काठमाडौं : नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास साढे ७ दशकको भइसकेको छ । यसबीच नेपाली कम्युनिस्ट पार्टीमा एकता र विभाजनको क्रम पनि निरन्तर छ । नेपाली कम्युनिस्ट आन्दोलनमा जुट र फुटको शृंखला हेर्दा बडो रोचक देखिन्छ । यसभित्र ‘गद्दारी’ र ‘धोकाधडी’का शृंखला दृश्य/अदृश्य रूपमा रहेका कम्युनिस्ट आन्दोलनका अगुवा तथा विश्लेषकहरूले बताउँदै आएका छन् ।
१० वैशाख २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको मानिँदै आएको छ । आफ्ना दाजु गंगालाललाई राणा शासनले मारेको र आफूमा पनि निरंकुश राणा शासन अन्त्य गर्नुपर्छ भन्ने लागेको युवा पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी मिलेर कोलकातामा नेकपा गठन गरे ।
२०१० सालमा नेकपाको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । त्यस बेला देशमा प्रजातन्त्र आएर खुला वातावरण बनिसकेको थियो । खुला राजनीतिक वातावरणमा नेकपाले राजनीतिक गतिविधि र संगठन गरिरह्यो ।
२०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी नेकपाका महासचिव बने । रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुटको शृंखलाको श्रीगणेश गरिदिए ।
रायमाझी राजासँग मिलेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहे । रायमाझीको त्यही सोचकै कारण नेपाल कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो । राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्त गरेर मुलुकको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएर बीपी कोइरालालाई जेल हाले । रायमाझीले राजा महेन्द्रको कदमलाई स्वागत गरे तर पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी उक्त कदमको विरोधमा उभिए ।
रायमाझीमा नाम मात्रको कम्युनिस्ट बाँकी रहेको तर भित्र दरबारको हंस रहेको भनेर भनिन्थ्यो ऊबेला ।
रायमाझीले आफ्नो सोच, व्यवहार र धारणामा परिवर्तन गरेनन् बरु ‘राजावादी कम्युनिस्ट’कै रूपमा बाँचिरहे । पछि उनी तत्कालीन राजसभा स्थायी समितिको सभापतिसमेत बने ।
२०१७ फागुन–चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो । अल्पमतको अगुवाइमा ४–५ वैशाख २०१९ मा भारतको वनारसमा तेस्रो महाधिवेशन गरियो ।
महाधिवेशनमा पुष्पलालले विघटित संसद् पुनस्र्थापनाको नारा प्रस्तुत गरे भने मोहनविक्रम सिंहका तर्फबाट बलराम उपाध्यायद्वारा संविधानसभाको निर्वाचनको नारा प्रस्तुत गरिएको थियो । महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारीलाई ३, १ र २ वर्षका लागि पार्टीबाट निश्कासन गरियो । यही कारण पार्टी विभाजन भयो ।
यस महाधिवेशनले अमात्यलाई पार्टी महासचिव निर्वाचित गरेर पुष्पलाल, मनमोहन अधिकारी, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा, मोहनविक्रम सिंह र कमलराज रेग्मी गरी ७ सदस्यीय सचिवालय निर्वाचित गर्यो । अधिकारी, वर्मा र सिंह भने त्यस बेला जेलमा थिए ।
पुष्पलाल र तुलसीलालबीचको असमझदारी चर्किंदै गयो । महासचिव अमात्य र वरिष्ठ नेता पुष्पलालका बीच आरोप–प्रत्यारोप सुरु भयो । उनीहरू ‘कुन बाटो ?’ र ‘मूलबाटो’ पुस्तक नै लेखेर आरोप–प्रत्यारोपमा उत्रिन थाले । यही किचलो बढ्दै गएपछि २०२५ जेठमा भारतको गोरखपुरमा तेस्रो सम्मेलनको आयोजना गरेर पुष्पलालले बेग्लै पार्टीको घोषणा गरे ।
त्यस बेला पुष्पलालको पार्टीलाई ‘चीनमुखी’ भनेर चिनिन्थ्यो भने रायमाझीको पार्टीलाई ‘रुसमुखी ।’
यसैबीच २०२३ सालतिर नेकपाको पूर्व मेची–कोसी प्रान्तीय कमिटी गठन भयो । रायमाझीको समूह नेकपाबाट अलग्गियो । यसको एक वर्षपछि २०२४ सालमा पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गराए ।
यसपछि पनि नेकपा फुटको शृंखलाले झनै निरन्तरता पाउन थाल्यो । सैद्धान्तिक भन्दा पनि ‘जुँगाको लडाइँ’, पदको आकांक्षाले पार्टी विभाजन हुन थालेको एक जना पुराना वामपन्थी विश्लेषक बताउँछन् । पुष्पलालसँग लामो समय बिताएका उनी यसपछि एकले अर्कालाई ‘गद्दार’ भन्दै अलग्गिने क्रम सुरु भएको सुनाउँछन् । अन्ततः २०२५ सालमै तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए ।
केन्द्रमा टुटफुट चलिरहँदा २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसका रूपमा कम्युनिस्ट पार्टी खुले । झापा कमिटीको नेतृत्व सीपी मैनालीले गरे । मैनालीहरूले किसान आन्दोलनलगायतका नाममा पञ्चायत फाल्न चर्चित ‘झापा विद्रोह’ सुरु गरे ।
अर्कातिर मोहनविक्रम सिंह नेतृत्वमा देखिए । सिंहले ‘राष्ट्रियता’को मुद्दालाई अगाडि सारेर जनमत लिने प्रयास गरे । भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आफूलाई उभ्याए ।
२०२८ सालमै भापा विद्रोहका क्रममा केपी शर्मा ओली पनि देखिए । उनी त्यसताका सक्रिय युवा नेता थिए ।
पुष्पकमल दाहाल कुनै धारमा थिएनन् । पुष्पलालसँग केही समय सँगै रहेका पुष्पकमल दाहाल केही समयमै मोहनविक्रम सिंहको चौथो महाधिवेशनमा आबद्ध भए । सोही समूहमा भक्तबहादुर श्रेष्ठ र निर्मल लामा पनि थिए ।
कम्युनिस्ट फुटको शृंखला रोकिने छाँट रहेन । सानातिना मतभेद, विवाद र असन्तुष्टिमै निकै सजिलो गरी नेपाली कम्युनिस्ट पार्टी फुट्न थाले । निर्दलीय पञ्चायतको बिगबिगी रहेका बेला निर्दलीयता र निरंकुशताका विरुद्धमा उभिएर संघर्ष गर्नुपर्ने राजनीतिक शक्तिहरू आपसी लडाइँमा रुमल्लिएर फुट्न थालेपछि निर्दलीयता पक्षधर दरबार र पञ्चेहरू खुसी भएका ती पुराना वामपन्थी विश्लेषक बताउँछन् ।
२०३५ साउनमा पुष्पलालको निधन भयो । त्यस बेलासम्म पुष्पलालको नजिक रहेका मानिएका युवा नेताहरू मदनकुमार भण्डारी, वामदेव गौतमले पनि अर्कै संगठन सुरु गरे– मुक्ति मोर्चा समूह नाममा ।
झापाली विद्रोहका नेताहरू अखिल नेपाल कोअर्डिनेसन कमिटीमा सामेल भइसकेका थिए । यी दुवै समूह मिलेर ११ पुस २०३५ मा नेकपा (माले) गठन भयो । महासचिव बने सीपी मैनाली ।
२०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) दल खोले । यही बेला कम्युनिस्टहरूबीच मतभिन्नता रह्यो– जनमतसंग्रहमा भाग लिने कि नलिने भन्नेमा । तर, अधिकारीले जनमतसंग्रहमा बहुदलका पक्षमा निर्वाचनमा भाग लिए । नेपाली कांग्रेसलाई साथ दिए । कांग्रेससँग उनको यो साथ २०४६ सालको आन्दोलनसम्म निरन्तर रह्यो । सोही कारण पञ्चायती व्यवस्था अन्त्य पनि हुन पुग्यो ।
नेकपा मालेले भने जनमतसंग्रह बहिस्कार गरेको थियो । पुष्पलालको निधनपछि उनको पार्टीमा बलराम उपाध्याय र सहाना शीर्ष तहमा रहे । यही समूह पछि २०४३ सालमा आएर मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेकपा (माक्र्सवादी) गठन भयो ।
मोहनविक्रम सिंहको चौथो महाधिवेशनले भने २०३६ सालको जनमतसंग्रह बहिस्कार गरेको थियो । जनमतसंग्रहलाई लिएर पार्टीभित्र मतभेद देखिएको थियो । निर्मल लामा जनमतसंग्रहलाई उपयोग गर्नुपर्ने पक्षमा थिए तर मोहनविक्रमले त्यसलाई मानेनन् । २०४० सालमा लामा समूहको अगुवाइमा नेकपा (चौम) गठन भयो । मोहनविक्रमको समूहले भने पार्टीको नाम नेकपा मसाल राख्यो र महामन्त्री बने मोहनविक्रम ।
नेकपा मसालको पाँचौं महाधिवेशनले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्यो । तर, उनीमाथि यौन दुराचारको आरोप लागेपछि कारबाहीमा परे । मसालमा फुटको यो शृंखला लामो समयसम्म जारी रह्यो तर पनि मोहनविक्रम सिंह र पुष्पकमल दाहालबीच एकता भने हुन सकेन ।
२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए । तर, श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध ? भन्ने विषयमा दलमा मतभेद भयो । मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए– नेकपा मसाल नाममा । अब नेकपाको त्यो पक्ष पातलो मसाल र मोटो मशालमा विभाजित भयो । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल बन्यो ।
मशालले १–१६ मंसिर २०४१ मा भारतको अयोध्यामा पाँचौं महाधिवेशन सम्पन्न गरेर मोहन वैद्यलाई महासचिवमा चुन्यो ।
यस महाधिवेशनको रमाइलो पक्ष के रह्यो भने, कारबाहीमा परेका मोहनविक्रमका तर्फबाट चित्रबहादुर केसीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भयो तर नेतृत्वमा भने वैद्य आए ।
अब फेरि सिंह पक्षले केन्द्रीय आयोजक समिति गठन गरेर पार्टी विभाजन गर्यो । २०४२ चैतमा गोरखपुरमा ‘चौथो राष्ट्रिय सम्मेलन’ गरेर नयाँ केन्द्रीय संगठन समिति गठन गरे । छैटौं महाधिवेशन गरेर पार्टीको नाममा ‘मसाल’ थप्ने निर्णय गर्यो । यो समूहबाट बाबुराम भट्टराईहरू बाहिरिए, २०४७ सालमा ।
बाबुरामसहितका अन्य समूह मिलेर एकता केन्द्र गठन भयो । दीनानाथ शर्मा पनि २०५४ सालमा एउटा समूह लिएर मसालबाट बाहिरिए । उनले आफ्नो समूहलाई २०५७ सालमा माओवादीमा मिलाए ।
पुष्पकमल दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए । मशालले माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन् ।
२०४६ सालको जनआन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सीपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाममोर्चा बनाए । वाममोर्चाले नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो । त्यसपछि वाममोर्चामा आवद्ध कम्युनिस्ट घटकहरू संसदीय व्यवस्थामा प्रतिस्पर्धामा होमिए ।
‘संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो’ भन्दै तथा २०४७ सालको संविधानलाई ‘आलोचनात्मक समर्थन’ गर्दै अन्ततः नेपाली कम्युनिस्टहरू नेकपा एमालेसँगै त्यही संसदीय व्यवस्थाको भासमा फसे । आजसम्ममा उनीहरूको व्यावहारिक मार्ग साम्यवादभन्दा धेरै पर पुगिसकेको छ ।
आज ती कम्युनिस्टहरू बर्खाका ठूला जुका जस्ता बनेर संसद्मा लछारपछार गर्दै सत्ता स्वादमा मग्न मस्त रहेका राजनीतिक वृत्तमा चर्चा चल्छ ।
२०४६ सालमै नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम)लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए । बहुदलपछि दाहालको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाए । मोहनविक्रमको पार्टीमा रहेका बाबुराम भट्टराई पनि यही पार्टीमा आबद्ध भए ।
यसको २ वर्षमै सशस्त्र युद्धको विषयलाई लिएर मतभेद सुरु भयो । यही मतभेदका बीच निर्मल लामाहरूले एकता केन्द्र छाडे । २०५१ सालमा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेल मिलेर अर्को नेकपा (एकता केन्द्र) गठन भयो ।
दाहाल नेतृत्वको एकता केन्द्रले नाम परिवर्तन गरेर नेकपा माओवादी राख्यो । त्यसपछि दाहालको अगुवाइमा सशस्त्र युद्ध सुरु भयो । १० वर्षसम्म आततायी तवरले सशस्त्र युद्ध गरेको माओवादी देखिएको हिसाबमा १७ हजारभन्दा बढी (नदेखिएको बेपत्तालगायतको संख्या बाँकी नै छ), नेपालीको ज्यान गएपछि २०६३ सालमा शान्ति प्रक्रियामा आयो ।
