योगी योगेन/मध्यान्ह
दोहा, कतार : साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमतिवेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ । साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई आधार बनाउँदै नेपाली दूतावासले पनि नेपाली कामदारलाई यस्तो जानकारी गराएको छ ।
कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम गर्ने अवस्था नभएका कारण कम्पनी तथा फर्महरुले वैकल्पिक उपायबाट काममा लगाइ काम सम्पन्न गर्न सक्ने उल्लेख गरेको छ ।
यसका लागि मन्त्रालयले आवश्यक निर्देशिकाहरु तयार गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको जनाएको छ । साउदी कानूनमा भएको व्यवस्था पालना गर्न सबै निजी कम्पनी तथा फर्महरुलाई साउदी सरकारले अनुरोध गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।
साउदी श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न वाध्य बनाइएमा सोको उजुरी १९९११ नम्वरमा गर्न सकिने दूताबासले जनाएको छ ।
यहांहरु कार्यरत कम्पनी वा फर्मले यहांहरूको सहमति वेगर वेतलवी विदामा राख्न खोजेको वा राखिसकेको आदि छ भने साउदी सरकारले उपलव्ध गराएको संयन्त्रमा उजुरी गर्न अनुरोध गर्दै गरेको उजुरीको एक प्रति दूतावासको हटलाइन ०५५९३८९६०० मा व्हाटस एप गरी पठाउन दूताबासले अनुरोध गरेको छ ।
साउदी सरकारले आप्रवासी कामदारको आवागमनमा रोकलगाएको मिति देखि ३ महिना सम्मको वोर्क भिसाका लागि तिरेको शुल्क रोजगारदातालाई फिर्ता दिने प्रावधान छ । दुतावासले भनेको छ- ‘’ तसर्थ, रोजगारदाताले कामदारबाट यो अवधिको भीसा शुल्क भनेर कुनै लिन पाउने छैनन् । यसो गरेमा रोजगारदातालाई सरकारले कार्यवाही गर्नेभएकाले कुनै रोजगारदाताले यहांहरुसंग भीसाको शुल्क लिने प्रयास गरेका छन् भने उजुरी गर्नुहोला । राहदानीमा भीसा छाप हानेको छ भने पनि यो अवधि गणना हुने छैन ।’
एक्जिट र री- इण्ट्री भीसा लागेका तर आवागमन बन्द भएका कारण प्रयोग नभएका भीसाहरु ३ महिनाको यो अवधिका लागि विना कुनै शुल्क म्याद थप हुने छन् । अकामाको अवधि सकिएकाहरुले तिर्दै आएको लेभी ३ महिनासम्मका लागि माफ गर्ने एवं अकामा निशुल्क नवीकरण हुनेछ ।
कोरोना भाइरसको संक्रमण साउदी अरबमा हरेक दिन बढिरहेको छ । साउदी अरबमा यो भाइरसबाट संक्रमितहरुको संख्या ७६७ पुगेको समेत दूतावासले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies