दाङ : बेरोजगार भएकै कारण डिप्रेसन, अपराध, आत्महत्या, आत्महत्या प्रयासका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् । तर, दाङका प्रमोद श्रेष्ठलाई भने बेरोजगारीले नै सफल काष्ठकलाकर्मीका रूपमा पहिचान दिएको छ ।
३७ वसन्त पार गरिसकेका श्रेष्ठले गणित विषयमा स्नातक उत्तीर्ण गरेका छन् । यो समयमा उनले धेरै संघर्ष गरे तर हार मानेनन् । सुरुमा उनले शिक्षण पेसा गरे । सोचेजस्तो भएन, पढाउन छाडिदिए । त्यसलगत्तै दाङमा एनसेलको शाखामा नाम निकालेर केही समय काम गरे । त्यहाँ पनि उनलाई चित्त बुझेन । जागिर छाडिदिए ।
त्यसपछि उनी पूरै बेरोजगार भए । भर्खरै बिहे गरेका, त्यसमाथि बेरोजगार । झनै समस्या भयो । श्रेष्ठका बुबा निजामती कर्मचारी । उनले पनि खरिदारमा मात्रै भए पनि जागिर गरे हुन्थ्यो भन्ने परिवारको चाहना थियो ।
जागिरमा उनलाई मन लागेन । सरकारी जागिरमा चासो भएन । पूर्ण बेरोजगार भएको महसुस भएको थियो श्रेष्ठलाई । आफ्नै गुजारा चलाउनका लागि भए पनि केही न केही काम त गर्नै पथ्र्यो । जागिर छाडिसकेका श्रेष्ठसँग कुनै लगानी थिएन ।
गाउँघरमा पाइने काठलाई आकार दिएर फर्निचरका सामग्री बनाउन थाले । अरूसँग छिना मागेर काठका ढोका, चौकसलगायतका फर्निचरका सामानहरू बनाउन थाले । सुरुका दिनमा रूखको छहारीमा काम काम नलाग्ने काठहरूको ढोका, चौकस बनाउन थाले ।
उनको काष्ठकला बाटो हिँड्ने मान्छेले मनपराएर किन्दिन्थे । त्यसपछि धेरैलाई थाहा भयो र झ्याल–ढोकालगायतका सामग्रीहरू बनाउन अर्डर पनि दिने गरेका उनले बताए । रूखको छहारीमुनि बनाएका झ्याल–ढोकाले खासै आफ्नो घर व्यवहार नचल्ने भएपछि ११–१२ वर्ष पहिले दाङ छाडेर काठमाडौंतिर लागेको उनले बताए ।
‘काठमाडौं पुगेपछि मेरो एक जना नाता पर्नेसँग भेट भयो, उहाँको काष्ठ फर्निचर थियो’, श्रेष्ठले भने, ‘त्यही काम गर्दै काष्ठकलासम्बन्धी काम सिकें ।’
काष्ठसम्बन्धी सम्पूर्ण काम सिकेपछि दाङ फर्केर आफ्नै उद्योग खोलेको बताए । दाङको घोराही उपमहानगरपालिका– १५ मा नेवारी काष्ठकला उद्योग संचालन गरेका छन् उनले । उद्योग संचालन गरेको पनि ११ वर्ष पुग्न लागेको उनले बताए ।
काष्ठकलासम्बन्धी साविक राप्तीकै उद्योग भएको उनको भनाइ छ । ‘काष्ठसम्बन्धी सम्पूर्ण काम उद्योगबाट हुने गरेको छ’, उनले भने, ‘सरकारी कार्यालय, मठ–मन्दिरका ढोका, भगवान्का मूर्तिहरू बनाइसकेका छौं ।’ बेरोजगार भएकै कारण आफू काष्ठकलामा लागेको बताउने श्रेष्ठले आफ्नो उद्योगमा केहीलाई रोजगारी पनि दिएका छन् ।
‘काम सानो ठूलो हुँदैन, आफूलाई जे मन लाग्छ, त्यही काम गर्नुपर्छ’, उनले विगत सम्झिँदै भने, ‘पढालेखा मान्छे भएर पनि किन काठसम्बन्धी काम गरेको होला भन्थे सबै जना ।’ उनी आफ्नो उद्योगमा काम मात्र गर्दैनन्, काठसम्बन्धी तालिम पनि दिने गर्छन् । शून्य लगानीमा व्यवसाय गरेका श्रेष्ठले अहिले १५ लाखको लगानी गरेको बताए ।
‘सुरुमा त शून्य लगानी नै थियो’, उनले भने, ‘गाउँघरमै हुने छिना र काठबाट काम सुरु गरेको हुँ ।’ उद्योगबाटै उनले महिनामा डेढदेखि २ लाख आम्दानी हुने गरेको बताए । हस्तकला मार्फत नै काठमा बुट्टा भर्ने गरेको उनले सुनाए ।
कलमले नक्सा कोरेर काठको बुट्टा भर्न कम्तीमा पनि १ हप्ता लाग्ने गरेको उनको भनाइ छ । पछिल्लो समय मन्दिर, सरकारी कार्यालयहरूमा झ्याल–ढोका तथा विभिन्न मूर्तिहरूको अर्डर आइरहेको पनि उनले बताए ।
सरकारी जागिर खाए हुन्थ्यो भन्ने सोच भएका उनका बुवा श्याम श्रेष्ठ अहिले छोराको प्रगति देखेर खुसी भएको बताउँछन् । ‘काठमा हातमार्फत आकर्षक बुट्टा भरेको देखेर आफैं दंग पर्छु’, उनले भने । उद्योगमा बझाङका सुजन दर्जी, दाङ तुल्सीपुरका डम्बर नेपाली, घोराहीका रीता जी. एम., सुशील जी. एम., रोल्पाका राम घर्तीलगायतले काष्ठकलासम्बन्धी काम गर्छन् ।