उता, माओवादी सशस्त्र द्वन्द्वका एक ‘डिजाइनर’ बाबुराम भट्टराईले माओवादी मात्र होइन, कम्युनिस्ट आन्दोलन नै छाडेका छन् । माओवादीबाट अलग भएका बाबुराम नयाँ शक्ति पार्टी नेपालका संयोजक हुँदै अहिले नेपाल समाजवादी पार्टीका नेता छन् ।
२०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भए पनि माओवादीलाई हेर्ने दृष्टिकोणमा भने मतभेद कायमै रह्यो । यो समूह २०६३ सालमा आएर फेरि चिरा परेको थियो । हुँदाहुँदा आज तत्कालीन नेकपा माओवादी नेत्रविक्रम चन्दको हालैको अभिव्यक्तिअनुसार १९ टुक्रामा विभक्त भइसकेको छ ।
पञ्चायतको अन्त्यपछि मनमोहन र सीपीको पार्टीबीच एकता भयो र बन्यो नेपाल कम्युनिस्ट पार्टी (एमाले) । महासचिव बने मदन भण्डारी । ३ जेठ २०५० मा मदन भण्डारीको दासढुंगा दुर्घटनामा परी निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । माधव नेपालले लगभग डेढ दशक एकछत्र राज गरे एमालेमा ।
नेपालकालीन एमालेमा नेपालबाट पीडित इतर समूह आक्रोशित बन्दै गयो । आफ्ना विरोधी र इतर समूहका नेतालाई निमिट्यान्न पार्नुपर्छ भन्ने कम्युनिस्ट ‘स्कुलिङ’ माधव नेपालमा निकै देखियो त्यस बेला । उनले आफ्ना विरोधी र इतर समूहकालाई अघोषित रूपमै बहिस्करण गरिरहे । अन्ततः त्यही इतर समूह पार्टी सत्तामा आएपछि माधव नेपालले नै एमाले छाडेर बाहिरिनुपरेका छ अहिले ।
२९ माघ २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पी. भी. नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले गरेका थिए । त्यस बेला केपी शर्मा ओली महाकाली सन्धिका पक्षमा उग्र ढंगले लागेका थिए अर्थात् माधव नेपाललाई साथ दिएका थिए ।
२ देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ४ असोज २०५३ मा संसद्ले दुई तिहाइ बहुमतका साथ पारित गर्यो । एमालेभित्रैको एउटा ठूलो तप्काले महाकाली सन्धिको विरोध गर्यो । यही मुद्दाका कारण एमालेभित्र अन्तरविरोध तीव्र बन्यो । महाकाली सन्धि राष्ट्रघाती भएको प्रचारमा सीपी मैनाली, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराईहरू लागे ।
अन्ततः त्यसको असर एमालेको छैटौं महाधिवेशनलगत्तै देखियो । २१ फागुन २०५४ मा एमाले औपचारिक रूपमै विभाजित भयो । सीपी मैनालीले ‘एक्लो बृहस्पति’ बनेर फुटेर गएको नेकपा (माले)लाई आजसम्म सम्हालिरहेका छन् तर पार्टी छाडेर हिँडेका वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराईलगायतकाहरू भने ‘पुनर्मुसिको भवः’ भएर ४ वर्षपछि एमालेमा फर्किए ।
यसको कारण थियो, २०५६ सालको आमनिर्वाचनमा शून्य सिटमा चित्त बुझाउनु । यसपछि मालेमा भविष्य नदेखेर एमालेमै फर्किएका उनीहरू धेरैले एमालेबाट सांसद र मन्त्री खाने सौभाग्य पाइसकेका छन् ।
अहिले फुटको रोग नेकपा एमालेमा सरेको छ । ९ भदौ २०७८ मा नेकपा एमाले पुनः विभाजित भई नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल खेमा गत आमनिर्वाचनमा राष्ट्रिय पार्टीसमेत बन्न सकेन ।
नेकपा विभाजनपछि यता न उताको अवस्थामा रहेर ‘नेकपा एकता राष्ट्रिय अभियान’का संयोजक बनेका वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने चाँजो मिलाइरहेका छन् ।
यसैबीच एमालेका पूर्वउपाध्यक्ष तथा शक्तिशाली नेता मानिने भीम रावललाई पनि ओलीले पार्टीको संगठित सदस्यताबाटै निष्कासन गरेका छन् । उनी यसपछि नयाँ पार्टी खोल्ने वा नेकपा एसमा सामेल हुने भन्ने मन्थनमा छन् ।
कम्युनिस्ट आन्दोलनको इतिहासदेखि वर्तमानसम्म कम्युनिस्ट फुटको शृंखला निरन्तर छ । नेकपा एकता प्रयास असफल भएपछि नेताहरूबीचको अविश्वास चुलिँदो छ । वर्तमान प्रवृत्तिले आगामी दिनलाई समेत संकेत गरिरहेको छ ।