरोनाभाइरसको माहामारी नियन्त्रण कठिन परेको बुझ्न सकिन्छ । नेपाल चीनकै छिमेकी भएको र थुप्रै संख्यामा नेपाली चीनमा रहनु तथा चिनियाँहरु पनि नेपालमा रहेकाले यहाँको प्रमुख चासोका रुपमा कोरोनाभाइरस देखिनु सामान्य नै हो ।
शनिबार दिउँसो ४ बजे नेपाल एयरलाइन्सको ३३०–२०० वाइडबडी त्रिभुवन विमानस्थलबाट उडेदेखि आइतबार बिहान ३ः३८ बजे १७५ नेपाली ल्याएर खरिपाटी पु¥याएसम्मको खबर सञ्चार माध्यम, सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चहरुमा महत्वका साथ देखियो । यसको अर्थ नेपालमा कोरोनाको सन्त्रास असमान्य देखिन पुगेको छ । यसले सम्पूर्ण समाजलाई तरंगित र सन्त्रस्त बनाएको छ । अहिलेसम्म कोरोनाभाइरसकै कारण नेपालीमा भने यति ठूलो समस्या नदेखिए पनि कोरोना आतंक सर्वत्र देखिन्छ । पक्कै पनि फ्लुबाट सचेत हुनैपर्छ । किनभने, हावामा दौडिने फ्लूले जुनसुकै बेला महामारीको रुप लिन सक्छ । अझ नेपालजस्तो साधनस्रोतको प्रचुर अभाव खेपिरहेको देशमा नियन्त्रण सजिलो देखिन्न । तर, यसको अर्थ आतंकित हुने होइन । जसरी कोरोना आतंक फैलिएको छ, यसको ठाउँमा सचेतता आवश्यकता छ । सरोकारवाला र जिम्मेवार निकायबाटै आतंकित हुने बातावरण बनाउनु गैरजिम्मेवारीपन हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies